एमाले बैठकमा नेताहरुले पोखे दुखेसो

काठमाडौं : केपी ओली एमालेलाई ‘विरोधीमुक्त पार्टी’ बनाउन सफल त हुनुभयो । तर, गत बुधवार सम्पन्न पोलिट्व्युरो बैठकमा एकजना नेताले जुरुक्क उठेर ‘दास नबनम्, अध्यक्षसँग पनि प्रश्न गरम्’ भन्दै चिच्याएपछि उहाँलाई अप्ठ्यारो महसुस भयो, अरु पनि छक्क परे ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित बैठकमा बाग्लुङका लीलाबहादुर थापा जुरुक्क उठ्दा यस्तो दृश्य देखिएको हो । उनी पूर्वमाओवादी हुन् । पोलिट्व्युरो सदस्यलाई समेत ‘फड्के किनाराको साक्षी’ बनाउँदै अध्यक्षका कुरा मात्रै सुन्नुपर्ने, उहाँले चाहिँ कसैको कुरा नसुन्ने भएपछि लीलाबहादुर कड्किएको बताइन्छ ।

सबैलाई मिलाऊँ, छलफल गरौं, आफ्ना कुरा राख्ने मौका दिऊँ भन्ने आग्रहसहित उनले बोलेपछि उनीजस्तै पूर्वमाओवादी मणिचन्द्र थापा उठे । भने, ‘पहिलाको एमाले भयंकर स्मार्ट भन्ने सुनिन्थ्यो । अहिलेको एमाले किन यति धेरै लथालिंग भयो ?’ ओलीले यिनका कुरामा जवाफ दिनुभएन, तर आँखा तानेर हेरिरहनुभयो । मणिले भन्दै गए, ‘बैठक बस्छ, छलफल हुँदैन ।

पार्टीभित्र अन्तर्विरोध छन्, तिनलाई हल गरिँदैन । विवादहरु छन्, समाधान गर्ने संयन्त्र छैन ।’ यत्रो कुरा भन्दा पनि बैठकमा बसेका कोही नेताले न ताली बजाए, न विरोध जनाए । जति कराउँदा पनि ‘गैँडाको छालाझैँ’ कसैले दुखाईको महसूस नै नगरिदिएपछि मणिले अन्तिममा भने, ‘अध्यक्षले पनि जाने जति सबै कुरा भनेर हिँड्ने गर्नुहुन्छ, साह्रै हलुका भएर नबोले हुन्थ्यो !’ यति भनेपछि केही नेता मुख छोप्दै खित्तित्त हाँसे ।

मणिपछि ओलीका ‘खास’ भनिने नेताहरु बोल्न थाले । हालै संसदबाट पारित भई प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयकबारे ओली निकटहरु प्रश्नोत्तरमा उत्रिएपछि उहाँले ‘खरो’ जवाफ दिनुभयो । सुमन प्याकुरेल, खिमलाल भट्टराईहरुले हो, उहाँलाई त्यसबारेमा सोधेको । उनीहरुको प्रश्न थियो, ‘अहिलेको नागरिकता विधेयक र हाम्रो पालामा जारी गरिएको अध्यादेशमा फरकचाहिँ के थियो ?’ ओलीले भन्नुभयो, ‘त्यहीँ हेरे भइहाल्यो, पढ्न त आउँछ होला नि !’ सहभागीहरु गलल्ल हाँसे ।

यी नेताले यस्तो प्रश्न उठाउनुअघि ओलीले पटक–पटक नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको १५ बुँदे सुझाव ठीक छ भनिरहनुभयो । धेरैचोटि एउटै कुरा भनेपछि खिमलालले सोधे, ‘फरकचाहिँ के हो त ?’ ओलीले फेरि भन्नुभयो, ‘त्यसैमा छ, पढ्नुप¥यो नि !’ खासमा फरकचाहिँ केही पनि छैन ।

यसचोटिको बैठकमा ओलीको अनुहारमा खासै चमक थिएन । पहिला–पहिला ख्यालठट्टा गर्दै आफैँ बैठक चलाउनुहुन्थ्यो । हँसाउनुहुन्थ्यो । तर, यसचोटि स्थायी कमिटी, पोलिट्व्युरो हुँदै केन्द्रीय कमिटीसम्मका बैठकमा उहाँको अनुहारमा विरक्तिभाव दर्सिन्थ्यो । हतारोमा भएजस्तो देखिनुहुन्थ्यो । उहाँले बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि लगाइएको अभियोगको पटक पटक बचाव गर्नुभयो । ‘कसरी अभियोग लगाएका छन् ? हेर्नुस् त, अभियोग लगाउनै मिल्दैन थियो ।’

ओली कार्यकालमा भएको संवैधानिक नियुक्तिसहित विभिन्न मुद्दामा ‘सेटिङ’ गरिएका विषयबारे ओलीले सत्तारुढ सांसदहरुलाई इंगित गर्दै भन्नुभयो, ‘उनीहरुले जे भनेका छन्, त्यसमा अभियोग लाग्ने तरिका राम्रो भएन । तीन जनाको सही भएको एउटा पाना छ, अर्को पनि त्यस्तै छ, फेरि त्यसैमाथि टिपेक्स लगाएको छ । यस्ते पनि हुन्छ ? रीतै पुग्दैन ।’ बोल्दाबोल्दै उहाँले पटक–पटक राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउँदा उल्लेख गरेको १५ बुँदाको प्रसंग निकाल्दै भन्नुभयो, ‘राष्ट्रपतिजस्तो संस्थाले पठाएको छ, सांसदहरुलाई वास्तै छैन !’ सत्तारुढ गठबन्धन, गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्द बन्दीप्रति उहाँ अलिक रुष्ट हुनुहुन्थ्यो । दुई मन्त्रीतर्फ इंगित गर्दै भन्नुभयो, ‘यिनलेमात्रै सबैथोक जानेजस्तो…हिरो बन्नका लागि कानुन मन्त्री ठूलो–ठूलो कुरा गर्ने ! स्मार्ट बन्ने ? गृह मन्त्री उस्तै ! के अरुचाहिँ यो देशमा मन्त्री नै भएका छैनन् ? सबै कुरा तिनीहरुलाई मात्रै थाहा छ ?’

उता, एमालेमा विभिन्न पार्टीबाट गएका नवप्रवेशीको व्यवस्थापन हुन नसक्दा समस्या छ । एकजना नेता च्यासलमा भन्दै थिए, ‘चुनावमा टिकट बाँडेपछि नपाउनेहरु बाटो लाग्छन् ।’ उनीहरुको भनाई नै छ, माथिको लहडमा मौखिक आश्वासन दिँदै मान्छे भिœयायो, तलका कमिटीलाई जानकारी–सल्लाह छैन, भोलि लगेर कहाँ राख्ने त्यसको पनि कुनै ठेगान छैन ।