‘मेरियट वार्ता’ खासै उपलब्धि भएन, अझै पार्टी फुटको सम्भावना

काठमाडौँ । लामो तिक्तताबीच मेरियट होटलमा संवाद जारी राखेका बेला केपी शर्मा ओली र माधवकुमार नेपालको सार्वजनिक भएका दुई तस्बिरले एकाएक सहमतिको अड्कलबाजी बटुले, बिहीबार । होटलको माथिल्लो तलाको झ्यालबाट ओली र नेपालले सँगसँगै सहर चियाइरहेको तस्बिर थियो त्यो । जहाँ नेपालले हातले केही देखाउँदै गरेको देखिन्छ । ओली पछाडि हात राखेर केही हेरिरहेका देखिन्छन् । अर्को तस्बिरमा छुट्टाछुट्टै सोफामा बसिरहेका नेपाल मुस्कुराएका देखिन्छन् । ओली गम्भीर देखिन्छन् । योसँगै कतै उनीहरू सहमतिको लयमा पर्किएका त होइनन् ? सामाजिक सञ्जाल र सञ्चारकर्मीमा अड्कलबाजी तीव्र हुन्छ ।

अघिल्लो दिन सोही होटलमा तर फरक कोठामा करिब दुई घण्टाको वार्ता सफल नभएको पृष्ठभूमिमा यी तस्बिरलाई लिएर अड्कलबाजी बढ्नु स्वाभाविक मानिन्छ । तर, अघिल्लो दिनझैँ करिब दुई घण्टापछि वार्तास्थलबाट ओली चुपचाप बाहिरिन्छन् । सार्वजनिक स्थानमा ओलीको प्रतिक्रिया लिनु सञ्चारकर्मीका लागि दुर्लभ भएको त्यहाँबाट पनि पुष्टि हुन्थ्यो । त्यति नै बेला नेपाल वार्ताबाट बाहिरिन करिब ४५ मिनेट लगाउँछन् । अड्कलबाजीले फेरि ठाउँ लिन्छ, ‘कतै सहमति भयो कि? त्यसबारे विस्तृत जानकारी दिने तयारीमा नेपाल छन् कि?’

सञ्चारकर्मीलाई लामो प्रतीक्षामा पट्यार लागिरहेका बेला नेपाल झुल्किन्छन् तर, हतारहतार बाहिरिन खोजेका उनलाई सञ्चारकर्मीले घेर्छन् । उनी बोल्न बाध्य हुन्छन् । तर, एउटा वाक्य मात्रै, ‘हालसम्मको कुराकानीमा कुनै प्रगति भएको छैन ।’ वास्तवमा ओली–नेपालको दुई दिनमा भएको चार घण्टा लामो वार्ता ‘हात्ती आयो हात्ती आयो फुस्सा !’ भनेजस्तै भयो । ओली–नेपाल वार्ताको अघि–पछि सञ्चारकर्मीबीच देखिएर र नेपालसँग सँगै भएको तस्बिर सार्वजनिक गरेर वार्ताको सहजीकरण गरिरहेको सन्देश दिने प्रयासमा रहेका ओलीका आर्थिक सल्लाहकार मोती दुगडबाट पनि त्यो पुष्टि भयो ।

वार्ताको दर्शकदीर्घामा आफू बसिरहेको दाबी गर्ने दुगडले बुधबार ओली र नेपालको ‘बडी ल्याङग्वेज’ हेर्दा आफू आशावादी भएको बताएका थिए । बिहीबार भने उनको बोली फेरियो, ‘यत्रो ठूलो मुद्दा छ । घाउ पुरानो छ । त्यो एक–दुई वटा वार्तामा टुंगिँदैन । आज प्रगति भएन तर सकारात्मक वातावरण सिर्जना भएको छ ।’ २ चैतमा धुम्बाराही वार्तापछि ओली–नेपाल एकै ठाउँमा बस्न ३९ दिन लाग्यो । यो बीचमा ओलीले विधानविपरीत पार्टी र सरकारविरोधी क्रियाकलापको नेतृत्व गरेको आरोपसहित नेपाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निष्कासनको धम्कीसहित दुई पटक स्पष्टीकरण सोधिसकेका छन् । पछिल्लो स्पष्टीकरणको जवाफ बुझाइसकेपछि नेपाल ओलीसँग वार्तामा बसेका थिए बिहीबार ।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेमै फर्किएका नेपाल र उनको समूहले त्यसको ५ दिनपछि २८ फागुनमै ओलीसँग राजनीतिक सहयात्रा असम्भव ठानेका थिए । आ– आफ्नो सहभागिताबिना, विधानविपरीत आफूपक्षीय पदाधिकारीलाई जिम्मेवारविहीन बनाएको, पार्टीका सदस्य नै नभएकालाई केन्द्रीय कमिटी सदस्य बनाएको र विधान संशोधन गरेको आरोप नेपाल समूहले ओलीमाथि लगाएको थियो । त्यसपछिका ४२ दिन नेपाल समूहले ओलीविरुद्धको भेलाहरू मात्र तीव्र पारेन, देशव्यापी रूपमा समानान्तर कमिटी गठन गरेको छ । ओलीले पनि आफू र आफ्नो सरकार रक्षाका लागि नेपाल समूहका संघ र प्रदेशका गरी ३२ सांसदबाट हटाउने तयारीसाथ स्पष्टीकरण पत्र काटेको अवस्था छ ।

नेपाल समूहबाट स्पष्टीकरणको जवाफ पेस गर्ने क्रम जारी रहेका बेला ओली र नेपालबीच मेरियट होटलमा वार्ता भएको थियो । तर, उनीहरूबीच अविश्वासको खाडल यति विशाल भइसकेको छ कि त्यसलाई पुर्न अब असम्भवप्रायः देखिन्छ । ओलीसँगको वार्तापछि जनकपुर पुगेर सञ्चारकर्मीलाई ओलीसँगको बिहीबारको वार्ताले आफूहरू अझै एक कदम पछाडि धकलिएको सुनाउनुले त्यसको पुष्टि गर्छ । अबको वार्ता मिति टुंगो नलगाई नेपालसँग छुट्टिएका ओलीले शुक्रबार ‘महाधिवेशन आयोजक कमिटी’को बैठक तोकेका छन्, बालुवाटारमा ।

त्यसबाट ओलीले स्पष्टीकरण चित्त नबुझेको भन्दै नेपाल समूहका सांसदको पद खारेजी प्रक्रिया अगाडि बढाउने अड्कलबाजी तीव्र भएको छ । यसअघि ६ गतेको बैठकमा कर्णालीमा ‘फ्लोर क्रस’ गर्नेसहित नेपाल समूहलाई स्पष्टीकरण लिने निर्णय गरेका थिए ओलीले । शुक्रबारको बैठकमा यो समूहका नेताहरूले दिएको स्पष्टीकरणको विश्लेषणपछि निर्णय लिने जानकारी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । अर्कोतिर नेपाल समूहले आफूहरूमाथि सम्भावित कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालिसकेको छ । ओलीले यो समूहका नेताहरूलाई सांसद पदबाट हटाएकै दिन एमाले फुटको घोषणा हुने देखिन्छ र त्यो वैशाख १० अर्थात् भोलि नै हुने अनुमानहरू बढेका छन् ।