गण्डकीमा अब कसको सरकार बन्छ ? लुम्बिनीकै प्रकरण दोहोरिने त होइन ?
पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि अब गण्डकी प्रदेशमा कस्तो सरकार बन्छ भन्ने कौतुहलता बढेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन एमाले नेता समेत रहेका मुख्यमन्त्री गुरुङले राजीनामा गरेका हुन् । गुरुङले राजीनामा गरेसँगै अविश्वासको प्रस्ताव तुहिएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा गरेसँगै उनले फेरि सरकार गठनको गृहकार्य गरेका छन् भने विपक्षी गठबन्धनले पनि सरकार गठनको तयारी थाल्ने बताएको छ ।
मुख्यमन्त्री गुरुङको राजीनामासँगै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको व्यहोरा सवैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले विज्ञप्ति मार्फत जनाएका छन् ।
२०७४ सालमा माओवादीको समर्थनमा एमाले नेता गुरुङ मुख्यमन्त्री बनेका थिए । सर्वोच्चको आदेशले नेकपा एकता भंग भएपछि माओवादीले सरकार छाडेको थियो । सरकार छाडेको माओवादीलाई साथ लिएर कांग्रेसले यसै महिनाको शुरुमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । संसदको विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव पेश गरिएपनि मतदानको दिन जनमोर्चाका एक सांसद हराएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेको २७ जना सांसद छन्, एक स्वतन्त्र सांसद दीपक मनाङे पनि गुरुङ नेतृत्वको सरकारमा मन्त्री छन् । बहुमतका लागि ३१ सांसदको आवस्यक पर्छ । एमालेलाई बहुमत पुर्याउन ३ सांसद जरुरी हुन्छ भने विपक्षी गठबन्धनलाई एमाले बाहेक सबै दलको समर्थन जरुरी हुन्छ । प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । गण्डकी प्रदेशमा सत्ता समीकरणका लागि ३ सीट प्राप्त जनमोर्चा निर्णायक छ ।
यसअघि सरकारलाई समर्थन दिएको जनमोर्चाले गत महिना सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जनमोर्चाकी सचेतक पियारी थापा आफूहरु अविश्वास प्रस्तावको पक्षमा रहेको बताउँछिन् । नेकपा एमालेले भने फेरीपनि गण्डकीमा आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गरेको छ । आज मात्र नयाँ सरकार गठनका लागि आह्वान भएकोले भावी सरकार कस्तो बन्छ भन्ने खाका बनिसकेको छैन । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश चन्द्र दवाडीले लुम्बिनी प्रदेशमा जस्तै जालझेल गर्न लागिएको आरोप लगाए । ‘भोलि प्रदेश सभामा मतदानको कार्यसूची थियो त्यहीबाट छिनोफानो हुन्थ्यो, आज एकाएक राजीनामा गर्नुलाई हामीले षड्यन्त्र ठानेका छौं’ दवाडीले लोकान्तरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर हामीहरू छलफलमा छौं ।’
यसअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर लगत्तै एमाले एक्लैको सरकार गठन गरेका थिए । विपक्षी एक सांसदले लुम्बिनीमा जस्तै गण्डकीमा पनि प्रदेश प्रमुखले गुरुङलाई नै फेरि मुख्यमन्त्री बनाउन सक्ने आशंका व्यक्त गरेका छन् ।