ड्याम मर्मत गर्ने क्रममा फेवाताल सुक्यो, माटो फाल्न बिज्ञहरुको सुझाब

फेवा तालको ड्याम मर्मतका लागि यतिबेला फेवातालको जलाशय क्षेत्र घटाइएको छ । तालको नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले शनिबार ठूलो मात्रामा पानी घटाएको हो । पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ । पानीको सतह घटेको यही मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरुले सुझाएका छन् । ताललाई वर्षेनी सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराई बढाउन सकिने उनीहरुको भनाई छ । तालको माटो निकाल्ने यो नै गतिलो अवसर भएको विज्ञहरुले बताए । वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदीले जलचरलाई असर नपार्नेगरि माटो निकाल्न सकिने बताए ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यका अनुसार शनिबारदेखि ड्याम मर्मत गर्न थालिएको छ । त्यसका लागि तालको पानी घटाइएको हो । उनका अनुसार एकमहिना अवधि लगाएर ड्याम मर्मत गर्न थालिएको छ । ‘यसअघि ड्याममा सामान्य टालटुलका काम भएका हुन् । तर अहिले ठुलो रकम खर्चेर वृहत रुपमा ड्याम मर्मतसम्भार हुँदैछ,’ उनले भने, ‘चारदशक अवधिमा यत्तिको मर्मत पहिलोपटक गर्न थालिएको हो ।’

आचार्यका अनुसार २०३५ पछि यो फेवातालको ड्याम मर्मत भएको थिएन् । ‘अहिलेसम्मकै ठुलो मर्मतसम्भार गर्दैछौ । ड्यामको मुनिबाट पानी रसाएको थियो,’ आचार्यले भने, ‘समयमै मर्मत नगर्ने हो भने जोखिम हुन सक्छ भनेर ड्याम मर्मत गर्न थालिएको हो ।’ उनका अनुसार ड्यामको गेटको रबरसिल पनि फेरिनेछ । ‘रबर सिल पुरै बिग्रेको थियो । यसअघिका मर्मतसम्भार पनि रबरसिल फेरिएको थिएन । पानीको चुहावट बड्दै जाने जोखिम भएकोले मर्मत थालिएको हो,’ उनले भने । आचार्यका अनुसार ड्याम मर्मत गर्नका लागि मात्र एककरोड रुपैयाँ खर्च हुँदैछ । पानी घटाएपछि तालको जलाशय क्षेत्र खालि भएको छ । तालको पानी घटाउँदा डुंगा व्यवसायी भने प्रभावित भएका छन् । डुंगा चढ्न जानेहरु पनि हिलो हुँदै आउजाउ गर्नुपरेको छ । पानी कम भएको मौका पारेर स्थानीयले शनिबार हिलो क्षेत्रमा माछा मारिरहेका थिए ।

पहिलो पटक २०१७ सालमा फेवातालमा बाँध बाध्न थालिएको थियो । त्यो बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिईरहेकोमा २०३१ मा बाँध भत्किएको थियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर तालको जग्गा अतिक्रमण गरिएको यसअघिका अध्ययन प्रतिवेदनले औल्याएका छन् । तालको पानी घटेको बेला कमाई गरेको आधारमा व्यक्तिका नाममा जग्गा दर्ता गरिएको थियो । ताल सुकेको मौका पारेर २०३३ सम्म केहीले तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेको पनि प्रतिवेदनले बताएका छन् । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको हो ।

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिले क्षेत्रफल करिब ४.२ वर्गकिलोमिटर भनिएको छ । यो क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन भएको छैन ।

ताल बाराही क्षेत्र

र यो पनि

फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो । पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए ।

‘आज (शनिबार) पहिलो चरणमा बाँध खोलेर केही पानी घटायौं, साँझ बाँध बन्द गर्छौं,’ उनले भने, ‘भोलि बिहान फेरि पानीको मात्रा हेरिसकेपछि पानी घटाउने या के गर्ने थाहा हुन्छ ।’ उनले पानीको मात्रा बढीमा २ मिटरसम्ममात्रै घटाउने लक्ष्य रहेको जानकारी दिए । आचार्यले पानीको मात्रा घटिसकेपछि बाँध बन्द गरिने र फेरि पानीको मात्रा सुरुकै अवस्थामा फर्किने जानकारी दिए । ‘बाँध बाँधेपछि फेरि पानी भरिन थाल्छ । समस्या पर्दैन,’ उनले भने । उनले बाँध तथा नहर मर्मत सम्भार गर्न भने १ महिना लाग्ने जानकारी दिए ।

फेवाताल सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले फेवातालको पानीको मात्रा बाँध तथा नहर मर्मतका लागिमात्रै घटाइएकाले सीमांकनमा कुनै असर नपर्ने बताए । उनले भने, ‘पानी घटेपछि पनि फेरि केही दिनमै पुरानै स्वरुपमा फर्किन्छ । यसले नक्सांकनमा कुनै असर गर्दैन ।’

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । जसमध्ये १ करोड रुपैयाँ बाँध मर्मतका लागि र १ करोड रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन् । यसअघि सानो आकारमा सामान्य रुपमा ड्याममा मर्मतसम्भार गरेपनि अहिले गर्न थालिएजस्तो वृहत मर्मत भएको थिएन ।