बाम गठबन्धनको सरकार बनाऔँ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अनुरोध

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएका छन् । निर्वाचनको परिणामबाट देशमा अस्थिरताको कालो बादल मडारिएकाले वामपन्थी, प्रगतिशील र राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर स्थिर सरकार दिनुपर्नेमा जोड दिँदै गुरुङले त्यसका लागि एमालेले नै नेतृत्व लिनुपर्ने बताएका हुन् ।

‘अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भनेर दुष्प्रचार भइरहेको छ । वाम–लोकतान्त्रिक गठबन्धन भनिए पनि दक्षिणपन्थीसँग वाम नामको शक्ति मिसिएकाले उनीहरूलाई बाहिर निकालेर हामीले दक्षिणपन्थी गठबन्धन तोड्नुपर्छ, वामपन्थी, राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिलाई एकजुट बनाएर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ या एमालेको पहलमा सरकार बन्नुपर्छ,’ प्रेस चौतारी नेपालद्वारा शुक्रबार आयोजित बधाई कार्यक्रममा गुरुङले भने, ‘तत्काल युनिफाइड हुन नसके पनि कार्यगत एकतासहित अगाडि बढ्दा संघ र सातवटै प्रदेशमा एमालेले वामपन्थीहरूको सरकार बनाउने सामर्थ्य राख्छ ।’

उनले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको उपलब्धि जोगाउँदै दक्षिणपन्थी शक्तिलाई परास्त गर्न सबै वाम शक्ति एक ठाउँमा उभिएर समाजवादतिर अगाडि बढ्ने कुरा नै अहिलेको मुख्य कार्यभार भएकाले एमालेले त्यसतर्फ ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

नेकपा जोगाउन नसकेकोमा एमालेले पनि समीक्षा गर्नुपर्ने उनकाे भनाइ थियाे । एमालेका लागि चुनावी परिणाम न हार न जितको अवस्था बनेको भन्दै घेराबन्दीका बाबजुद पहिलो लोकप्रिय मत पाउनु आफैँमा ठूलो उपलब्धि भएको उनको भनाइ छ । तत्कालीन नेकपाको एकता जोगाउन नसक्नुका पछाडि एकता प्रक्रियामा संलग्न सबैको कमजोरी रहेको भन्दै गुरुङले एमालेले पनि आन्तरिक समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

नेम्वाङ भन्छन्- पानी बाराबार गर्ने स्थिति छैन, एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्छ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरूप टुंगोमा पुग्न विगतका सबै गल्ती–कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए ।

‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एक–अर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,’ उनले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसात् गरेर कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।’ राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एक–अर्कामा पानी बाराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए ।

उनले भने, ‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती, कमी, कमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ।’ उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्ने संकेत गरे । प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए ।