बिराटनगर कोशी आस्पतलमा अक्सिजन र भेन्टिलेटरजडित ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा

विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा आएको छ । प्रदेश नम्बर–१ मै कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश राजधानी विराटनगरमा पहिलो लहर सुरु हुँदै निर्माण भएको संरचना त्यति बेला संक्रमित शून्यमा झरेपछि सञ्चालनमा आउन सकेको थिएन । विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघ–संस्थाको अगुवाइमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको थियो । शुक्रबार मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरी संक्रमितको उपचार सुरु गर्न निर्देशन दिएका हुन् । कोसी कोभिड–१९ उपचार केन्द्रसँगै रहेको नगारिक केयर सेन्टरमा अक्सिजन सुविधासहितका ८३ बेड छन् । तीमध्ये नै २१ वटामा भेन्टिलेटर जडान गरिएको छ । बाँकी नर्मल बेड छन् । यसैगरी, कोसी कोभिडमा हाल ३२ वटा बेड सुविधा छ ।

मुख्यमन्त्री राईले प्रदेशमा संक्रमणको अवस्था बढ्दै गएकोले अब संस्थागत आइसोलेसन निर्माण गर्न पहल गरिने बताए । उनले भने, “नागरिक केयर सेन्टरमा अक्सिजन, भेन्टिलेटरको सहयोग चाहिने प्रकृतिका बिरामीलाई मात्र भर्ना लिइनेछ ।” राईले अहिले महामारीको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएकोले सरकारले लागु गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सबै नागरिक सचेत हुनुपर्ने बताए । सामाजिक विकासमन्त्री उषाकला राईले नागरिकको जीवन बचाउन सरकार चिन्तित रहेको र सोहीअनुरुप काम गर्दै जाने बताइन् । कोसी कोभिड–९ उपचार केन्द्रलाई भने मर्मत गर्ने सरकारले तयारी गरेको छ । हाल कोसी कोभिडमा उपचाररत बिरामीलाई नागरिक केयर सेन्टरमा सारेर त्यहाँ थप उपकरण मर्मतलगायत अन्य काम गर्ने तयारी गरिएको हो ।

सामाजिक विकासमन्त्री राईले कोसी कोभिडलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मर्मतलगायत काम जरुरी रहेको बताइन् । कोसी कोभिड ८० बेड क्षमताको भए पनि ३२ वटा मात्र सञ्चालन छन् ।

‘हटस्पट’ बन्यो विराटनगर

पछिल्लो दुई साताको तथ्यांकानुसार प्रदेश–१ मा एक हजार ६०० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म मोरङमा मात्र सक्रिय संक्रमितको संख्या एक हजारजना छ । यो संख्या प्रदेशभरका कुल संक्रमितको आधाभन्दा धेरै हो । विराटनगरमा मात्र ७०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

बिहीबार विराटनगरमा मात्र १०५ जना नयाँ संक्रमित थपिए । बिहीबार प्रदेशभर २७० जना कोरोना संक्रमित थपिएका थिए । जसमा मोरङमा १३६, झापामा ५३, सुनसरीमा ५२, इलाममा सात, ताप्लेजुङमा पाँच, धनकुटामा दुई, उदयपुर र संखुवासभामा एक/एक र प्रदेश–१ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरको गृहकार्य

कोरोना संक्रमणको दोस्रो लहर रोकथाम र उपचारमा विराटनगर महानगरपालिकाले थप गृहकार्य सुरु गरेको छ । कोरोना संक्रमणको पहिलो लहरका बेला आफैँ आइसोलेसन सेन्टर सञ्चालन गरेको महानगरले फेरि तयारी थालिएको जनाएको छ । महानगरका मेयर भीम पराजुलीले स्वास्थ्यविज्ञ, मेडिकल कलेजका पदाधिकारी, अस्पताल तथा जिल्ला प्रशासनका प्रमुखसँग परामर्श र छलफल गरेको बताए । “महानगरको विद्यमान अवस्था र अपनाउनुपर्ने सावधानीका विषयमा छलफल गरेका छौँ । विगतमा हामीले महामारी नियन्त्रण गर्न गरेका कामलाई फेरि निरन्तरता दिएका छौँ,” उनले भने ।

स्थानीय तहको क्षेत्राधिकार र कोभिड नियन्त्रणका विषयमा तत्काल थाल्नुपर्ने कामको सूची बनाएर अघि बढेको पराजुलीले सुनाए । महानगर क्षेत्रमा चाहिने अक्सिजन, चिकित्सकको प्रबन्ध, परामर्शकर्ता, आइसोलेसन केन्द्रकोे व्यवस्थापनमा महानगर अगाडि बढेको उनले जानकारी दिए ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभित्रको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै आवश्यक गृहकार्य भइरहेको बताए । निषेधाज्ञा जारी गर्ने विषयमा पनि विज्ञहरुसँग परामर्श गरिरहेको बताउँदै उनले भने, “कतिपय अवस्थामा कालोबजारी बढ्ने र विपन्न परिवार पीडित बन्न सक्नेतर्फ पनि हामीले ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

महानगरले नगर क्षेत्रका अस्पतालहरुमा उपलब्ध बेडहरु अध्यावधिक गर्ने, अक्सिजन र यसको व्यवस्थापन तथा वितरणको चेन मिलाउने कामलाई प्राथमिकतामा राखेको छ । यसैगरी, कोरोना नियन्त्रणका लागि नागरिकलाई जानकारी दिने तथा समन्वय गर्ने काममा ध्यान दिइएको विपद् व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रधानले जानकारी दिए ।