दुईबर्षे कार्यकाल आलोपालो गर्नेगरी एनआरएनए नेतृत्वबिच सहमति

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन गरेर आलोपालोमा अध्यक्ष बनाउने सहमतिपछि लामो समयदेखिको विवाद टुंगिएको छ । अध्यक्षका प्रत्याशी कुल आचार्य, बद्री केसी र रविना थापाबीच आलोपालो अध्यक्ष हुने सहमति जुटेसँगै सबै विवाद टुंगिएको नेतृत्वका प्रत्याशीहरूले गरेको संयुक्त पत्रकार सम्मेलनमा जनाइएको छ ।

बालुवाटारस्थित एनआरएनए कार्यालयमा मंगलबार आयोजित सम्मेलनमा उम्मेदवारहरूले आफूहरूबीच कुनै विवाद नरहेको प्रस्ट्याए । सम्मेलनमा अध्यक्ष कुमार पन्त, अध्यक्षका प्रत्याशीहरू आचार्य, केसी र थापालगायतको उपस्थिति थियो ।

नेतृत्वमा आलोपालो गर्न विधान संशोधनको आवश्यकता भएको संघका अध्यक्ष कुमार पन्तले बताए । ‘उहाँहरूले विधान संशोधनको प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘उक्त प्रस्ताव अन्तर्राष्ट्रिय समन्वय परिषद्ले महाधिवेशनमा लिएर जानेछ ।’ निर्वाचनमा सहमति जुटिसकेकाले विधान संशोधन गरेको भोलिपल्ट तीन जनालाई आलोपालो अध्यक्ष भएको घोषणा गरिनेछ । दुईवर्षे कार्यकाल अब तीन जनालाई तीन भाग लगाइनेछ । तर अहिलेसम्म ६ महिना समय गुज्रिसकेको छ । ‘दुई/तीन जना अध्यक्ष हुने विधान छैन,’ अध्यक्ष पन्तले भने, ‘त्यसैले पहिला विधान परिमार्जन हुन्छ । त्यसपछि परराष्ट्र मन्त्रालयबाट छाप लगाएर यसलाई लागू गरिनेछ ।’

एनआरएनएले १० औं विश्व सम्मेलन गत अक्टोबरमै गर्ने तयारी गरेको अध्यक्ष पन्तले बताए । ‘कारणवश हामीले भनेकै समयमा महाधिवेशन गर्न सकेनौं । संस्थामा केही विवाद आए,’ उनले भने, ‘तर अब विवाद छैन । गैरआवासीय नेपाली एक भएर बस्न चाहेका छन् ।’ एकबद्ध गैरआवासीय नेपालीको शक्तिले मात्र नेपालको आर्थिक समृद्धिमा सघाउने उनको दाबी छ । महाधिवेशन मिति मार्च २४ र २५ (चैत १० र ११) लाई तोकिसकिएको र सबै एक भएर अघि बढ्ने अध्यक्ष पन्तले बताए । धेरै प्रतिनिधि काठमाडौं आइसकेका छन् । बाँकी प्रतिनिधिले अनलाइनबाट सहभागिता जनाउने उनको भनाइ छ । ‘संघले नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ,’ पन्तले भने, ‘सरकार र परराष्ट्र मन्त्रालयले संघका काममा सघाउने आश्वासन दिएको छ ।’ अदालतमा विचाराधीन सबै मुद्दा फिर्ता गरिने अध्यक्ष पन्तले जानकारी दिए ।

‘खास विवाद परराष्ट्र मन्त्रालयसँग थियो, अहिले अन्त्य भएको छ,’ उनले भने, ‘महाधिवेशनपछि कसैले पनि अड्डा/अदालत धाउनु पर्दैन ।’ नेपालमा परोपकारी काम र लगानीका क्षेत्रमा धेरै उपलब्धि हासिल गरिसकेको उनको भनाइ छ ।

व्यक्तिगत स्वार्थभन्दा संस्थालाई माथि राखेर अघि बढ्नेमा सहमति जुटेको अध्यक्षका प्रत्याशी बद्री केसीले बताए । ‘सामूहिक नेतृत्वमा अघि बढ्ने निर्णय गरेका छौं,’ उनले भने, ‘संघले गरेकाबाहेक अन्य समानान्तर गतिविधि अब सबै अन्त्य हुनेछन् ।’ अर्का अध्यक्षका प्रत्याशी कुल आचार्यले पनि संघमा १८ वर्षपछि यस्तो विषम परिस्थिति आएको भन्दै पदभन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । ‘यो निर्णयले कसैकसैलाई ठेस पुर्‍याएको पनि हुन सक्छ,’ उनले भने, ‘त्यसैले सबैलाई समेटेर संघले गर्ने अभियान अघि बढाउन लागिपर्छौं ।’ अब एनआरएनएमा पक्ष–विपक्ष भन्ने नै नरहेको उनको भनाइ छ । ‘सबै कुरा भुलेर संस्थालाई बचाउन लागेका छौं,’ आचार्यले भने, ‘सबैलाई अपिल गर्न चाहन्छु, गौरवको संस्था बनाउन लागि परौं ।’

सहमति र सहकार्य गरेरै आफूहरूले काम गरिरहेको अध्यक्षकी नै प्रत्याशी रविना थापाले बताइन् । ‘संस्थामा अग्रजहरूलाई सम्मान गर्न जरुरी छ,’ उनले भनिन्, ‘पूर्वअध्यक्षहरूलाई एकसाथ राखेर अझै संस्थालाई बलियो बनाउन लागिपर्छौं, अब सबै एक भएर अघि बढ्नुपर्छ ।’ यसैबीच संघका संरक्षक एवं पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा मंगलबार होटल याक एन्ड यतीमा दसौं अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ, जसको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । सम्मेलनमा अध्यक्षका उम्मेदवार कुल आचार्य पक्षको सहभागिता थिएन । घलेले आचार्य पक्षलाई समर्थन गर्दै आएका थिए ।