यी हुन असन्न निर्वाचनका हेबीवेट प्रतिस्पर्धीहरु, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा
लामो समय पार्टीमा सँगै राजनीति गरेका, विगतमा सँगै चुनाव लडेका र स्वतन्त्र उम्मेदवारहरूका कारण डेढ दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनेका सत्ता र विपक्षी गठबन्धनका कारण परिणामलाई लिएर मतदाताका आ–आफ्ना पूर्वानुमान छन् । तर, कैयौँ निर्वाचन क्षेत्र यस्ता छन्, जहाँको निर्वाचन रोचक हुने निश्चित छ । कतिपय क्षेत्रमा यसपटक लामो समय पार्टीमा सँगै राजनीति गरेका एमाले र एकीकृत समाजवादीका सहयात्री नै भिड्दै छन् । कतिपय क्षेत्रमा प्रतिस्पर्धा स्वतन्त्रले चुनाव रोचक बनाउने अनुमान छ ।
सिंह र मिश्रलाई स्वतन्त्रको चुनौती
कांग्रेस नेता प्रकाशमान सिंहको परम्परागत निर्वाचन क्षेत्र काठमाडौं १ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ मा विवेकशील साझाका तर्फबाट उठेका रवीन्द्र मिश्र यसपटक यही क्षेत्रमा सिंहविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लड्दै छन् । ०७४ मा मिश्र त्यतिवेला सिंहसँग आठ सय १९ मतान्तरले पराजित भएका थिए । एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल पनि यही क्षेत्रबाट उम्मेदवार छन् ।
यो क्षेत्रबाट नेपाल सुशासन पार्टीतर्फ पूर्वडिआइजी रमेश खरेल, सामाजिक तथा राजनीतिक अभियन्ताका रूपमा परिचित विवेकशील नेपाली दलका संस्थापकमध्येका एक पुकार बमले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरेल र पौडेलको प्रतिस्पर्धामा रञ्जु दर्शनाको ‘इन्ट्री’
एमाले नेता ईश्वर पोखरेलको निर्वाचन क्षेत्र मानिएको काठमाडौ– ५ यसपटक सत्तागठबन्धनका तर्फबाट कांग्रेसका युवा नेता प्रदीप पौडेल भिड्दै छन् । पौडेलको उम्मेदवारीले प्रतिस्पर्धा रोचक हुने निश्चित भएको छ । अघिल्लोपटक आफूसँगै रहेको माओवादी र एकीकृत समाजवादीका मतदाता यसपटक अन्तै जाने हुँदा पनि पोखरेललाई चुनौती थपिएको छ । विवेकशील नेपाली दलकी पूर्वनेता रञ्जु दर्शनाले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।
पाँच वर्षअघि काठमाडौं महानगरको मेयरमा उठ्दा २३ हजारभन्दा बढी मत ल्याएकी थिइन् । यही क्षेत्रबाट शैलेन्द्र बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मकवानपुरमा गुरुचेलाको भिडन्त
मकवानपुर– २ मा यसपटक एकीकृत समाजवादीका नेता विरोध खतिवडा आफ्नै चेलाविरुद्ध लड्नुपर्ने भएको छ । कारण, एमालेले युवा नेता महेश बर्तौलालाई उम्मेदवार बनाएको छ ।
खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन् । ०७४ को निर्वाचनमा बर्तौला खतिवडाका लागि भोट माग्दै हिँडेका विद्यार्थी नेता हुन् । उनी खतिवडाकै स्कुलिङमा राजनीति गर्दै अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भए । २ असोज २०७८ मा ऐन महरसँगै विद्यार्थी राजनीतिबाट अलग्गिएका बर्तौलाले खतिवडाले नेकपा एमाले छाडेका कारण नै यो अवसर पाएका हुन् ।
राजेन्द्र महतो र महिन्द्र राय यादव आमनेसामने
लोसपा अहिल सत्तागठबन्धनमा छ, तर वरिष्ठ नेता राजेन्द्र महतोलाई भने चुनावमा चुनौती छ । लोसपालाई सात सिट दिन तयार भएको गठबन्धनले महतोको निर्वाचन क्षेत्र सर्लाही– २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । जसअनुसार महतोविरुद्ध गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव मैदानमा उत्रिएका छन् । ०७४ को निर्वाचनमा धनुषा ३ मा कांग्रेस नेता विमलेन्द्र निधिलाई हराएका महतोलाई यसपटक सर्लाही– २ कै निवर्तमान सांसद यादवविरुद्ध जित निकाल्न चुनौती छ ।
