डढेलो नै वायु प्रदूषणको मुख्य कारक, नियन्‍त्रण गर्न हवाईजहाज र हेलिकप्टर प्रयोग गर्न निर्देशन

काठमाडौं । विगतका वर्षहरु भन्दा यसबर्ष नेपालमा वायु प्रदूषण अत्यधिक बढेको वातावरण विभागले जनाएको छ । प्रदूषण बढेपछि काठमाडौँ संसारकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । नेपालमा १४ गुणा बढी डढेलो लागेको कारण प्रदूषण अत्यधिक बढेको विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यको दृष्टिकोणले एयर क्वालिटी इन्डेक्स ५० भन्दा तल हुँदा मात्रै स्तरीय मानिन्छ । तर, यतिबेला नेपालको एयर क्वालिटी इन्डेक्स २ सय ६० भन्दा माथि छ । जुन वायु प्रदूषणको खतरनाक तह हो । गत महिनादेखिको तथ्याङ्क हेर्ने हो भने काठमाडौंमा वायुको गुणस्तर खतरनाक तह अर्थात् ३०० भन्दा उच्च देखिएको छ । लामो समयदेखि आकाशमा तुवाँलो देखिनु र मौसम स्थिर र खराब देखिनुको कारण हावा अत्यधिक प्रदुषित भएको हो ।

हिउँदे वर्षा अभावका कारण यो वर्ष पुस महिना अगावै डढेलो र आगलागी सुरु भएको थियो । अहिले काठमाडौं लगायत देशका मुख्य भागहरुमा समेत अत्यधिक वायु प्रदुषण छ । अहिले देखिएको अत्यधिक वायु प्रदूषणको कारण आगलागी र डढेलो नै भएको वातावरण विभागले जनाएको छ । ६ महिनाको तथ्याङ्क अनुसार ७३ जिल्लामा २,७०० डढेलोका घटना देखिएका छन् । नेपालमा प्रि–मनसुनको समय सुरु भइसकेपछि पनि यो वर्ष एकदमै न्यून वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना छैन ।
यसले गर्दा तत्काल वायु प्रदूषण कायमै रहन्छ ।

वायु प्रदूषणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने र दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या देखिने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् । वायु प्रदूषण नियन्त्रण गर्न फोहोर नजलाउने, पुराना सवारी साधन नचलाउने र न्यूनीकरणका लागि दीर्घकालीन पहल आवश्यक छ । वायु प्रदूषणबाट बच्न अत्यावश्यक नपरी घर बाहिर ननिस्किन र मास्कको प्रयोग अनिवार्य गर्न वातावरण बिभागको अनुरोध छ ।

डढेलो नियन्‍त्रण गर्न हवाईजहाज र हेलिकप्टर प्रयोग गर्न निर्देशन

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । रक्षामन्त्री समेत रहेका ओलीले बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा माठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताए ।

‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाई थियो । यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए । यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो । अहिलको आगलागीलाई गम्भिरता पुर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताए । अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको उनलेले यो स्वाभाविक नदेखिने समेत बताए । ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्रीको प्रश्न थियो ।

आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताए । ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्रीले भने । रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनाहरुमा सामान्यबाहेकका कुनै उल्लेखनीय समस्या नदेखिनु सुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, विस्कुट खाद्य पदार्थ आफै उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणा समेत राखे । आफै उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उनको थियो । तर त्यसरी तयार हुने पोशाक सितै होइन, परल मुल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइने हुनेपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।