मिटर ब्याजको मार, गृह मन्त्रालयले विज्ञप्ति
प्रहरी भन्छ, ‘सुरूमा सहमतिमै गैरकानुनी लेनदेन गर्ने र पछि व्यवहार बिग्रेपछि उजुरी गर्न आउने प्रवृत्ति बढ्यो’
विराटनगर — विराटनगर महानगरपालिका–८ की अञ्जना कोइरालाले छोराको उपचार गराउन २०७७ मंसिरमा स्थानीय रुसिएल खानमसँग २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । पटक–पटक गरेर ५ लाख ६० हजार रुपैयाँ फिर्ता पनि गरिसकेको कोइराला बताउँछिन् । तर, खानमले अझै ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताउँदै आएकी छन् । रकम तिर्न दबाबस्वरूप ‘धम्की नै दिन थालेपछि’ कोइराला अहिले प्रहरीकामा पुगेकी छन् ।
विराटनगर–८ कै सरिताकुमारी महतोले पनि त्यही वर्षको फागुनमा जग्गा पास गर्न उनै खानमसँग ७ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले पनि खानमलाई साँवाको पाँच गुणाभन्दा बढी ४० लाख रुपैयाँ बुझाइसकेको बताउँछिन् । खानमले भने अझै ३० लाख रुपैयाँ माग गरिरहेकी छन् ।
अर्की स्थानीय स्मिता कामतले पनि खानमसँगै १५ दिनका लागि ५० हजार रुपैयाँ सापटी लिएकी थिइन् । एक महिनासम्म उनले रकम फिर्ता गर्न सकिनन् । त्यसपछि खानमले एक महिनाको ब्याज मात्रै ४५ हजार रुपैयाँ मागेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । खानमले धम्की दिन थालेपछि १ लाख तिरिसकेको उनले बताइन् । । तर, खानमले अझै पनि रकम माग्न नछोडेको उनको भनाइ छ ।
सामान्य गृहिणी रहेका कोइराला, महतो र कामतले पत्रकार महासंघ मोरङको सभाहलमा २ साताअघि पत्रकार सम्मेलन गरेर मिटर ब्याजको पासोमा आफूहरू परेको सार्वजनिक गरे । यी तीनै जनालाई ऋण दिने खानमले भने अप्ठ्यारोमा परेको बताएपछि ऋण दिएको र त्यही रकम फिर्ता गर्न आफूले ताकेता मात्र गरेको दाबी सुनाइन् ।
मोटो रकम मिटर ब्याजमा लगानी गरेर सर्वसाधारणबाट आर्थिक लाभ लिने गरेको विराटनगरमा यो पहिलो घटना होइन । सुरुमा सहमतिमा गैरकानुनी लेनदेन गर्ने र पछि व्यवहार बिग्रेपछि प्रहरीसमक्ष आउने प्रवृत्ति रहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला बताउँछन् । ‘प्रमाण पुर्याएर प्रहरीमा परेका त्यस्ता उजुरीमाथि तत्काल अनुसन्धान गरेर कारबाही गर्दै आएका छौं,’ उनले भने, ‘तर यस्ता गैरकानुनी कारोबारमा दुवै पक्षलाई फाइदा पुगेसम्म कुरा बाहिर नआउने र व्यवहारमा खटपट भएपछि मात्रै हामीकहाँ गुनासो गर्न आउने प्रवृत्ति नै छ ।’ यस्तै प्रवृत्तिका कारण गैरकानुनी रूपमा रकम लगानी गर्ने समूह सक्रिय रहे पनि प्रमाण अभावमा उनीहरूलाई कारबाहीको दायरामा ल्याउन समस्या हुने गरेको उनको भनाइ छ ।
मिटर ब्याजीको कारोबारका घटना विराटनगरमा यसअघि पनि बाहिर आएका थिए । मिटर ब्याजमा ऋण लिएर कारोबार गर्दा डुबेर दर्जनभन्दा बढी व्यवसायी पलायन नै हुनुपरेको स्थानीय व्यवसायी नै दाबी गर्छन् । यस्तो दाबीलाई प्रहरी पनि नकार्दैन । विराटनगरमा बसेर जोगवनीमा हरियाणा वस्त्रालय सञ्चालन गर्दै आएका नरेन्द्र गोयलका छोरा कालु गोयल, मेनरोडका व्यवसायी विवेक अग्रवाल र राकेश वेगवानीले पछिल्लो ५ वर्षबीचमा आत्महत्या नै गरे । आत्महत्या पछाडि मिटर ब्याज नै प्रमुख कारण रहेको प्रहरी स्रोत दाबी गर्छ ।