त्यसमाथि जसपाको सहयोगमा एमालेका उम्मेदवार राजनारायण साह पनि यही क्षेत्रबाट उम्मेदवार छन् । त्यसैले मधेस प्रदेशभित्र सर्लाही– २ को भिडन्त यसपटक खास चासोमा छ ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग भिड्दै अर्थशास्त्री विश्व पौडेल
चितवन– १ मा भने दुई अर्थतन्त्रका जानकार भिड्दै छन् । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेविरुद्ध सत्तागठबन्धनका तर्फबाट कांग्रेसका विश्व पौडेल उठ्ने भएका छन् । हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका पौडेल युवा अर्थशास्त्रीसमेत हुन् । ०७० र ०७४ को निर्वाचनमा चितवन– १ बाटै विजयी भएका पाण्डे हाल मातृशोकमा छन् ।
आइतबार उम्मेदवारी मनोनयन पनि वारेसनामामार्फत दर्ता गराएका उनी चुनावी प्रचारमा खासै हिँड्न पाएका छैनन् ।
आफ्नै सहकर्मीसँग भिड्दै छन् घनश्याम भुसाल
रुपन्देही– १ मा एमाले परित्याग गरेका घनश्याम भुसाल र एमालका छविलाल विश्वकर्मा उम्मेदवार छन् । विश्वकर्मा एमालेमा भुसालसँगै संघर्ष र आन्दोलन गर्दै आएका वर्षौँदेखिका सहकर्मी हुन् । ०७४ को चुनावमा विश्वकर्मा यही क्षेत्रबाट विजयी भएका थिए भने भुसालले भने रुपन्देही– ३ बाट चुनाव जितेका थिए । भुसालको गृहक्षेत्र भने १ नम्बर नै हो ।
यसपटक पनि उनको नाम रुपन्देही– ३ बाटै सिफारिस भएको थियो । तर, टिकट नपाएपछि भने उनी आफ्नै गृहक्षेत्रबाट लड्न लागेका हुन् ।
पञ्चायतकालदेखिकै सहकर्मीसँग कमल थापाको प्रतिस्पर्धा
पञ्चायतकालदेखि नै कमल थापाका सहकर्मी रहेका दीपक सिंह यसपटक मकवानपुर– १ मा उनीविरुद्ध राप्रपाबाट चुनावी मैदानमा खडा भएका छन् । राप्रपा नेपालका अध्यक्ष थापा एमालेको सहयोगमा चुनाव उठ्दै गर्दा उनका सामु चुनौती बनेर सिंह आइपुगेका हुन् । चार दशकसम्म थापालाई निरन्तर साथ दिएका सिंह राप्रपा फुटेपछि उनीबाट अलग्गिएका थिए । थापा यस क्षेत्रबाट ०४८ सालदेखि एकपटकबाहेक सधैँ चुनाव लडेका थापा एकपटक मात्रै विजयी भएका छन् ।
एकातिर आफ्नै सहकर्मी, अर्कोतिर गठबन्धनका तर्फबाट कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय उम्मेदवार छिन् । यहाँको प्रतिस्पर्धा पनि रोमाञ्चक हुने पक्का छ ।
गोकर्णविरुद्ध रामकुमारी
गुल्मी– २ पनि यसपटक देशभरको नजरमा परेको छ । कारण, अरू वेला एमालेबाट आफ्ना लागि भोट माग्दै हिँड्ने रामकुमारी झाँक्री नै यसपटक एमाले सचिव गोकर्ण विष्टको प्रतिस्पर्धी बनेकी छिन् । एमाले फुटपछि एकीकृत समाजवादीमा गएकी झाँक्री अघिल्लोपटक सानदार जित निकालेका विष्टका लागि यसपटक चुनौती बनेकी छिन् ।
करिब दुई दशक एउटै पार्टीमा होमिएका उनीहरू अनेरास्ववियुको राजनीतिदेखि सँगै थिए । तर, यसपटक एक–अर्कालाई हराउन जोडतोडले लागेका छन् ।
शंकर पोखरेल भर्सेस रेखा शर्मा
अघिल्लोपटक पूर्वसभामुख कृष्णबहादुर महराले जितेको निर्वाचन क्षेत्रमा यसपटक एमालेबाट महासचिव शंकर पोखरेल उम्मेदवार बनेका छन् ।पोखरेलविरुद्ध सत्तागठबन्धनका तर्फबाट माओवादीले पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मालाई उभ्याएको छ । यस निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने छ ।
०७४ मा सँगै, अहिले प्रतिस्पर्धी
धादिङ– २ मा पनि यसपटक पूर्वसहकर्मीबीच नै प्रतिस्पर्धा हुने भएको छ । एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र भूमि त्रिपाठी प्रतिस्पर्धा गर्दै छन् । उनीहरूसँगै लामो समय वामपन्थी राजनीति गरेका अर्का सहयात्री उत्तम कँडेल पनि प्रतिस्पर्धामा थपिएका छन् । कँडेल वातावरण संरक्षण अभियन्ता पनि हुन् । यी तिनै उम्मेदवारको घर स्थायी घर मलेखु हो ।
