नेपालको कारागारमा बेदिशी नागरिकहरु पनि कैदीबन्दी, सबैभन्दा धेरै कुन देशका ?

नेपालका विभिन्न कारागारमा हाल कैयौँ देशका नागरिक कैदीबन्दीका रूपमा रहेको कारागार व्यवस्थापन विभागको तथ्याङ्कले देखाउँछ । गत जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक कारागारमा छन् ।विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा सजाय काटिरहेका हुन् । कति कैदीबन्दी कुन अपराधमा दोषी पाइएका हुन् भन्नेबारे एकीकृत तथ्याङ्क चाहिँ आफूहरूसँग नरहेको विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए ।

विभागका पूर्वनिर्देशक जनकराज दाहालको अनुभवमा चाहिँ विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दाका दोषी हुने गरेका छन् । जेठ मसान्तसम्म नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ ।

सबैभन्दा धेरै कहाँका ?

नेपाली कारागारमा रहेका विदेशी कैदीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेको तथ्याङ्कले देखाउँछ । जेठ महिनासम्म उनीहरूको सङ्ख्या १,१७५ रहेको छ जुन कुल विदेशी कैदीबन्दीको ८७.९४ प्रतिशत हुन आउँछ । तीमध्ये वाग्मती प्रदेशका कारागारमा सबैभन्दा धेरै ३८८ जना भारतीय कैदीबन्दी रहेका छन्। त्यसपछि मधेश प्रदेशमा २५९ जना भारतीय कैदीबन्दी छन् ।

कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात्‌ एकजना भारतीय कैदीबन्दी रहेको तथ्याङ्क छ । अर्को छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन्। भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन् । विभागका अनुसार रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन् ।

किन भारतीय धेरै ?

आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा ठूलो सङ्ख्यामा भारतीय नागरिकहरू औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । “खुला सिमानाका कारण जुनसुकै नाकाबाट सजिलै आउजाउ गरेका हुन्छन्, विभिन्न पेशा व्यवसाय पनि गरिरहेका हुन्छन्,” धेरै भारतीय कैदीबन्दी हुनुको एउटा कारणबारे विभागका सूचना अधिकारी शिवाकोटीले बीबीसीसँग भने ।

खुला सिमानाका साथै दुई देशका अपराधीहरूबीच साठगाँठका कारण पनि उनीहरूको सङ्ख्या तुलनात्मक रूपमा धेरै भएको पूर्वगृह सचिव उमेश मैनाली बताउँछन् । “अपराधीहरूबीच सम्बन्धका कारण यताका उता जाने भए अनि उताका यता आउने भए। यो पनि एउटा कारण हो,”बीबीसीसँग उनले भने । आउजाउका लागि प्रवेशाज्ञा नचाहिनुले पनि आपराधिक घटनामा अरू मुलुकका भन्दा भारतका नागरिक बढी संलग्न भएको पाइएको कतिपय जानकार बताउँछन् ।

“मुख्य कुरा त खुला सिमाना नै हो। अर्को कुरा नजिकको सम्बन्ध छ, साथीभाइको हिसाबले भारतीय नागरिकको आउजाउ पनि धेरै छ,” कारागार व्यवस्थापन विभागका पूर्वनिर्देशक दाहालले बीबीसीसँग भने । सामान्य मजदुरी गर्नेदेखि कपाल काट्ने, कबाडी सङ्कलन गर्ने, तरकारी बेच्ने लगायतका काममा नेपालीभन्दा भारतीय नागरिक धेरै रहेको अधिकारीहरू बताउँछन् । यद्यपि उनीहरूको सङ्ख्याबारे यकिन तथ्याङ्क अहिलेसम्म कुनै पनि सरकारी निकायले उपलब्ध गराउन सकेका छैनन् ।

समाधानका उपाय के ?

सुरक्षासम्बन्धी दुई देशका निकायले एकअर्कालाई सहयोग नगरे सीमापार अपराध रोक्न कठिन हुने पूर्वगृहसचिव मैनालीको ठम्याइ छ । “दुई देशका गृह मन्त्रालयबीच राम्रै सम्बन्ध छ। परराष्ट्र मन्त्रालयहरूबीच पनि त्यस्तै सम्बन्ध हुनुपर्‍यो अनि दुई देशका प्रहरीबीच अझ राम्रो समन्वय हुनुपर्‍यो,” उनले थपे । सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा व्यवस्थापन चाहिँ महत्त्वपूर्ण पक्ष भएको कारागार व्यवस्थापन विभागका पूर्वनिर्देशक दाहाल बताउँछन् ।

“भिसा नलाग्ने भए पनि सीमानाकाको राम्ररी व्यवस्थापन गर्ने हो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । कोभिड महामारीका बेला आउजाउ व्यवस्थित गरिएकै हो,” पूर्वनिर्देशक दाहालले थपे । मैनालीका अनुसार दुई दशकअघि परीक्षणका रूपमा नेपालगन्ज र भैरहवा सीमानाकामार्फत् आउजाउ गर्ने दुई देशका नागरिकको लगत राख्ने प्रयास नभएको पनि होइन ।

“परीक्षणका रूपमा हामीले एक वर्षजति गर्‍यौँ, तर व्यावहारिक भएन भन्दै त्यो खारेज भयो,” उनले स्मरण गरे । यद्यपि सुरक्षा संवेदनशीलतालाई थप महसुस गरेको हो भने दुई देशले अब त्यो अभ्यास थाल्नुपर्ने पूर्वगृह सचिव मैनालीको सुझाव छ । “भिसा नलाग्ने भए पनि आउजाउ गर्नेहरूको विवरण चाहिँ अब राख्न थाले हुन्छ । उदाहरणका लागि दुई देशमा हवाईयात्रा गर्न जसरी कागजपत्र चाहिन्छ त्यसरी नै निश्चित खालका कागजपत्र अनिवार्य गरिदिए हुन्छ,” उनले थपे ।

कति कारागार छन् ?

कारागार व्यवस्थापन विभागका अनुसार धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुममा बाहेक देशका ७२ जिल्लामा ७४ वटा कारागार कार्यालय छन् । दाङका घोराही तथा तुल्सीपुरमा गरी दुई ठाउँमा र काठमाण्डूका जगन्नाथदेवल एवं डिल्लीबजारमा गरी दुई ठाउँमा कारागार छन् । बाँकेको गनापुरमा खुला कारागारको र नौबस्तामा क्षेत्रीय कारागारको निर्माण कार्य भइरहेको विभागले जनाएको छ ।

स्थानीयस्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुने कानुनी व्यवस्था छ । विभागका अनुसार कैदीबन्दीको उपचारका लागि काठमाण्डूमा केन्द्रीय कारागार अस्पताल र ललितपुरमा मनोसामाजिक अपाङ्गता बन्दी अस्पताल सञ्चालनमा छन् ।

स्रोत- बि.बि.सी