गोरखाको लाप्रकमा छोराछोरी र अभिभावक सँगसँगै पढ्छन्
शैक्षिक गुणस्तर वृद्धि गर्न लाप्राकको मणिकामदेवी माविमा ‘अभिभावक घुम्ती कार्यक्रम’
धार्चे– ४ लाप्राकका सुरेश गुरुङ मणिकामदेवी माविको कक्षा चारमा पढ्छन् । अचेल उनलाई विद्यालयमा विछट्टै खुसी लाग्छ । किनभने कक्षाकोठामा उनीसित साथी मात्र हुँदैनन्, बुबा गणेश पनि हुन्छन् । बाबुछोरा दिनभरि एउटै बेन्चमा बसेर पढ्छन्, सँगै बसेर खाजा खान्छन् । छेउमै बुबा हुँदा उनलाई कुनै साथीले हेप्न सक्दैन । सुरेशको पढाइ हेरेर गणेश दंग पर्छन्। छोराले गृहकार्य गरे–नगरेको प्रत्यक्ष हेर्न पाउँछन् । छोराको पढाइ कस्तो छ, शिक्षकले उनीप्रति कस्तो व्यवहार गर्छन्, छोराको प्रस्तुति कस्तो छ ? शिक्षकले के–कस्ता सुझाव दिन्छन् सबै कुरा नियाल्छन् ।
चार बजे स्कुल छुट्टी भएपछि आफ्ना बुबा र शिक्षक–शिक्षिकाबीच समीक्षा हुन्छ, परस्पर सुझाव आदान–प्रदान हुन्छ । सुरेश र गणेशको मात्र होइन मणिकामदेवी माविमा हरेक दिन कक्षा एकदेखि १० सम्मका १० जना विद्यार्थीका १० जना अभिभावकले आफ्ना छोरीछोरीसँग दिनभरि बसेर पढ्छन् । आफ्ना सन्तानको पढाइको गतिविधि नियाल्छन् ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीकाे क्षमतामा सुधार गर्नुका साथै विद्यालयका हरेक गतिविधिमा अभिभावकको सक्रियता बढाउन विद्यालयले यस्तो नियम बनाएको हो । गत बिहीबारदेखि विद्यालयले ‘अभिभावक घुम्ती कार्यक्रम’ नाम दिएर यस्तो अभियान सुरु गरेको कार्यक्रम संयोजक शिक्षक अच्युत थपलियाले बताए ।
‘अभिभावक बिहान १० बजेभित्र विद्यालय आइपुग्नुहुन्छ । यहाँ आएपछि हामीले आफ्नो छोराछोरीले कसरी पढ्छन् र शिक्षकले कसरी पढाउनुहुन्छ भनेर निगरानी गर्न अनुरोध गर्छौँ,’ उनले भने, ‘उहाँहरू १० बजेदेखि चार बजेसम्म विद्यार्थीसँगै बस्नुहुन्छ । अनि आखिरी घन्टी बजेपछि हाजिर गरेर सुझाव लिएर र दिएर फर्किनुहुन्छ ।’ भर्खर सुरुवात गरेको सो अभिभावक घुम्ती कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक थपलियाले जानकारी दिए ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अभिभावकको भेलाले गत असोज २७ गतेबाट विद्यालयमा एउटा कक्षामा एक दिन एकजना अविभावकलाई सँगै राख्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर गुरुङले बताए । एक महिनापश्चात् सबैजना भेला भएर कार्यक्रमको समीक्षा गर्ने र थप प्रभावकारी भएमा नियमित रूपमा सञ्चालन गर्ने उनको भनाइ छ ।
हाल विद्यालयमा इसिडीदेखि १० सम्म चार सय ८१ जना विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यपक धनबहादुर गुरुङले बताए । ‘विद्यालयको शैक्षिक गतिविधि बुझ्न र विद्यार्थीको सिकाइ अवस्था कस्तो छ भनेर जान्न अभिभावक घुम्ती कार्यक्रम सञ्चालन गरिएको हो । अहिले इसिडीदेखि कक्षा १० सम्ममा विद्यार्थीको रोल नम्बरअनुसार प्रत्येक कक्षामा दैनिक एक–एकजना अभिभावक विद्यालय आएर दिनभरि कक्षामा आफ्नो छोछोरीसँग बस्नुहुन्छ,’ प्रधानाध्यापक गुरुङले भने, ‘यसले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठूलो टेवा पुर्याउनेछ भन्ने विश्वास लिएका छौँ ।’
छोराछोरी दिनभरि कसरी पढ्छन्, शिक्षक–शिक्षिकाले कसरी पढाउनुहुन्छ, सबै कुरा अभिभावकले पनि थाहा पाऊन् भन्ने उद्देश्यले यो कार्यक्रम थालिएको र यसले सिकाइ प्रभावकारी बनाउने प्रधानाध्यापक गुरुङले बताए । दैनिक ११ जना अभिभावक दिनभरि आफ्नो छोराछोरीसँग बसेर पठनपाठन गतिविधि नियाल्नेछन् । प्रधानाध्यापक गुरुङका अनुसार अभिभावकहरूले राम्रो हाउभाउ गरेर, खुसी भएर पढाउनुपर्ने, सबै विद्यार्थीमा नजर पुर्याउनुपर्ने, बोर्डमा बुझ्ने गरी लेख्नुपर्ने, विद्यार्थीलाई हरेक दिन गृहकार्य दिनुका साथै गृहकार्य गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाही गर्न सुझाव दिने गरेका छन् । कार्यक्रम ढिलै गरेर सुरुवात भए तापनि यसले विद्यार्थीको शैक्षिक स्तर सुधार हुने अपेक्षा गरिएको अभिभावक माइली गुरुङ बताउँछिन् ।
अभिभावकले दिएको सल्लाह, सुझावअनुसार नै पठनपाठनका गतिविधि अघि बढइने प्रधानाध्यापक गुरुङले जानकारी दिए । यो कार्यक्रम लागु भएसँगै कक्षाकोठामा होहल्ला गर्ने, विद्यालय नआउने क्रम कम भएको उनले बताए ।विद्यालय समुदायभन्दा धेरै टाढा भएका कारण अभिभावकहरू विद्यालयसम्म नआउने हुँदा विद्यालयमा हुने गतिविधिमा अभिभावकको उपस्थिति बढाउन र आफ्नो छोराछोरीको शैक्षिक अवस्था बुझ्न यो कार्यक्रम सुरु गरिएको गुरुङले जानकारी दिए ।
यो कार्यक्रममा वडा र पालिकाबाट पनि थप सहयोग भएमा प्रभावकारी तरिकाले नियमित रूपमा सञ्चालन गर्न सहज हुने विद्यालयले जनाएको छ ।