यस्तो रहेको छ कोइराला परिवारको चुनावी परिणाम
शशांक कोइरालाको चौथो जित, दाजु मतान्तर शेखर बढाउँदै, बहिनी सुजता संघर्ष गर्दै
पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटकका लागि उम्मेदवार बनेका कांग्रेस नेता डा. शशांक कोइराला विजयी भएका छन् । उनले एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले हराएका हुन् । कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला २०६४, ७० , ७४ र यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी भएका हुन् । उनले यस पटक एमालेका पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्नु परेको थियो ।
निर्वाचन कार्यालयका अनुसार कोइरालाले २७ हजार १ सय २७, एमालेका पौडेलले २५ हजार ४३ र राजन गौतम ( रास्वपा)ले २३ हजार ३ सय १ मत ल्याएका छन् । कोइराला उम्मेदवार बनेको क्षेत्रमा २०४८ सालपछि लगातार कांग्रेसले जित्दै आएको छ ।
दाजु मतान्तर शेखर बढाउँदै, बहिनी सुजता संघर्ष गर्दै
विराटनगर — कोइराला परिवारका दुई उत्तराधिकारी शेखर कोइराला र सुजाता कोइराला मोरङको क्रमश: क्षेत्र नं. ६ र २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । दुवै क्षेत्रको आधाभन्दा बढी मत गणना भइसक्दा दाजु शेखर प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितसँग मतान्तर बढाउँदै छन् । उता सुजता भने बुबा गिरिजाको विरासत जोगाउन एमालेका ऋषिकेश पोखरेलसँग संघर्ष गरिरहेकी छन् ।
नोनापुत्र शेखरले क्षेत्र नं. ६ मा खसेको ८५ हजार ८ सय २७ मतमध्ये ५५ हजार ६ सय ३४ मतगणना गर्दा पण्डितसँगको मतान्तर ६ हजार ४३ पुर्याएका छन् । कोइरालाले २१ हजार ७ सय ४८ मत ल्याउँदा पण्डितले १५ हजार ७ सय ५ मत ल्याएका छन् । यो क्षेत्रको १ मा गठबन्धनका माओवादी केन्द्रका जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनी पुष्पकमल दाहालका कान्छा ज्वाईं हुन् ।
अघिल्लो निर्वाचनमा कोइराला एमालेका पण्डितसँग ६ सय ७५ मतले पराजित हुँदा प्रदेशसभातर्फ दुवै क्षेत्रमा कांग्रेसका चुमनारायण तवदार र केदार कार्की विजयी भएका थिए । कोइराला यसअघि २०६५ सालमा संविधानसभा सदस्यको उपनिर्वाचनमा र २०७० को संविधानसभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट विजयी भएका थिए ।
उता क्षेत्र नं. २ मा गिरिजापुत्री सुजाता एमालेका पोखरेलसँग दुई–चार सय मतान्तरले कहिले अगाडि र कहिले पछाडि पर्दै संघर्षरत छिन् । यो क्षेत्रमा खसेको ८० हजार १ सय २७ मतमध्ये बिहीबार मध्याह्नसम्म ४२ हजार मत गणना हुँदा सुजाता ३ सय ५ मतले पछि छिन् । उनी दुई घण्टा अगाडि डेढ सय मतले अगाडि थिइन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार एमालेका पोखरेलले हालसम्म १८ हजार २ सय ४९ मत पाउँदा सुजाताले १७ हजार ९ सय ४४ मत पाएर बाबुको विरासत जोगाउन संघर्षरत छिन् । यो क्षेत्र तत्कालीन क्षेत्र नम्बर १ हुँदा उनका पिता गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी–५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले बाझी मार्दै पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा एमालेका पोखरेलले उपाध्यायलाई हराएर लाल झन्डा गाडेका थिए । २०७४ को निर्वाचनमा मीनेन्द्र रिजालले पोखरेललाई हराउँदै कोइरालाको विरासत फर्काएका थिए । यस पटकको निर्वाचनमा कोइरालाले रिजाललाई टिकटमै पन्छाएर उम्मेदवार बनेकी हुन् ।