मिटर ब्याजको फन्दामा पर्नेको सूची यत्तिमै सीमित छैन । गत वर्ष प्रहरीले मिटर ब्याजमा रकम चलाएको आरोपमा विराटनगर–९ घोघापुल चोकका ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार, रोनाल्ड कँडेल र इजास अमतलाई पक्राउ गरेको थियो । उनीहरू मोरङ कारागारमा पुर्पक्षमा थुनामा छन् । उनीहरूले विराटनगर, धनपालथान, सुनवर्षी र रंगेलीका २७ जनालाई ८९ लाख रुपैयाँ मिटर ब्याजमा लगानी गरेर २० करोड ६४ लाख रुपैयाँ असुल गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केहीको जग्गा धितो राखेका र केहीलाई कपाली तमासुक गराएर ऋण दिएका उनीहरूले ऋणीले राखेको धितो र तमसुक फिर्ता गर्न थप १ करोड ३६ लाख रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने दाबी गर्दै आएका थिए ।
जागेश्वर केवरतलाई १० लाख ऋण दिएर ४८ लाख १० हजार रुपैयाँ ब्याज लिइसकेका रौनियारले अझै ११ लाख ४८ हजार रुपैयाँ ब्याज लिन बाँकी रहेको भन्दै धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसैगरी ममता मण्डललाई २ लाख दिएर ३ लाख ५० हजार रुपैयाँ असुली गरेका रौनियारले थप १ लाख रुपैयाँ दिए मात्रै धितो राखेको धनपालथान–६ स्थित ५ कट्ठा जमिन फिर्ता गर्ने बताउँदै आएका थिए ।
मिटर ब्याजमा ३० लाख रुपैयाँ ऋण लिएर व्यवसाय गर्दा करिब अढाई करोड रुपैयाँ तिर्न नसक्दा फरार एक स्थानीय व्यवसायी हालै मात्र रकम फर्छ्योट गरी पुनः व्यवसायमा फर्किएका छन् । अहिले पनि विराटनगरका व्यवसायीले मिटर ब्याजमै ५० करोड रुपैयाँभन्दा बढी रकम लिएर लगानी गरेको उनको दाबी छ । ‘एक लाखको एक दिनमा १५ सयसम्म ब्याज लगाउने खेल हुन्छ । महिना पुगेपछि ४५ हजार ब्याजलाई साँवामा गाभ्छन्,’ ती व्यवसायीले भने, ‘एक लाख लगानी गर्दा पाँच लाखको तमसुक गराउँछन् । त्यसपछि चक्रीय ब्याज लिँदा ऋणी कहिल्यै ऋणबाट मुक्त हुनै सक्दैन ।’
प्रहरी अनुसन्धानमा मिटर ब्याजीहरूले मान्छे नै खटाएर ऋणीहरू खोज्न लगाएको देखिन्छ । एक ऋणी खोजेबापत ५ हजार रुपैयाँसम्म कमिसन दिने गरिएको पाइएको प्रहरीका एक अनुसन्धान अधिकृतले जनाए । ‘यसरी खटाइएका मान्छेले ऋणी खोजेपछि मागेजति रकम दिन्छन् र दोब्बर तेब्बर रकमको तमसुक गराउने गरेको पाइएको छ,’ ती अधिकृतले भने, ‘यस्तो समूहले थोरै लगानी गरेर साँवामा ब्याज जोड्दै वर्षौंसम्म रकम असुली गरिराख्ने गरेको देखिन्छ ।’
गृह मन्त्रालयले भन्यो- मिटर ब्याजमा पैसा दिने र ठूलो रकम ब्याज असुल गरे जानकारी गराउनू
काठमाडौं- गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले त्यस्ता गतिविधिहरू भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।