स्थापना भएको झन्डै दुई दशकपछि एनआरएनए यूके बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता
लन्डन । नेपाल सरकारबाट मन्यता प्राप्त प्रवासमा नेपालीहरुको सबैभन्दा ठुलो र एक मात्र संस्था गैर आवसीया नेपाली संघ यूके औपचारिक रुपमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको छ । बिगतका केही कार्य समितिहरु र निबर्तमान कार्यसमितिले यसलाई परोपकारी संस्थामा दर्ता गर्न खोजिए पनि अन्तत: स्थापनाको भएको झण्डै दुई दशकपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके च्यारिटी संस्थाका रुपमा दर्ता भएको छ । एनआरएनए यूकेका उपाधक्ष्य सुनिलबाबु खड्का संयोजकतामा निबर्तमान कार्यसमितिले पहल गरिएता पनि हिजो अक्टोबर १ तारिख २०२१ साल शुक्रबार मात्र एनआरएनए युके औपचारिक रुपमा च्यारिटी संस्थाका रुपमा दर्ता भएको हो ।
एनआरएनए यूकेको उपाधक्ष्य सुनिल बाबु खड्काको अनुसार एनआरएनए यूकेको च्यरिटी दर्ता नम्बर ११९६०१३ प्राप्त भएको छ र हाल एनआरएनए युकेमा तीन जना ट्रष्टिहरु रहेका छन । संयोजकमा एनआरएनए उपाध्यक्ष खड्का, सदस्यद्वयमा निबर्तमान अध्यक्ष पुनम गुरुङ र निबर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगर रहेका छन ।
बेलायतको नियम अनुसार कुनै पनि परोपकारी संस्थाले आर्थिक बर्षमा कम्तिमा ५ हजार आम्दानी वा आर्थिक कारोबार गर्छ भने परोपकारी संस्थाको रुपमा दर्ता गर्नुपर्ने नियम छ । त्यस्तै च्यारिटी संस्थामा बस्ने व्यक्तिहरु आर्थिक रुपमा पारदर्शि (क्रिडिट हिस्टोरी राम्रो) भएका हुनु पर्ने प्रावधान रहेको छ । दर्ता प्रकृयाको संयोजक उपाधक्ष्य सुनिल बाबुको अनुसार एनआरएनए यूके च्यारिटीमा दर्ता भएपछि भबिष्यमा हुने आर्थिक कारोबारहरु पारदर्शि हुने वा गर्नेमा विश्वस्त हुनुहुन्छ । उनका अनुसार च्यारिटिको रकम दुरुपयोग भएको ठहर भएमा ट्रष्टीहरुले कारागारको सजायसम्म भोग्नु पर्ने अवस्था आउँछ । उपाध्यक्ष खड्काले भन्नुभयो- एनआरएनए युके च्यारिटीमुलक कार्यहरुमा सक्रियताका साथ संलग्न रहदै आएकाले च्यारिटी संस्थाको रुपमा दर्ता गर्नुपर्ने आवश्यकता महसुस भएको हो । त्यो काम अव पुरा भएको छ ।’
बेलायत सरकारको कानुनअनुसार कोष संकलन गरेर च्यारिटीमुलक कार्य सञ्चालन गर्ने संस्था च्यारिटी संस्थाका रुपमा दर्ता हुन जरुरी छ । च्यारिटीका रुपमा दर्ता भएका संस्थाले च्यारिटीका लागि उठाउने हरेक कोषमा सरकारले ‘गिफ्ट एड’ को रुपमा कोष थप गरिदिने व्यवस्था छ ।
च्यारिटी संस्थाको रुपमा दर्ता भइसकेपछि एनआरएन यूकेलाई च्यारिटीमुलक कार्यक्रमहरु सञ्चालन थप सहज र प्रभावकारी उपाध्यक्ष खड्काको भनाई छ । त्यस्तै एनआरएनए युकेमा आर्थिक पारदर्शिताका प्रश्न उठिरहेका बेला एनआरएनए युके च्यारिटिमा दर्ता हुनुलाई सकारात्मक रुपमा लिएको उपाध्यक्ष सुनिल खड्काले बताए ।
पुर्व अध्यक्ष योगकुमार फगामीका पालामा च्यारिटी प्रक्रिया अघि बढाए पनि निबर्तमान कार्यसमितिले उपाधक्ष्य खडकालाई संयोजक बनाएर यस कार्यलाई चुस्ता रुपमा अगाडि बढाएको थियो तर अहिले मात्रा यो कार्य पुरा भएको छ । एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रियाको सम्पुर्ण प्राविधिक जिम्मेवारी अकाउन्टेन्ट लेखनाथ घिमिरेलाई दिइएको थियो । च्यारिटी दर्ताको प्रक्रिया ३ देखि ६ महिनासम्म पूरा हुन पर्ने भएपनि कोरोना संक्रमणका लागि झण्डै एक बर्ष लागेको हो ।