माओवादीविरुद्ध संघ र प्रदेशमा ५८ बागी

प्रतिनिधिसभाका १२ क्षेत्रमा आफ्नै र कांग्रेसका १३, प्रदेशका ४० क्षेत्रमा आफ्नै, कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका ४५ जनाको उम्मेदवारी

काठमाडौँ — माओवादी केन्द्रले आफ्नो भागमा परेका प्रतिनिधिसभाका ४७ र प्रदेशसभाका १ सय ११ सिटमध्ये ५२ क्षेत्रमा ‘गठबन्धनभित्रै’ का ५८ जना बागी उम्मेदवार सामना गरिरहेको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी उम्मेदवारविरुद्ध माओवादी र कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका छन् । प्रदेशमा पनि माओवादीका आफ्नै, कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका नेताले बागी उम्मेदवार छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार रहेको कालीकोटमा पार्टीका प्रदेश कमिटी सदस्य काशीचन्द्र बराल बागी छन् । रास्कोट नगरपालिकाका निवर्तमान प्रमुख बरालले २०५४ मा एमालेबाट तत्कालीन फुकोट गाविसको अध्यक्ष जितेका थिए । अध्यक्षको कार्यकाल सकिएपछि केही समय पत्रकारिता गरेर उनी भूमिगत भएका थिए । रास्कोट क्षेत्रमा राम्रो प्रभाव रहेका बरालको उम्मेदवारीले शाहीका लागि चुनौती थपेको छ ।

कालीकोटमा एमालेले केन्द्रीय सदस्य नगिन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले मतलाई आधार मान्दा कालीकोटमा माओवादीले १८ हजार ३ सय ४७, कांग्रेसले १२ हजार ८ सय २०, एमालेले १२ हजार ६ सय १३ एकीकृत समाजवादीले ३ हजार ५ सय ३ र राप्रपाले ५ सय ८० मत पाएका थिए ।

गठबन्धनबाट माओवादीका कृष्णकुमार चौधरीले उम्मेदवारी दिएको कैलाली–३ मा माओवादी केन्द्रकै रमेश आचार्य र कांग्रेसका नवीनकुमार बोहरा बागी छन् । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र ११ हजार ७ सय १६ मतसहित दोस्रो स्थानमा थियो । उक्त क्षेत्रमा कांग्रेसले १९ हजार ९ सय ९२, एमालेले ११ हजार २ सय ५७, राप्रपाले ६ हजार ६ सय ९९, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २ सय ४७, जसपाले २ हजार ८ सय ५९ र एकीकृत समाजवादीले १ हजार ९ सय ७८ मत पाएका थिए ।

कास्की–३ मा माओवादीकै अनिता भुर्तेल पार्टीका आधिकारिक उम्मेदवार रामजी बरालविरुद्ध उठेकी छन् । उनी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी हुन् । भुर्तेल दम्पतीलाई तत्कालीन शाही नेपाली सेनाले २०६१ वैशाख ३१ मा पोखराको पामेमा गोली हानेर हत्या गरेको थियो । स्थानीय तह निर्वाचनमा उक्त क्षेत्रमा एमालेले २९ हजार ८ सय ५ मत पाएको थियो । कांग्रेसले २८ हजार ८ सय ४६, माओवादीले २ हजार ४ सय, राप्रपाले १ हजार ६५ र एकीकृत समाजवादीले ५ सय १ मत पाएका थिए ।

जुम्लामा माओवादीकी आधिकारिक उम्मेदवार गोमा कुँवरविरुद्ध माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य कलबहादुर रोकायाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ताको समय घर्केपछि रोकायाले कुँवरलाई समर्थन गरेका छन् । त्यहाँ माओवादीभित्र टिकटका लागि चर्को संघर्ष भएको थियो । कुँवर र रोकायाका साथै निवर्तमान सांसद गजेन्द्रबहादुर महत, कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र अर्थमन्त्री जनार्दन शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धिताल पनि दाबेदार थिए । कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेका प्रदेशसभा (१) र एकीकृत समाजवादीबाट प्रदेशका पूर्वमन्त्री पदम रोकाया उम्मेदवार रहेका प्रदेशसभा (२) मा कांग्रेसका बागी उम्मेदवार छन् । गत स्थानीय तह निर्वाचनमा जुम्लामा कांग्रेसले १६ हजार ७५, माओवादी केन्द्रले १४ हजार १ सय ७५, एमालेले ६ हजार ९ सय ६२, एकीकृत समाजवादीले ६ हजार १ सय ९५ र राप्रपाले ५ सय १४ मत पाएका थिए ।

