एनआरएनए यूकेको चुनाबी मुध्दाहरु उही, मात्र फरक पात्रहरु
बेलायत । एनआरएनए यूकेको चुनाब आगामी ३१ जुलाइमा हुँदैछ । अधक्ष्य पदको लागि हालसम्म चार जना अकांक्षीहरुले उम्मेदवारी घोषणा गरीसक्नु भएका छन् । उम्मेदवारहरुलाई सम्मान प्रकट गर्दै यहाँहरुले अब घोषणा गर्ने र उठाउने मुध्दाहरु उही पुरानो वा पहिल्यैको जस्तो नहोस र नदोहोरियोस भन्ने कामना गर्दछु । यस पटक पनि पहिलाकै जस्तो प्राय उम्मेदवारले चुनाबताका भन्ने र अश्वासन दिने मुध्दाहरु (एजेन्डाहरु) नउठाउनुहोस् ।
बिशेष गरेर नेपाली नागरिकता निरन्तरता सम्बन्धि र समान गोरखा पेन्सनको मुध्दा । सायद एनआरएनए यूकेको जन्मसंगै उठाइएका र हालसम्म पनि टुंग्याउन नसकेका यी मुद्धाहरु अब आउने अध्यक्षहरुका लागि पनि उत्तिकै कठिन हुनेछन किनकि यी विषयहरु हुनेवाला अध्यक्षहरुको अधिनको बिषय होइन । समान गोरखा पेन्सनको लागि अरु छुट्टै गोरखा संघर्ष समितिहरुले पहल गरिरहेका छन भने नागरिकता निरन्तरताको कुरा एनआरएनए आइसीसीको प्रमुख मुद्धा हो । नागरिकता जस्तो राष्ट्रियतासँग जोडीएको गम्भीर बिषय र त्रिदेशिय सम्बन्धन रहेको गोरखा पेन्सनको कुरा कसरी हुनेवाला अधक्ष्यले समाधान वा प्राप्त गर्लान ? भन्ने बित्तिक्कै हुने भए यस अघिका अधक्ष्यहरुको त्यो चाहना थिएनन र ? उहाँहरुले पहल अवश्य गर्नुभयो तर पूर्ण सफलता भने प्राप्त गर्नुभएन । त्यसैले, तपाईले पनि मैले सक्छु वा जादु गर्छु भनेर अश्वसन दिनु बेकार हुनेछ । कुनै पनि विषय वा मुध्दामा १७ बर्ष लाग्नु भनेको एक युग हो, त्यस युग भित्र तपाईं हाम्रो छोराछोरीहरु हुर्के बढेर नातीनातिनी पाइसक्यो तर हामीले माग गरेको नागरिकता निरन्तरताको मुध्दा अहिलेसम्म टुंगो लागेको छैन, यस समयमा एनआरएन युकेभित्र कति कार्यसमिति फेरिसके र नेपालमा पनि कतिवटा सरकार फेरिसके तर यस मुध्दाको टुंगो लागेछैन र अनिश्चित नै देखिन्छ । त्यसैले उल्लेखित नागरिकता र गोरखा पेन्सनको कुरा कुनै अकांक्षी उमेदवारको मुख्य एजेन्डा होइन जस्तो लाग्छ, मात्र तपाईंहरुले गर्ने र सक्ने भनेको पहल र सहकार्य हो । फेरी पनि अश्वासन नदिनुभएकै राम्रो ।
यदि बिकास र परिवर्तन गर्ने हो भने सानो भन्दा सानो र सामान्य भन्दा सामान्य चिजबाट शुरुवात गर्नुहोस् । एनआरएनए यूकेको बिधानमा उल्लेखित उद्धेश्यहरु मध्ये महत्वपुर्ण उद्धेश्य— सदस्यहरुको हक हित, सामाजिक र आर्थिक समुन्नती तपाइको पहिलो प्राथमिकता हुनुपर्दछ । चुनाबको बेला मात्र उठाइने र सुनाइने नेपाल हाउसको कुरा खोइ ? हरेक चोटी निर्बाचनमा अश्वसन दिनुहुन्छ तर यस सम्बन्धमा प्रगती शुन्य बराबर छ । झण्डै एक लाख बढि नेपाली, तीन सय जति नेपाली संघसंस्था भएको देशको एनआरएनले आफ्नै कार्यक्रमहरु गर्नलाई स्थान र हल खोज्नुपर्ने स्थिति यथावत छ । अझै रुखो भएर भन्दा कार्यक्रम स्थानको लागि ठाउँ चहार्दै हिडनुपरेको परिस्थिति छ । गत पटकको चुनाबमा दुइ हप्ताको चुनाबी दौरानमा एम्पायर हललाई तीस पैतीस हाजर पाउण्ड तिरेको जगजाहेर नै छ । यूके स्थित नेपाली र नेपाली संघसंस्थाले कहिले गर्वका साथ नेपाल हाउस वा साझा घरमा कार्यक्रम गर्न पाउने ? त्यसतर्फ ठोस पहल गर्ने कि ?
