अन्तत: छुट्टिने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपाका दुई नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्कापक्की भएको छ। सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले मंगलबार बोलाएपछि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष मंगलबार आयोग पुगेर आ-आफ्नो दाबी पेश गरेका छन् ।

आयोगको छलफलमा सहभागी भएका नेता अनिल झाले उपेन्द्र यादवले सँगै बस्न नसक्ने भनेर छुट्टिने माग गर्नुभएकाले त्यसैमा सहमति भएको बताए। उनले अब मिल्न नसक्ने भएकाले नियामानुसार जाने भन्दै दुवै पक्षले हस्ताक्षर गरेको पनि बताए । छलफलपछि पत्रकारमाझ झाले भने, ‘मिलेर जानेबारे केहीबेर छलफल भएपनि त्यो सम्भावना देखिएन । अब हामी मिलेर जान सकेनौं। हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा हस्ताक्षर गरेर आइसकियो ।’

उनले अब जसपाको विवाद आयोगले आधिकारिक रुपमा टुंगो लगाउने जानकारी दिए । निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गरेको छ । जसपा विवाद समाधानका लागि आयोगले बुधबार इजलास गठन गर्ने छ र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति भएको छ ।

निर्वाचन आयोगमा भएको छलफलमा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेता सहभागी थिए । निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई ‘कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ । आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला दिएको थियो ।

अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही गरेका थिए । दुवै पक्षले कारबाही गरिएको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयमा जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो । जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच विवाद चुलिदै गएको छ । एक वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजबादी पार्टी (सपा)बीच एकीकरण भएर जसपा पार्टी बनेको थियो। एकतापछि ठाकुर र यादव गरी दुई अध्यक्ष रहने व्यवस्था गरिएको थियो भने डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको थियो ।

जसपा औपचारिक रुपमै फुट्ने, को कता (नामावलीसहित)

त्यस्तै जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका कार्यकारिणी समितिको नामावलीमा बहुमत उपेन्द्र यादव पक्षधर छन् । महन्थ ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा छन् । तर, उनले फेरि आफ्नो पक्षमा बहुमत बनाउन कार्यकारिणी समिति सदस्य थपेर अद्यावधिक बनाउन आयोगमा नाम पठाएका छन् ।

उपेन्द्र यादवको पक्षमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु अशोक राई, महेन्द्र राय यादव राजेन्द्र श्रेष्ठलगायत छन् । महन्थ ठाकुरको पक्षमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायत छन् । ५१ सदस्यीय कार्यकारिणीमा बहुमत उपेन्द्र यादवको पक्षमा छन् । ३१ यादव पक्षमा र ३० ठाकुरको पक्षमा देखिएका छन् ।

कार्यकारिणमा को कता

उपेन्द्र यादव पक्षधर
उपेन्द्र यादव
डा. बाबुराम भट्टराई
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव
राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
राम नरेश राय यादव
गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्षधर

महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा