यिनै हुन पराजित बहालवाला मन्त्रीहरु
काठमाडौं : प्रधानमन्त्रीपछि शक्तिशाली मानिन्छ– गृह मन्त्रालय । जसकारण गृहमन्त्री बन्न नेताहरूबीच तँछाडमछाड नै चल्छ । सबै खाले सूचना प्राप्त गरेर मुलुककै गृह प्रशासन हाक्ने भएकाले चुनावमा गृहमन्त्रीको ‘भूमिका’ महत्वपूर्ण मानिन्छ । तर, यस्तो शक्तिशाली मन्त्रालयको नेतृत्वमै रहेका बेला कांग्रेस नेता बालकृष्ण खाँणले चुनावमा पराजय भोगेका छन्। राप्रपाका नेता दीपक बोहरासँग गृहमन्त्री खाँण चुनावमा पराजित भएका हुन् ।
आफैंले गराएको चुनाव हार्नेमा कांग्रेस नेता खाँण दोस्रो भएका छन्। यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव हारेका थिए । सिटौला पनि राप्रपाका नेतासँग नै पराजित भएका थिए । सिटौलाले ०६४ देखि लगातार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजय भोग्दै आएका छन् ।
गृहमन्त्री खाँण मात्र होइनन्, सत्ता गठबन्धनबाट चुनाव लडेका अरू पाँच मन्त्री पनि पराजित भएका छन् । ऊर्जामन्त्री एवं माओवादी नेतृ पम्फा भुसाल र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा चुनाव हारेका छन् । खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पनि हार व्यहोरेका छन् ।
गृहमन्त्री खाँण रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका बोहरासँग २ हजार ६ सय ८१ मतान्तरले पराजित भएका हुन् । कांग्रेस नेता खाँणले ३४ हजार ३६ र बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गरेका छन्। मतान्तर २ हजार ६ सय ८१ छ ।
ललितपुर ३ मा ऊर्जामन्त्री पम्फा भूसाल तेस्रो मात्रै बनिन् । माओवादी नेतृ भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमा कार्कीले हराएकी हुन्। कार्कीले २२ हजार ३ सय ६७ मतको फराकिलो मतान्तरमा जित हासिल गरिन् । दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरे। मन्त्री भुसालले ८ हजार ७ सय ६९ मत मात्र ल्याइन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई एमालेका सूर्यप्रसाद ढकालले ५ हजार ३ सय ९४ मतान्तरले पराजित गरेका हुन्। माओवादी नेता गहतराज सत्ता गठबन्धनबाट बाँके १ मा उम्मेदवार थिए। उक्त क्षेत्रमा एमालेका ढकालले २५ हजार २६ मत ल्याउँदा मन्त्री गहतराज १९ हजार ६ सय ३२ मतमा सीमित रहे ।
काठमाडौं ८ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि तेस्रो मात्रै बने । एकीकृत समाजवादीका नेता श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ५ हजार २ सय ३१ मतान्तरले हराए। मन्त्री श्रेष्ठभन्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले १ हजार २ सय ९८ बढी मत ल्याए । विजेता श्रेष्ठले १० हजार १ सय १२, सायमीले ६ हजार १ सय ७९ र मन्त्री श्रेष्ठले ४ हजार ८ सय ८१ मत प्राप्त गरे ।
खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी बारा १ मा पराजित भए । एमालेका अच्युतप्रसाद मैनालीले ९ हजार १ सय ३९ मतान्तरले मन्त्री चौधरीलाई हराएका हुन् । विजेता मैनालीले ३९ हजार १ सय ९५ र मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरे । कांग्रेस नेता श्रेष्ठले ३४ हजार ३ सय १२ मतान्तरले चुनाव हारेका हुन्। त्यहाँ विजेता लामिछानेले ४९ हजार ३ सय र राज्यमन्त्री श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाए ।
यो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट २५ हजार ५ सय ३४ मत ल्याएर निर्वाचित भएका छन् । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम १ (३९ हजार ५ सय ४९), शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ (२४ हजार ७ सय ९४), सहरी विकासमन्त्री मेटमणि चौधरी दाङ १ (२६५७६) र श्रममन्त्री शेरबहादुर कुँवर अछाम (१९ हजार ५ सय ३४)बाट निर्वाचित भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ र परराष्ट्रमन्त्री डा.नारायण खड्का उम्मेदवार रहेको उदयपुर १ को मतपरिणाम यो समाचार तयार पार्दासम्म आइसकेको छैन ।