माओवादी केन्द्रको भागमा परेको काठमाडौं–७ मा हँसिया–हतौडा चुनाव चिह्न लिएर उम्मेदवार दिएकी मानुषी यमी भट्टराईका लागि माओवादी केन्द्रकै जानुका पौडेल चुनौती बनेकी छन् । उक्त क्षेत्रमा माओवादी केन्द्रको जनमत निकै कम छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले ५ सय ७६ मत पाएका थिए । मानुषीकी आमा हिसिला यमी भने २०६४ मा यही क्षेत्रबाट विजयी भएकी थिइन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले १४ हजार १ सय ६७, एमालेले १२ हजार २ सय २, एकीकृत समाजवादीले ३ हजार ८ सय ३९, राप्रपाले २ हजार २७ र जसपाले १ सय ६२ मत पाएका थिए । ‘पालो नयाँ पुस्ताको’ नारासहित चुनावी प्रतिस्पर्धामा उत्रिएकी भट्टराईले आफ्नो अभियान सार्थक तुल्याउन एमालेका श्याम घिमिरे, जसपाका राजेन्द्र श्रेष्ठ र एमालेका बागी रामवीर मानन्धरलाई पराजित गर्नुपर्नेछ । २०६४ को निर्वाचनमा हिसिलासँग पराजित भएका पूर्वमन्त्री श्रेष्ठ डेढ दशकपछि उनकै छोरी मानुषीसँग भिड्दै छन् ।

२०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जितेको चितवन–३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला बागी उम्मेदवार बनेका छन् । त्यहाँ सत्ता गठबन्धनले माओवादीका भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । अध्यक्ष दाहाल आफू गोरखा–२ मा गएर चिकित्सकसमेत रहेका अधिकारीलाई उठाएका हुन् । कांग्रेसको बलियो जनाधार रहेको चितवन–३ मा दाहालले छाड्दा पनि माओवादी केन्द्रकै उम्मेदवार उठाइएपछि कोइराला बागी उठेका हुन् । उम्मेदवारी फिर्ता गरेको एमालेले समेत आफूलाई सहयोग गर्ने कोइरालाको भनाइ छ । उक्त क्षेत्रमा राप्रपाबाट पार्टी उपाध्यक्ष विक्रम पाण्डे उम्मेदवार छन् । उक्त क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमालेले २९ हजार ७ सय ७१, कांग्रेसले २९ हजार ३ सय ४३, माओवादी केन्द्रले १० हजार ९ सय ४०, राप्रपाले ६ हजार १ सय ९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएका थिए ।

झापा–२ मा गठबन्धनका तर्फबाट माओवादीका हरिकुमार रानामगरले उम्मेदवारी दिएका छन् तर त्यहाँ कांग्रेसका कुमार भट्टराई बागी छन् । राप्रपाका जिल्ला नेता भट्टराई २०७४ मा कांग्रेस प्रवेश गरेका हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । राना भने मनोनयनको केही समयअघि मात्र एमाले छाडेर माओवादीमा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक–१ मा माओवादीका माधव सापकोटाविरुद्ध कांग्रेसका रामकुमार जीसीले बागी उम्मेदवारी दिएका छन् । पार्टीमा उनको खासै देखिने पहिचान छैन । तर पार्टीका महासमिति सदस्य रहेका उनका दाइ श्रवणकुमार जीसीको आडमा उनी उठेको कांग्रेसभित्र चर्चा छ । गत स्थानीय तह निर्वाचनमा सुनकोसी गाउँपालिका अध्यक्ष लडेका श्रवणकुमारले आफूलाई हराउन माओवादीले भूमिका खेलेको आरोप लगाउने गरेका छन् । माओवादी स्थायी समिति सदस्य एवं पूर्वमन्त्री चन्द्रप्रकाश खनालविरुद्ध कपिलवस्तु–१ मा कांग्रेसका जिल्ला सदस्य ललित गुरुङ बागी उम्मेदवार बनेका छन् । बर्दिया–२ मा सुरेश पन्थविरुद्ध रामप्रसाद आचार्यले बागी उम्मेदवारी दिएका छन् । आचार्य कांग्रेसका स्थानीय तहका नेता हुन् ।