त्यस्तै, पछिल्लो केही बर्ष यता हरेक चुनाबको बेला बेलायतबासी नेपालीले १० पाउन्ड तिरेर कसैलाई हराउनको लागि वा जिताउनको लागि स्वइच्छयाले भन्दा करले नयाँ सदस्यता बन्नुपर्ने अवस्था छ । हरेक चुनाबमा पन्जिक्रित सदस्यहरुको सदस्य शुल्क र उम्मेदवारहरुको शुल्क गरेर नेपाली लगभग दुई तीन करोड रुपियाँ उठेको अनुमान गर्छौ तर उठेको यी रकमहरु कहाँ जान्छन, के मा खर्च हुन्छ, कसैलाई थाहा छैन । बिगतका कोही पनि अधक्ष्य, कार्यसमिती वा उम्मेदवारले आफ्नो कार्यकालको स्पष्ट हिसाबकिताब (आर्थिक प्रतिबेदन) पेश गरेको वा संस्थाकै वेबसाइटहरुमा प्रकाशन गरेको अहिलेसम्म जानकार छैन । यदी तपाईंले परिवर्तन वा बिकास गर्ने हो भने यस्तो सानो सानो कुरा तर अर्थमुलक कुराहरुमा सुधार गर्नुहोस, म अधक्ष्य हुनेबित्तिक्कै संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्छु र सकिन्छ भने तपाईं आफ्नै चुनाबी खर्च पनि प्रस्तुत गरेर पारदर्शिताको सुरुवात गर्नुहोस् । एनआरएन यूकेको आयव्याय खासै स्पष्टसंग देखाइदैन तर हरेक दुई दुई बर्षमा नयाँ एनआरएन बन्नुपर्ने रित दोहोरिरहेको छ । दुई बर्ष अघि १० पाउण्ड दिएर सदस्य बनेका सदस्यहरुले एनआरएनए यूकेबाट के फाईदा पायौं र ? फेरी सदस्य बन्ने ! उम्मेदवारहरुले निर्धक्कसंग जवाफ दिनसक्ने अवस्था छैन । गोलमोटल जवाफ दिने, लज्जित भएर टार्ने खालको उत्तर दिनुपर्ने परिस्थिति छ । मेरो कामाना यस्तो परिस्थिति बारम्बर नदोहोरियोस भन्ने हो र यसरी कहिले सम्म चल्ने भन्ने हो ? कमसेकम एकपटक सदस्य बनिसकेकाहरुको विवरण ब्यवस्थित र सुरक्षित राखेर सहुलियत दरमा वा सहुलियत सहित सदस्य नबिकरण गर्न पाउनुपर्ने वा दिनुपर्ने होइन र ? हामी त हरेक दुई दुई बर्षमा नयाँ एनआरएन बन्नुपर्ने जस्तो भयो, पहिला सदस्य बनेको केही पनि अर्थ रहेन ।
आर्थिककै कुरा गर्दा “नेपाल हाउस” बनाउने परीयोजनामा, पारीयोजना पारीकल्पना भएदेखी कुनचाही अधक्ष्य वा कसको कार्यकालमा त्यस पारीयोनाको लागि पैसा थप्यो ? उल्टै त्यस पारीयोजनाको लागि मौज्दात गरेको रकम प्रयोग गर्न लागेको भन्ने सुनिन्छ । गत अप्रिल महिनामा आर्थिक छानबिन समितिले औल्याए झै प्रस्तावित कार्यक्रमको आर्थिक प्रक्षेपण (अनुमानित