बेलायतमा चर्चामा रहेको ‘नेपाल म्युटेसन’को यथार्थ
एक अध्ययनबाट ‘नेपाल भेरियन्ट’ भनिएको भेरियन्ट ‘डेल्टा भेरियन्ट’ र के ४१७ एन नामक म्युटेसनको मिश्रण भएको पाइएको छ । भाइरसको भेरियन्टलाई कुनै देशको नामसँग नजोडी ग्रिक वर्णमालाको अक्षरले सम्बोधन गर्ने नयाँ नियम बनेको भए पनि ‘नेपाल भेरियन्ट’ भनेर बेलायती मन्त्री ग्य्रान्ट स्याप्स र उनको देशका मिडियाले यो नियमको बेवास्ता गरे ।
केही समयअघि इंग्ल्यान्डले पोर्चुगललाई सुरक्षित यात्रा क्षेत्रको सूचीबाट हटायो । बेलायतका यातायातमन्त्री (जसलाई बेलायतमा ‘सेक्रेटरी’ भनेर सम्बोधन गरिन्छ) ग्य्रान्ट स्याप्सले यस निर्णयका लागि कोरोना भाइरसको नयाँ भेरियन्ट जिम्मेवार रहेको बताए । ‘भारतमा पहिलोपटक भेटिएको डेल्टा भेरियन्टको ‘नेपाल म्युटेसन’ यस निर्णयका लागि जिम्मेवार छ,’ स्याप्सले एक अन्तर्वार्तामा भने ।
धेरै मानिसले ‘नेपाल म्युटेसन’बारे पहिलोपटक स्याप्सको अन्तर्वार्तामा सुनेका थिए । स्याप्सको भनाइलाई टिपेर केही ब्रिटिस मिडियाले ‘नेपाल भेरियन्ट’को जोखिमबारे महत्व दिएर लेखे । बेलायतमा ‘नेपाल भेरियन्ट’को चर्चा चलिरहँदा डब्लुएचओले भने ‘नेपालमा कोरोना भाइरस (सार्स–कोभ–२) को कुनै नयाँ भेरियन्ट पहिचान भएकोबारे आफूलाई थाहा नभएको’ प्रतिक्रिया दियो ।
बेलायतको स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रालयअन्तर्गतको कार्यकारिणी एजेन्सी ‘पब्लिक हेल्थ इंग्ल्यान्ड’ले पनि ‘नेपाल भेरियन्ट’जस्तो कुनै ‘चिन्ता लिनुपर्ने भेरियन्ट’को अस्तित्व नरहेको भनेको छ । त्यसो भए बेलायती यातायातमन्त्री स्याप्सले उल्लेख गरेको नेपाल भेरियन्ट के थियो ? के साँच्चै त्यसको अस्तित्व छ ?’ एक अध्ययनबाट ‘नेपाल भेरियन्ट’ भनिएको भेरियन्ट भारतमा पहिलोपटक पहिचान भएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट र के ४१७ एन’ नामक म्युटेसनको मिश्रण रहेको पाइएको छ ।
डेल्टा भेरियन्ट अहिले ९० प्रतिशत बेलायती संक्रमितमा पाइएको छ । के ४१७ एन म्युटेसन भने कोराना भाइरसको प्रोटिनको सुइरोमा हुने म्युटेसन हो । बेलायतमा डेल्टा भेरियन्ट र के ४१७ एन म्युटेसनको मिश्रण भएको पहिलो पाँच केसलाई २६ अप्रिलमा सिक्वेन्स गरिएको थियो । ती सबै नेपाल र टर्कीबाट फर्किएकाको सम्पर्कमा आएका मानिसमा पाइएको थियो । पछिल्लो तथ्यांकअनुसार इंग्ल्यान्डमा यो भेरियन्ट संक्रमित ३६ केस छन् । अधिकांश केस युवामा छ, भने दुई केस भने ६० वा त्यसमाथिका मानिसमा पाइएको थियो । कुल ३६ केसमध्ये ११ केस ‘यात्रासँग जोडिएको थियो’ ।
