नेपाल सरकारले पिसिआर टेस्ट शुल्क घटायो भने पेट्रोलइयम पदार्थको मुल्य बढायो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो ।

यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गरिने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए ।

हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना सङ्क्रमितबाट निधन भएका छन् ।

आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो

नेपाल आयल निगमले एकै महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । माघ ६ गते मात्र पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको निगमले माघ २८ गते पुनः हवाइ इन्धन बाहेकका पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले स्वचालित मूल्य समायोजनको नाममा तीन सातामै प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइसकेको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ । मूल्य बृद्धिपछि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५.१६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ घाटा रहेको निगमको जिकिर छ । एक वर्षपछि ग्यासको पनि मूल्य बृद्धि गरेको हो ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुर्‍याएको छ । यसअघि २०७६ माघ २० गतेदेखि प्रति सिलिण्डर १३ सय ७५ रुपैयाँ खुद्रा मूल्य कायम गरिएको थियो। खाना पकाउने ग्यासमा निगमलाई प्रति सिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ । मूल्य बृद्धिपछि पनि निगमले हरेक १५ दिनमा ७३ करोड रुपैयाँ घाटा हुने दाबी गरेको छ। तर निगमले केही दिनअघिमात्रै पेट्रोल पम्पहरुको कमिसन रकम बढाएको थियो ।

नेपाल आयोगको प्रेस बिज्ञप्ति