एकतापूर्व जेठ २ मा फर्कने ‘सहमति’ : एमाले विवाद

काठमाडौं । दुई महिनाको रस्साकस्सीपछि सत्तारूढ नेकपा एमालेका दुवै (प्रधानमन्त्री केपी शर्मा ओली र झलकनाथ खनाल तथा माधवकुमार नेपाल समूह) जेठ २ लाई आधार बनाएर अघि बढ्न सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार अबेर रातिसम्म बसेको बैठकले पार्टी एकतापूर्व अर्थात् जेठ २ लाई नै प्रस्थान विन्दु बनाएर सहमति खोज्ने निचोड निकालेको भीम रावलले जानकारी दिए ।

“हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि, पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्‍यौँ,” बैठकपछि भीम रावलले भने, “त्यसका लागि २०७५ जेठ २ गतेभन्दा अगाडिलाई आधार बनाएर छलफल गर्ने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीजी र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलका सदस्यहरू तय गर्ने कुरा भएको छ । तुरुन्तै कुराकानीलाई अगाडि बढाउने निर्णय भएको छ ।” त्यस्तै खनाल–नेपाल समूहका अर्का नेता रघुजी पन्तले पनि सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको संक्षिप्त प्रतिक्रिया दिए । “पार्टीलाई एकताबद्ध बनाउने विषयमा नै छलफल केन्द्रित भयो । छलफललाई निरन्तरता दिँदै जानेछौँ,” उनले यति मात्रै भने ।

छलफलमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि छलफल सकारात्मक रहेको र जेठ २ लाई सहमतिको प्रस्थान विन्दु मानेर अघि बढ्ने समझदारी भएको बताए ।

बादललाई साक्षी राखेर जेठ २ मा फर्कने समझदारी

एमाले विवाद २०७५ जेठ २ मा अड्किएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जेठ २ लाई नै सहमतिको मुख्य आधार बनाएको छ । तर, प्रधानमन्त्री ओलीले परिस्थिति निकै अघि बढिसकेको बताउँदै आएका छन् । खनाल–नेपाल समूहको आजको बैठकलाई ओली समूहले रणनीतिकरूपले उपयोग गर्‍यो । खनाल–नेपाल समूहले जेठ २ अगाडिका कमिटी, नवौँ महाधिवेशनले पारित गरेको विधानलाई सहमतिको आधार बनाइनुपर्छ भनिरहँदा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहितको बैठक राखिदिए । बादल फागुन २३ को फैसलापछि एमालेको जिम्मेवारीमा आएका हुन् ।

बादलसहितको बैठकलाई स्वीकार गरेपछि जेठ २ को रटानको कुनै अर्थ र उपादेयता नरहने ओली पक्षका एक नेता बताउँछन् । “बादललाई स्वीकार गर्नु भनेको फागुन २८ गतेको निर्णय पनि स्वीकार गर्नु हो,” ओली पक्षका एक नेता भन्छन्, “जेठ २ का कमिटीहरू पनि मान्ने कुरा होलान्, जेठ २ मै फर्कने भन्ने कुरा त्यति सम्भव नहोला ।”

माधव नेपाललाई कार्यकर्ताको दबाब

सिहंदरबारमा बैठक सुरु हुनुपूर्व खनाल–नेपाल समूहले जुम मिटिङमा केन्द्रीय सदस्यहरूसँग छलफल गरेको थियो । छलफलमा भाग लिएका सबै केन्द्रीय सदस्यहरूले ओलीसँग सहजै सम्झौता नगर्न दबाब दिएका थिए । उनीहरूले जेठ २ लाई नै आधार बनाएर सहमति खोज्नुपर्ने अन्यथा पूर्ववत् निष्कर्षका साथ चल्नुपर्ने बताएका थिए ।

“हाम्रो जोड तीनवटा कुराका रहेको छ । पहिलो, जेठ २ मा फर्किने । दोस्रो प्रधानमन्त्रीले विश्वासको मत लिनुपूर्व नै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र कथं प्रधानमन्त्रीले अहिलेको संकटमात्रै टार्न खोज्नुभएको हो भने सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने नै हाम्रो साझा निष्कर्ष थियो,” केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने ।

छलफलमा कोको थिए ?

सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली समूहको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल थिए ।

खनाल–नेपाल समूहको तर्फबाट भने भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए ।

दुवैतर्फका यिनै नेतामध्येबाट कार्यदल बनाइने नेताहरूले जानकारी दिएका छन् ।