गण्डकीमा सांसद बिरामी प्रकरण : संसदीय प्रणालीमाथि नै प्रश्न चिन्ह !
पोखरा । डिलमै आइपुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको छिनोफानो हुँदै थियो । १३ वैशाखमा संसदमा टेबुल भएको मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सकाएर बुधबार मतदान गर्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिले नै तय गरि सकेको थियो । अविश्वास प्रस्तावउपर सत्तापक्ष र प्रतिपक्षका सांसदले मत जाहेर गरे। १४ वैशाखमा सत्तापक्षकै सांसदले कोभिड टेष्टबिना संसद चल्न नदिने अडानसहित संसद अवरुद्ध पारे। उनीहरूको पिसिआर परीक्षण पनि गरियो । पिसिआर जाँच गर्दा ३ सांसदमा कोरोना पोजेटिभ देखियो। रिपोर्ट पोजेटिभ नै देखिए पनि सांसदहरूलाई मत हाल्न पाउने अधिकार भने सुनिश्चित गरियो ।
बुधबार १ बजे बैठक सुरु भयो। बैठक सकाएर मतदान गर्ने कार्यतालिका पनि सार्वजनिक गरियो । तर, मत हाल्ने समय हुँदा नहुँदै एकाएक खबर बाहिरियो मनाङ ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङे संसदमा उपस्थित भएनन्। सांसद मनाङेसँगै बागलुङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘लापत्ता’ भए । सांसदहरू गाडी नै लिएर आफ्नो पार्टीका सांसद खोज्न निस्किए । करिब ३० मिनेटको दौडधुपपछि खबर आयो सांसद शाही अस्पताल भर्ना भए। अर्का सांसद दीपक मनाङे मनाङबासीको भावनाविपरीत नजाने भए । अर्थात् मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धमा नउत्रिने भए । सांसद मनाङेले यसअघि राष्ट्रिय जनमोर्चा जता उभिन्छ, आफू पनि त्यतै उभिने बताएका थिए । जनमोर्चाले अहिलेको सरकारको विरुद्धमा मत हाल्ने बताइसकेको अवस्थामा सांसद मनाङे पनि गुरुङ सरकारविरुद्ध उभिँदै थिए ।
सांसद बेपत्ता भएपछि जनमोर्चा नेतृ पियारी थापाले आफ्नो पार्टीको सांसद फेला नपुरुञ्जेल संसद् अघि नबढाउन माग राख्दै सभामुखलाई पत्र लेखिन् । सभामुख नेत्रनाथ अधिकारीले सांसद थापाको पत्र सदर गर्दैै अनिश्चितकालका लागि संसद स्थगित भएको घोषणा गरिदिए । सांसद शाहीका निजी सचिव मिलन हमालले फेसबुकमा स्टाटसमार्फत् सांसद शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन्। यद्यपि, उनलाई कुन रोग लागेको हो त्यो जानकारी गराएका छैनन् । यता अस्पतालका डाक्टर बद्री अधिकारीले सांसद शाहीलाई कोरोना संक्रमण भएको बताएका छन्। जबकि प्रदेश सभा सचिवालयमा सबै सांसदको कोरोना जाँच गर्दा शाहीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
‘हिजोसम्म ठिकै हुनुहुन्थ्यो। कोरोना पनि नेगेटिभ नै आएको हो,’ जनमोर्चाकी सांसद पियारी थापाले भनिन्, ‘बिहान त सम्पर्क भएन। अहिले चरक अस्पतालमा हुनुहुन्छ भन्ने सुन्नमा आयो मिडियामार्फत, उहाँसँग सम्पर्क भएको छैन ।’ यता राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले सांसद शाहीको स्वास्थ्य अवस्थाबारे आफू अनभिज्ञ रहेको बताए । ‘मलाई केही पनि थाहा छैन। चरकमा हुनुहुन्छ रे ! म त्यतै जाँदै छु,’ उनले भने ।
संसदीय प्रणालीमाथि नै प्रश्न उठ्यो !
जनताको मत प्राप्त सांसदहरूको यस्तो हर्कतले संसदीय प्रणाली नै फेल हुने अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको जिकिर छ। ‘संघ र यहाँको हेर्दा नेपालको लागि संसदीय प्रणाली नै फेल भए जस्तो अनुभूत भइरहेको छ। अहिलेको संविधानले बहुमतीय सरकार बनाउन दिँदैन। संविधानको बनोट यस्तो छ, यसले समावेशी सरकार बनाउनुपर्ने भन्छ,’ राजनीतिक विश्लेषक विश्वकल्याण पराजुलीले भने, ‘यो त हरूवाहरूले बनाएको संविधान हो। भन्नुको मतलब माओवादीले ०६४ सालमा बनाएको भए जित्नेले बनाएको हुन्थ्यो। ऊ पनि हार्यो, एमाले पनि हार्यो, राप्रपा पनि हार्यो, हरूवाहरूले ०७२ सालमा बनाएको संविधान हरूवाको संविधान हो। यिनले मेजुरिटीको कल्पनै गरेनन्। त्यसैले यस्तो संविधान बन्यो। यस्तो संविधान बन्नुको प्रतिफल हाम्रो सामुन्ने छ।’
संविधान ट्रयाकभन्दा बाहिर जाने खतरा बढेको उनले सुनाए। संघीय सरकार धरापमा रहेको खण्डमा प्रदेश सरकार जुनसुकै बेला ढल्न सक्ने उनले बताए। ‘सिस्टमै फेल हुन लागेको जस्तो लाग्छ। नेताहरूको विरुद्धमा सही कुरा कोही पनि बोल्न सक्दैन । संसदीय प्रजातन्त्र धरापमा गएको हो,’ उनले भने ।
जम्मा ६० सदस्य रहेको गण्डकी सरकारमा सत्तारुढ एमालेका २७ सांसद छन्। कांग्रेसका १५, माओवादी ११, जसपा २, जनमोर्चा ३ र स्वतन्त्र एक जना सांसद गण्डकीमा छन् । माओवादीबाट निर्वाचित सभामुख नेत्रनाथ अधिकारीलाइ मतदानकाे अधिकार नहुने भएकाले यसअघिको समीकरणअनुसार मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित हुन पुग्थ्यो । मतदान भएको खण्डमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आजै पदमुक्त हुन्थे ।
विशेष अधिवेशनले नाटकीय मोड लिन पुग्दा मुख्यमन्त्री गुरुङको सरकार जोगिएको छ ।