नेपाल दक्षिण एशियाकै खुशी मुुलक, फिनल्यान्ड सबैभन्दा खुसी देश
काठमाडौं । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुशि देशहरुको सूचिमा नेपाल ८७ औं स्थानमा परेको छ ।नेपाल दक्षिण एसियाकै खुशि मुलुक घोषित भएको छ । राष्ट्रसंघले कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई सूचिकृत गरेको हो । नेपालले ५.२६९ स्कोर पनि प्राप्त गरेको छ । कूल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो । जस अनुसार नर्डिक मुलुक फिनल्यान्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशि मुलुकको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशि मुलुकको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुछारमा छ ।
छिमेकी मुलुक भारत १४४ औं स्थानमा छ । भारत नेपाल, बंगलादेश र पाकिस्तानभन्दा तल छ । उत्तरी छिमेकी मुलुक चीन नेपालभन्दा दुई स्थान माथि छ । सन् २०१९ मा नेपाल एकसय स्थानमा थियो । नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशि मुलुक बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशि हुने मुलुक बनेको थियो । सबैभन्दा बढी खुशि हुने मुलुकहरुमा नडिर्क देश अगाडि छन् । फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन् । उत्कृष्ट दसभित्र एसियाली मुलुक न्यूजिल्यान्ड अटाएको छ ।
अध्ययनमा सहभागि राष्ट्रसंघका जोन हेलीवेल भन्छन् –खुशि मुलुक भनेका ती हुन् जहाँका जनताले अपनत्व महसुस गर्छन् । जहाँ विश्वास र खुशि बाँडिन्छ र सार्वजनिक संस्थाप्रति भरोसा हुन्छ ।’ अध्ययनले मुस्लिमप्रतिको घृणा, बेरोजगारी र सामाजिक विश्रृंखलाको कारण केही मुलुक पछाडि परेको उल्लेख गरेको छ ।
फिनल्यान्ड सबैभन्दा खुसी देश
एजेन्सी । फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्यान्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरि नै कोरोना भाइरसको महामारी फैलिएपनि फिनल्यान्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।
एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुसी हुनेमा आइसल्यान्डका नागरिक परेका छन् । नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विट्जरल्यान्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।
सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्युजिल्यान्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजिल्यान्ड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८औँ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७औँ नम्मरमा रहेको जर्मनी यस पटक सातौँ क्रममा परेको छ ।
विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।