नेपाली सेनामा पहिलो पटक महिलाले जंगल वारफेयर तालिम सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली सेनामा पहिलो पटक महिलाले जंगल वारफेयर तालिम सफलतापूर्वक सम्पन्न गरेकी छन् । अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सम्पन्न गरेकी हुन । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक मुख्यालयले जनाएको छ । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्रतिआतंकवाद क्षमता अभिवृद्धि गर्न जंगल युद्धकला तालिम अति महत्वपूर्ण अंग मानिन्छ । नेपाली सेनाद्वारा कलैयामा सञ्चालित प्रतिविद्रोह तथा जंगल ‘वारफेयर’ मा सिपाही थापाले तालिम पुरा गरेकी हुन् । प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा १८ कात्तिक देखि माघसम्म तालिम संचालन भएको थियो। सिपाही राधिका यसै शिक्षालयमा कार्यरत रहेकी थिइन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ थापाटोल बस्ने भिमबहादुर थापाको नातिनी, पूर्ण बहादुर थापाको छोरी सिपाही राधिका थापा १५ असार २०६९ मा सैनिक सेवा प्रवेश गरेकी थिइन । उनी सैन्य तलिमपछि २४ जेठ २०७० बाट शिक्षालयमा कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राधिकाले उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग गर्ने प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरि साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सेनाले जनाएको छ । तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, जंगलमा बाच्ने कला तथा सर्पदंश ब्यवस्थापन लगायत बिभिन्न सैनिक ज्ञान र सीपहरु सिकाइन्छ ।

सेनामा पहिलो रेकर्ड राख्ने महिलाहरू
जंगी अड्डाका अनुसार उनीबाहेक ६ जना महिलाले नेपाली सेनाको इतिहासमा पहिलो भएको रेकर्ड राखेका छन् । ०२६ सालमा प्राविधिक सहायक सेनानी अन्नपूर्ण कुँवर (सैनिक उपचारिका)ले पहिलोपटक प्यारा जम्प गरेकी थिइन् । ०५६ सालमा उपसेनानी डाक्टर सरिता केसीले महिला सैनिक परिचारिकाहरूसहित पहिलोपटक लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने पहिलो महिला अधिकृतको रेकर्ड कायम गरेकी छिन् ।

यसैगरी, ०७२ सालमा सहसेनानी कृति राजभण्डारी दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा लियाजन अधिकृतका रूपमा सहभागी भएकी थिइन् । ०७४ सालमा सेनानी सृष्टि खड्काले महिला सैनिकहरूको पहिलो युनिट गोरखकाली गुल्मको पहिलो गुल्मपतिका रूपमा रेकर्ड कायम गरेकी छन् । सोही वर्ष सेनानी गीता गुरुङ संयुक्त राष्ट्रसंघीय डिस्इन्गेजमेन्ट अब्जर्भर युनिटको पहिलो युनिट कमान्डरका रूपमा गएकी थिइन् ।

०७५ सालमा सेनानी सुलोचना पौडेल सैनिक कमान्ड तथा स्टाफ तालिम सम्पन्न गर्ने पहिलो महिला अधिकृत हुन् । उनले सि.सं. २५ मा उक्त तालिम गरेकी हुन् । त्यसपछि सञ्चालन भएको सि.सं. २६ मा कोही छनोट भएन । सेनाका अनुसार हाल सञ्चालनरत सि.सं. २७ मा भने चारजना महिला अधिकृतहरू छनोट भएर तालिमरत छन् ।