निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विभूषण ‘स्थगित’
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि घोषणा गरिएको विभूषण ‘महाउज्ज्वल राष्ट्रदीप’ स्थगित हुने भएको छ ।
संविधान दिवसको अवसर पारेर २०७८ असोज ३ मा घोषणा गरिएका ९ सयभन्दा बढी मानपदवी/अलंकार र पदक (विभूषण) नेपाली नयाँ वर्ष २०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गर्न गरिँदै छ । प्रधानन्यायाधीशको हैसियतमा सरकारले जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप प्रदान गर्ने निर्णय गरेको थियो ।
तर, फागुन १ मा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ९८ सांसदले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्वनमा छन् । गृह मन्त्रालय स्रोतले प्रधानन्यायाधीश निलम्वनमा परेका कारण पूर्वघोषित विभूषण ग्रहणका लागि उनलाई नबोलाइने बतायो ।
‘प्रधानन्यायाधीश निलम्वनमा हुनुहुन्छ, यस्तो बेला विभूषण समारोहमा उपस्थितिका लागि निम्ता दिइने छैन, हामी उहाँलाई उपस्थितिका लागि बोलाउँदैनौं, तर महाअभियोग प्रक्रिया टुंगोमा नपुगेका कारण विभूषण रद्ध भने गरिएको छैन,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘महाअभियोगबारे सम्बन्धित निकायबाट छिनोफानो भएपछि मात्रै यस विषयमा के–कसो गर्नुपर्ने हो, सरकारले नै उचित निर्णय गर्छ ।’
संविधान दिवस–२०७८ को अवसरमा गृहमन्त्री बालकृष्ण खाँण अध्यक्ष रहेको विभूषण समितिको सिफारिस अनुसार असोज ३ मा नेपाल रत्न पूर्वप्रधानमन्त्री दिवंगत कृष्णप्रसाद भट्टराईलाई मणरोपरान्त, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष दिवंगत सुवर्ण शमशेर राणा (मरणोपरान्त) र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई राष्ट्रगौरव, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र मोहनचन्द्र अधिकारी तथा दिवंगत व्यक्तिहरु तुल्सीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायणगोपाल गुरुवाचार्यलाई महाउज्ज्वल राष्ट्रदीप (मरणोपरान्त) प्रदान गर्ने निर्णय भएको थियो ।
तीसहित सरकारले सुप्रसिद्ध प्रवल जनसेवाश्री बामपन्थी नेता प्रदीप नेपालसहित ३ जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हासहित ३९ जनालाई, सुकीर्तिमय राष्ट्रदीप दिवंगत यादवनाथ आलोक (मरणोपरान्त)सहित २८ जनालाई, सुप्रवल जनसेवाश्री इतिहासविद महेशराज पन्तसहित १ सय ५८ जना, कीर्तिमय राष्ट्रदीप मारवाडी सेवासमिति (संस्थागत)सहित ७, प्रवल जनसेवाश्री दिवंगत श्यामलाल श्रेष्ठ (मरणोपरान्त)सहित ३ सय १३ जनालाई, जनसेवाश्री नरसिंह व्यञ्जनकारसहित १ सय ८५ जनालाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
यस्तै अलंकार तर्फ राष्ट्र यशोवर्द्धक राष्ट्रिय अनुसन्धान विभागका ४ जना अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का ३३ लाई नेपाल प्रताप सुभूषण, राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई नेपाल सेवा प्रवीण, नेपाली सेनाका ७ जनालाई अति पौरख भाष्कर, प्रहरी र सशस्त्रका २४ लाई नेपाल प्रताप आभूषण प्रदान गरिँदै छ ।
यसैगरी समाजसेवा रत्नबाट १८ जना, महापौरख भाष्कर सेनाका तीन, नेपाल प्रताप भूषण प्रहरी र सशस्त्रका १६ जना विभूषित हुँदै छन् । यस्तै पदकतर्फ राष्ट्रसेवा पदक २ जना, सगरमाथा पदक ७, सुकीर्ति पदक १०, वीरता पदक ७, प्राकृतिक प्रकोप पीडितोद्धार पदक ९ र विकास रत्न पदक १ जनालाई प्रदान गरिँदै छ । सबै मानपदवी निर्माणको काम सकिएको गृह मन्त्रालयले जनाएको छ ।
विभूषण समारोहमा उपस्थितिका लागि गृहले निजामती तर्फ ग्रे/कालो कोटसहित औपचारिक पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै नेपाली सेना, प्रहरी र सशस्त्रलाई ट्युनिक, एक्युलेट र यस बाहेकको हकमा महिलाका लागि सारी/चोलो र जुत्ता तथा पुरुषको हकमा सेतो रंगको दौरा (लवेदा) सुरुवाल/कोट, भादगाउँले (कालो) टोपी र छालाको कालै जुत्ता हुनु पर्ने छ ।
विभूषण समारोहमा हिमाल, पहाड र तराई/मधेसमा लगाइने आआफ्नो परम्परा र संस्कृति अनुसारको जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने पोसाक वा नेपाली पोसाकलाई पनि प्रवेश दिइने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।