लमजुङमा दुई गुरुङ भिड्दै
लमजुङमा यसपटक दुई ‘हेभिवेट नेता’बीच कडा टक्कर हुने देखिएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी महासचिव देव गुरुङबीच प्रतिस्पर्धा हुँदै छ । गुरुङ प्रदेश सभामा निर्वाचन लड्न चाहेका थिए । तर, एमाले अध्यक्ष ओलीले खगराज अधिकारीलाई प्रदेश सभाको टिकट दिएपछि पृथ्वीसुब्बा देवसँग प्रतिस्पर्धा गर्दै छन् । ०७४ मा देवले यहाँबाट प्रतिनिधिसभामा जितेका थिए ।
हृदयेश त्रिपाठीविरुद्ध विनोद चौधरी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ मा पनि रोचक प्रतिस्पर्धा हुँदै छ । कारण, अघिल्लोपटक एमालेको चिह्नबाट लडेर हृदयेश त्रिपाठीले जितेको यो निर्वाचन क्षेत्रमा यसपटक कांग्रेसका विनोद चौधरी गठबन्धनका तर्फबाट मैदानमा छन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले यसपटक एमालेको चुनाव चिह्न लिएर लड्न अस्वीकार गरेपछि त्यहाँ एमालेले सिन्धु जलेसालाई उम्मेदवार बनाएको छ ।
लिङ्देनसँग बदला लिने दाउमा सिटौला
झापा– ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदै छ । सिटौला यसपटक लिङ्देनसँग ०७४ को हारको बदला लिने दाउमा छन् । ०७४ को चुनावमा सिटौलाले ३१ हजार एक सय ५९ मत ल्याउँदा लिङ्देनले ४४ हजार छ सय १४ मतसहित विजयी भएका थिए ।
त्यसवेला लिङ्देनलाई एमाले र माओवादीको साथ थियो । सिटौलालाई माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ भने राप्रपालाई एमालेको साथ छ ।
रवि लामिछानेमाथि मतदाताको नजर
सञ्चारकर्मी छाडेर राजनीतिमा होमिएका स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन– २ बाट चुनाव लड्दै छन् । उनीसँगै यस क्षेत्रबाट एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसका उमेश श्रेष्ठसँग प्रतिस्पर्धामा छन् ।
गगन र राजनबीच तेस्रोपटक भिडन्त
कांग्रेस महामन्त्री गगन थापा र एमाले विदेश विभाग प्रमुख तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईबीच दोस्रोपटक काठमाडौं– ४ मा प्रतिस्पर्धा हुँदै छ । ०७४ मा थापाले भट्टराईलाई तीन हजार चार सय १८ मतान्तरमा हराएका थिए । गत वैशाखको स्थानीय तहको मतपरिणामअनुसार त्यस क्षेत्रमा एमाले पहिलो दल छ । तर, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत थपिँदा थोरै मतले थापालाई सहजता छ । ओलीको सल्लाहकार बनेपछि भट्टराईले प्राथमिकता दिएर बजेट विनियोजनदेखि विकास निर्माणमा ध्यान दिएकाले यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
उम्मेदवारी दर्तापछि थापाले आफू यसपटक सरकारको नेतृत्व सम्हाल्न ड्राइभिङ सिटमा पुग्ने बताएर प्रधानमन्त्रीको उम्मेदवारका रूपमा मतदाता आकर्षित गर्ने कोशिस गरेका छन् । भट्टराईले भने दुईपटक सांसद भइसकेका थापाले विशेष गरी कपन क्षेत्रमा विकासमा ध्यान नदिएको विषयलाई प्रमुखताका साथ उठाउँदै नयाँ प्रतिनिधिका रूपमा अवसर दिन अपिल गरिरहेका छन् ।
उपेन्द्र यादवविरुद्ध सिके राउत
‘हेभिवेट प्रतिस्पर्धा’का कारण मधेस प्रदेशभित्र अर्को चासोमा रहेको क्षेत्र हो, सप्तरी– २ । किनभने, यस क्षेत्रबाट यसपटक जसपा अध्यक्ष उपेन्द्र यादवलाई चुनौती दिन जनमत पार्टीका अध्यक्ष सिके राउत र लोसपाका नेता जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । एकातिर सत्तागठबन्धनबाट उम्मेदवार बनेका लोसपाका ठाकुर, अर्कोतिर मधेसमा अलग्गै चार्म रहेका नेता राउत, यादवका लागि चुनौती बनेका छन् ।