‘नेपाल भेरियन्ट’का केस भनेर पहिचान भएका ३६ मध्ये २७ को खोपसम्बन्धी रेकर्ड प्राप्त भएको छ । रेकर्डअनुसार १८ केस खोप लगाएका मानिसमा थियो । दुई केस मात्र खोपका दुवै डोज लगाएका मानिसमा थियो र दोस्रो खोप लगाएको दुई साताभन्दा बढी समय भएको थियो । यस भेरियन्ट लागेकामध्ये कसैको पनि मृत्यु भएको छैन । त्यसो भए चिन्ता किन ? ‘नेपाल भेरियन्ट’को न्यून संख्याको केसका बाबजुद यसप्रति किन मानिस चिन्तित छन् त ? ‘नेपाल भेरियन्ट’ भनिएको भेरियन्टका दुई मिश्रणमध्ये डेल्टा भेरियन्ट अत्यन्त तीव्र गतिमा फैलिन्छ । र, यसले भारतमा लाखौँ मानिसको ज्यान लिइसकेको छ । मिश्रणको अर्को पक्ष के ४१७ एन म्युटेसन दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको बेटा भेरियन्ट र ब्राजिलमा पहिलोपटक पहिचान भएको गामा भेरियन्टमा पनि पाइएको छ ।
हुन त संक्रमणको तीव्रताको हिसाबमा बेटा भेरियन्ट डेल्टा भेरियन्टको नजिक पनि आउँदैन । डेल्टा भेरियन्टले छोटो समयमा बेलायतमा त्यहीँ पहिलोपटक पहिचान भएको अल्फाबाट संक्रमित केसलाई उछिनेको तथ्यांकले डेल्टा भेरियन्ट कति तीव्र रूपमा फैलिन्छ भनेर देखाउँछ ।
संक्रमण दर तीव्र नभए पनि बेटा भेरियन्टको के ४१७ एन म्युटेसनले भाइरसलाई हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सघाएको बलियो प्रमाण पाइएको छ । अर्थात्, यसले खोप र एन्टी–बडी औषधीलाई कम प्रभावकारी बनाउन सक्छ, पुनः संक्रमणको जोखिम बढाउन सक्छ ।
गामा भेरियन्ट फैलिएको ब्राजिलको मानाउस सहरमा यो अवस्था ठूलो स्तरमा देखिएको थियो । त्यसैले पब्लिक हेल्थ इंग्ल्यान्डले यस भेरियन्टमाथि निगरानी गरिरहेको छ । तर, महामारी शास्त्र र प्रयोगशालाले ठोस रूपमा ‘नेपाल भेरियन्ट’लाई तीव्र फैलिने, संक्रामक र डेल्टा भेरियन्टले भन्दा बढी भाइरसलाई छल्न सक्ने भनेर प्रमाण नदेखाएसम्म ‘नेपाल भेरियन्ट’लाई खतराको सूचीमा राखिनेछैन ।
आगामी साता वा महिना यसले कस्तो असर पार्ला भनेर अनुमान मात्र गर्न सकिन्छ । तर, एउटा कुरा भने निश्चित छ : यदि डेल्टा र के ४१७ एन विश्व स्वास्थ्य संगठन वा पब्लिक हेल्थ इंग्ल्यान्डको ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा समावेश भयो भने यसलाई ‘नेपाल भेरियन्ट’ भनिनेछैन । यसलाई ग्रिक वर्णमालाको कुनै एक अक्षर नाम दिइनेछ । कुनै देशको नाम नै बदनाम गर्ने गरी भेरियन्टको नाम राख्ने नियमलाई विस्थापित गरिएको छ । सायद ग्य्रान्ट स्याप्स र मिडियाले यो नियम बिर्सिए ।
(कट्लर युनिभर्सिटी अफ इस्ट लन्डनकी प्राध्यापक हुन्) यो लेख पहिलोपटक गैरनाफामूलक मिडिया पोर्टलको सञ्जाल ‘द कन्भरसेसन’मा प्रकाशित भएको थियो । यस सञ्जालले प्राज्ञ र अनुसन्धाताहरूले लेखेका न्युज स्टोरी प्रकाशित गर्ने गर्छ ।
स्रोत- नयाँ पत्रीका