आफ्नै गाउलाई चिनाउने पुस्तक- “ताङतिङ मेरो गाउ” प्रकाशित

आफ्नो समकक्षी मित्रहरुको प्रभाबमा नपरी वा लहलहै नलागी, अभिभाबको चाहना बिरुध्द र कथाकथित गुरुङ समाजमा रहेको लाहुरे प्रचलनलाई नपछ्याइ आफ्नै गाउठाउको बिकासमा (बिशेष गरेर शिक्षाको बिकासमा) लागि परेका स्थानीय स्कुलको प्रधानध्यापक ओम प्रकाश गुरुङले आफ्नो जीवन र गाउले पारीबेशसँग सम्बन्धित बिभिन्न अनुभबहरुको सँगालो “ताङतिङ मेरो गाउ” नामक सस्मरणात्मक र प्रेरणादायी पुस्तक प्रकाशन गरेको छ । र्यटकीय नगरी पोखरा नजिकैको ग्रामीण पर्यटन केन्द्र ताङतिङलाई चिनाउने धेय र आफ्नो अनुभबहरुलाई प्रेरणाको रुपमा पस्केका गुरुङको पुस्तक नेपालको ग्रामीण क्षेत्रहरुमा उहा जस्तै कर्मठ शिक्षकहरु र युवाहरुको लागि प्रेरणा स्रोत बन्न सक्छ ।

पुस्तकमा ताङतिङको प्रकृति, संस्कृति, जीवनशैली, विकासक्रम र जनजीवनका विषयमा लेखिएका तीस ओटा निबन्ध छन् । उनले लाहुरे संस्कृति, ग्रामीण जीवनका सुखदुःख र गाउँ विकासका कथा सरल भाषामा मिहिन ढंगले उठान गरेका छन् । आफ्नो श्रम, सीप र विवेकबाट स्वदेशमै सुन फलाउन सक्रिय गुरुङको जीवनकथा प्रेरणादायी छ । उनको कथा पढ्दै जाँदा समग्र ताङतिङको चिनारी सँगै गुरुङ संस्कृतिको सुवासमा रमाउन सकिन्छ।

पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुनेमा राजनैतिक विश्लेषक एवं लेखक झलक सुवेदी आशावादी छन् । पुस्तकमा उनले लेखेका छन्, ‘यो पुस्तक मादी गाउँपालिकाका विद्यालयको सामाजिक शिक्षा विषयमा रिफ्रेन्स बुकका रुपमा अध्ययन गर्न लगाउनु एकदमै राम्रो हुन्छ । यो नयाँ पुस्ताका लागि प्रेरणादायी पुस्तक बन्नेमा म विश्वस्त छु।’

पुस्तकमा समेटिएका गुरुङका यी निबन्धहरू नागरिकन्यूज डटकम र सेतोपाटीको नेपाली ब्राण्ड सहित विभिन्न डिजिटल पत्रिकामा प्रकाशित भैसकेका छन् । यस पुस्तकको सम्पादन पत्रकार अमृत भादगाउँलेले गरेका हुन् । पुस्तकमा भादगाउँले लेख्छन्, ‘हरेक गाउँमा ओमप्रकाश जस्ता एकएक जना सामाजिक अभियन्ता भइदिए मात्र पनि हाम्रो समाजले छिट्टै फड्को मार्न सक्छ ।’

पोखरामा छिट्टै पुस्तकको विमोचन गर्ने योजना रहेको कुरा गुरुङले बताए । ‘ताङतिङ मेरो गाउँ’ उनको पहिलो कृति हो । यस पुस्तकको प्रकाशक नेत्रकुमारी गुरुङ हुन् । पुस्तकको अन्तिम खण्डमा रंगीन तस्बिरहरू समेटिएको छ । यसको पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ ।

स्रोत- अन्नपूर्ण पोस्ट