अर्थमन्त्रीसमेत रहेका उपमहासचिव जनार्दन शर्माविरुद्ध कांग्रेस युवा नेता तारक केसी बागी उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई टिकट दिएको भए पनि पछि फिर्ता लिन लगाएको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धनले माओवादीका नरेन्द्र कुँवरलाई उम्मेदवार बनाएको थियो । त्यहाँ कांग्रेस महासमिति सदस्यसमेत रहेका पाटन नगरपालिकाका पूर्वप्रमुख केशबहादुर चन्द बागी उठेका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका चन्दको उम्मेदवारीले गठबन्धनका साझा उम्मेदवार कुँवरलाई चुनौती थपेको छ ।

रौतहट–३ मा माओवादीका उम्मेदवार रवीन्द्र पटेलले एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलाई समर्थन गरेका छन् । तर साहका लागि कांग्रेसका बागी उम्मेदवार ओमप्रकाश साह चुनौती बनेका छन् । ज्योति डिस्टिलरी र बाबा वैद्यनाथ चिनी उद्योगका मालिक रहेका उनी कांग्रेसका जिल्ला तहका नेता हुन् । माओवादी केन्द्रले काठमाडौं–१० मा कांग्रेसबाट टिकट पाएका राजेन्द्रकुमार केसीलाई आफ्नोविरुद्धको उम्मेदवारका रूपमा उल्लेख गरेको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रले अञ्जना विशंखेलाई उठाएको छ । कांग्रेसका केसीले २०७० को निर्वाचनमा सोही क्षेत्रमा माओवादी अध्यक्ष दाहाललाई पराजित गरेका थिए । स्थानीय तह निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसले २४ हजार ६ सय ७५, एमालेले १८ हजार ८ सय ३८, माओवादी केन्द्रले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत पाएका थिए ।

प्रदेशसभा सदस्यका लागि गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवारी दिएका मध्ये १७ स्थानमा एकीकृत समाजवादीका आधिकारिक र १६ स्थानमा कांग्रेसका बागी उम्मेदवार छन् । १० स्थानमा माओवादी केन्द्रका आफ्नै बागी उम्मेदवार छन् । माओवादी केन्द्रले कांग्रेसका र आफ्ना बागीभन्दा एकीकृत समाजवादीका उम्मेदवारलाई बढी बाधक देख्ने गरेको छ । बागीलाई कारबाही गरेर प्रभाव न्यूनीकरण गर्न सकिने भए पनि समाजवादीका आधिकारिक उम्मेदवारको प्रभावलाई रोक्न नसकिने माओवादीको बुझाइ छ ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवारी दिएको रौतहट २ (२) मा कर्निश पटेल, रौतहट ४ (१) मा बालकृष्ण श्रेष्ठ, रामेछाप (१) मा रमेश बस्नेत, रामेछाप (२) मा झम्क कँडेल, नुवाकोट १ (१) मा राजेश थापा, नुवाकोट २ (१) मा राजेन्द्रप्रसाद लोहनी, काठमाडौं १० (२) मा रमा आलेमगर, तनहुँ १ (२) मा हरि चुमान, तनहुँ २ (१) मा दुर्गाकुमारी श्रेष्ठ, कपिलवस्तु १ (२) मा फजलुर रहमान, बाँके ३ (१) मा दलबहादुर सुनार, बर्दिया १ (२) मा बखतबहादुर शाही, बर्दिया २ (२) मा हर्कबहादुर शाही, हुम्ला (१) मा हस्तबहादुर शाही, सुर्खेत २ (२) मा मोहनसिं बडुवाल, बाजुरा (१) मा नरेश शाही, कञ्चनपुर ३ (१) मा पीताम्बर जोशी एकीकृत समाजवादीका तर्फबाट आधिकारिक उम्मेदवार छन् । यीमध्ये बाँकेका सुनार माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । सुर्खेत २ (१) मा एकीकृत समाजवादीका तर्फबाट शिवप्रसाद उपाध्याय उम्मेदवार बनेका छन् । त्यहाँ सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका कालीप्रसाद शाक्य उम्मेदवार छन् ।