लेखाजोखा) नगर्ने, देखाउनको लागि मात्रा कार्यक्रम गर्ने, घाटामा कार्यक्रम गर्ने, जथाभाबी खर्च गर्ने, संस्थाको लागि एक पैसा नबढाउने वा नाफा नकमाउने अनि आर्थिक हिनामिना भयो, भ्रष्टाचार भयो भनेर आफु पदासिन वा सम्मेलित कार्यसमिती बिरुध्द मुध्दा हाल्ने, आरोप प्रत्यारोप गर्ने । कत्तीसम्मको जायज वा जिम्मेवारी तपाइहरु ? तपाईलाई लाग्दो हो हामीले ठीक गरेका छौं, तर तपाईको यस्ता कृयाकलापले संस्थाप्रति जनमानसको आकर्षण होइन बितृष्णा बढदैछ ।
एनआरएनए यूकेको सन्दर्भमा यूकेबासी नेपालीले संस्थाबाट एकदमै ठुलो आशा गरेको जस्तो मलाई लाग्दैन– “देश अनुसारको भेष” भने जस्तै सुसंस्किृत संस्थाको रुपमा स्थापित अनि परिचालित गर्न सकोस भन्ने हो । संस्थाको बिधानमा उल्लेखित सबैभन्दा प्रमुख उद्धेश्य— सदस्यहरुको बृहत हक हित, सामाजिक तथा आर्थिक सम्मुन्नतीको लागि पहल गर्न सकोस वा त्यस किसिमको मुध्दाहरुमा अकांक्षी उम्मेदवारहरुको ध्यान पुगोस् । आफ्नो सदस्यहरुको हकहित पर राखेर नेपालतिर बढि प्राथमिकता दिने— सानो पहिरो गयोे, डढेलो लाग्यो, कोही बिरामी भयो भने अभियान्त पल्टेर देखाउनकै लागि मध्दत गर्न तम्सिने तर संस्थाको आय आर्जनको निम्ति केही पनि नगर्ने ! अझ ठेट भन्नुपर्दा पैसा उठाइ उठाइ समाजसेवा गर्न पल्टिने । केन्द्रिकृत प्रणाली ठीक भएन भनेर नेपालमा अहिले बिकेन्द्रिकृत प्रणाली अवलम्बन गरेको छ । स्थानीयको सुख दुख नजिकबाट देख्छन्, बुझ्छन र समाधान गर्छन भनेर नै वडा, पालिका, प्रदेश र स्थानीय निकायहरु बनाइएका छन् । नेपालीहरुको सुख दुख बुझ्ने, समस्यको समाधन गर्ने पहिलो दायित्व वा जिम्मेवार भनेको त्यहाँको स्थानीय सरकार वा नेपाल सरकार हो एनआरएनए यूके होइन । तपाई आफ्नो प्रख्याती कमाउनलाई वा देखाउनलाई पदाधिकारी बन्ने होइन ।
त्यसैले अन्त्यमा, मुध्दा उही पात्र फरक भन्ने महशुस जनमानसमा नगराउनुस । प्राप्त गर्न सकिने र अर्थमुलक नयाँ सुधारका मुध्दाहरु उठान गर्नुहोस् । जसले “म पहिला आफ्नो घर सुधार्नेछु, राम्रो अनि बलियो बनाउनेछु” भन्नुहुन्छ उसैलाई मेरो मतधिकार उपयोग गर्नेछु हैन भने मेरो मतधिकार मेरो इच्छया । सम्पूर्ण अकांक्षी उम्मेदवारहरुलाई हार्दिक शुभकामना ।