चितवन २ मा रवि लामिछाने किन छन् लगातार पछाडि ?

इच्छाकामनाको बजार र राजमार्ग क्षेत्रमा रविको राम्रो मत आएको छ । कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । त्यसैगरी धेरै मतदाता रहेका भरतपुरका वडाहरूमा लामिछानेप्रति ‘लहर नै चलेको’ हुँदा उनीहरू जित हुनेमा ढुक्क देखिन्छन् ।

चितवन — नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न ठाउँमा उत्साहजनक उपस्थिति देखाउँदा पार्टीका राष्ट्रिय सभापति रवि लामिछाने चितवन– २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिन सकिरहेका छैनन् । सो पार्टीका उम्मेदवारहरू चितवन– १ मा हरि ढकाल पहिलो र क्षेत्र नम्बर ३ मा जिता बराल दोस्रो हुँदा पनि चितवन– २ मा रवि लामिछाने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई उछिनेर पहिलो हुने प्रायसमा अझै सफल भएका छैनन् ।

चितवन– २ का सहायक निर्वचन अधिकृत ईश्वर आचार्यका अनुसार यो क्षेत्रमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको हो । सोमबार २ बजे गणना सुरु भएर मंगलबार बिहान ११ बजेसम्म करिब १० हजार ४६८ मत गणना भएको छ । जसमा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ६ सय २३ र सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका लामिछाने २ हजार ९ सय ७८ मत ल्याएर तेस्रो स्थानमा छन् । चुनावका क्रममा आक्रामक प्रचार अभियान चलाएका र अन्तिम चुनावी सभामा नारायणी नदी किनारमा समर्थकहरूको राम्रै जमघट जुटाएका लामिछानेले गणनासँगै सुरुवाती अग्रता कसो नलेलान् भन्ने धेरैलाई लागेको थियो । तर, गणना सुरु भएर १० प्रतिशतभन्दा बढी मत गणना सकिँदासमेत लामिछाने अगाडि आएका छैनन् । गणना गर्न धेरै मत बाँकी नै छ । अनि अहिले जहाँ गणना भयो त्यहाँ रविलाई मत नआउँदैमा आत्तिहाल्नु पर्दैन भन्नेमा समर्थकहरू विश्वस्त देखिन्छन् । अहिले गणना भइरहेको स्थान चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको हो । त्यहाँ गएको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । सत्तारुढ गठबन्धनले वडा तहसम्मै गठबन्धन गरेका थिए । तर त्यहाँका सातमध्ये पाँच वडा एमालेले जितेको थियो ।

इच्छाकामनाको पहाडी क्षेत्रका मत गणना हुँदासम्म एमालेका पोखरेल फराकिलो मतान्तरमा थिए । तर इच्छाकामनाकै राजमार्ग आडका वडाहरूमा गणना हुन थालेपछि मतान्तर कम हुँदै गएको थियो । चितवन– २ मा इच्छाकामनासहित कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र बजार क्षेत्रका १० वटा ठुला वडा रहेका छन् । लामिछानेको प्रचार अभियान बजारमा आक्रमक तरिकाले भएको थियो ।

इच्छाकामनाको बजार र राजमार्ग क्षेत्रमा उनले जसरी राम्रो मत पाउन थाले कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । त्यसैगरी धेरै मतदाता रहेका भरतपुरका वडाहरूमा लामिछानेप्रति ‘लहर नै चले’को हुँदा उनीहरू जित हुनेमा ढुक्क देखिन्छन् । तर कालिका नगरपालिका र धेरै मतदाता रहेका भरतपुरका २, १०, ११ र १२ नम्बर वडा पनि एमालेको राम्रो प्रभाव रहेको ठाउँ हो ।

इच्छाकामानामा एमालेले आफ्नो मत जोगए जसरी कालिका र भतपुरमा जोगाउन नसकेको अनुमान छ । तर मतगणना नहुँदासम्म यसै भन्न सकिँदैन । सत्तारुढ गठबन्धनले पनि अहिलेसम्म राम्रै मत ल्याएको हुँदा लामिछानेको अवस्था के हुन्छ कालिका नगरपालिकाको गणना सुरु भएपछि बल्ल प्रष्ट हुनेछ ।