माओवादी केन्द्रले आधिकारिक उम्मेदवार उठाएका सुनसरी १ (१) मा दीपेन्द्र घिमिरे, उदयपुर १ (१) मा जय सुवेदी, बारा ४ (१) मा नारायणी रायमाझी, धादिङ २ (२) मा देवीकुमारी बुर्लाकोटी, काठमाडौं ३ (२) मा विमल ठकुरी, काठमाडौं ६ (२) मा विष्णुभक्त तिमिल्सेना, काठमाडौं १० (१) मा पुकार महर्जन, खोटाङ (१) मा धर्मराज पोखरेल, गुल्मी १ (२) मा गगन केसी, नवलपरासी पश्चिम २ (२) मा सन्तु कल्वार, हुम्ला (१) मा मंगलबहादुर शाही, सुर्खेत १ (२) मा देवबहादुर चन्द, कैलाली २ (२) मा भरतकुमार शाही, दार्चुला (२) मा वीरबहादुर ठगुन्ना, कञ्चनपुर २ (१) मा गिरिराज पाण्डे र कञ्चनपुर ३ (१) मा गोपालसिंह बुढा कांग्रेसका बागी उम्मेदवार हुन् । यीमध्ये सुर्खेतका चन्दले सोमबार प्रेस विज्ञप्तिमार्फत माओवादी केन्द्रका कृष्ण जीसीलाई समर्थन गरेका छन् । माओवादीले बाँके २ (२) मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्रबहादुर हमाललाई पनि आफ्नोविरुद्धको उम्मेदवारीका रूपमा उल्लेख गरेको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रले अक्कलबहादुर बमलाई उठाएको छ ।

झापा ३ (२) मा त्रिलोचन मैनाली, संखुवासभा (१) मा छिरिङ शेर्पा, उदयपुर २ (१) मा कुमार खड्का, सिरहा ४ (१) मा शक्तिकुमार लामा, महोत्तरी १ (२) मा विष्णु लामा, सर्लाही ४ (२) मा श्रीचन राय र अनिता यादव, नवलपरासी पश्चिम २ (१) मा खड्क बस्नेत, सल्यान (१) मा तुले सुनार, मुगु (२) मा जगत धामी र कैलाली ५ (१) मा रमेश बस्नेत माओवादीकै बागी उम्मेदवार हुन् । माओवादीले उम्मेदवारी दिएका गुल्मी १ (१) मा ओमबहादुर कुँवर र सुर्खेत १ (२) मा मोहन थापाले जनमोर्चाका तर्फबाट उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले बागीले आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने समय भएकाले छलफल भइरहेको बताए । ‘पार्टीले आधिकारिक उम्मेदवार जिताउन सबै प्रयास जारी राख्छ,’ उनले भने । वाग्मती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले चुनावी अभियान चल्दै जाँदा पार्टी र उम्मेदवारहरूको अवस्था स्पष्ट हुने र फिर्ता लिने वा समर्थन गर्ने अवस्था पनि आउने बताए । ‘कतिपय ठाउँमा गठबन्धनबीच भएको सिट बाँडफाँटअनुसार उम्मेदवारी परेको छैन, कतै बागी त कतै दलहरूकै दोहोरो उम्मेदवारी परेको छ,’ उनले भने, ‘अब केही दिनमा बागी र दोहोरो उम्मेदवारीको समस्या मिल्छ ।’