ब्रेक्जिटपछि पनि व्यापार वार्ता जारी राख्न ईयू र ब्रिटेन सहमत
युरोपेली संघ र ब्रिटेनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्ने विषयमा सहमति भएको छ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले “अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको” बताएका छन् । दुवै जना बीच ‘सुल्झिन बाँकी केही मुद्दा’ मा पनि कुराकानी भएको छ । यो साताको सुरुमा जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर आइतवारसम्मको समय तय गरेका थिए । यद्यपि ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतवारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएका थिए । दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै उनीहरूले ब्रसल्समा रहेका वार्ताकारलाई “ढिलै भए पनि सहमतिमा पुग्न सकिन्छ कि हेर्न” भनेका छन् । ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ । ३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ । यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे ब्रिटेनसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो । ती योजनाहरूमा युके र युरोपेली संघ ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् । युकेले यो वर्षको ज्यानुअरीमै युरोपेली संघ छोडेको थियो तर सम्झौतामा सहमत हुनका लागि वार्ता गर्ने प्रयास स्वरुप दुई पक्षलाई ११ महिनाको सङ्क्रमणकालीन समय दिइएको थियो । आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आएकी छन् । यदि सम्झौता हुन नसकेको खण्डमा महत्त्वपूर्ण सेवाहरूमा असर नपरोस् भनेर चारवटा आकस्मिक उपायहरू प्रस्ताव गरिएका थिए । फोन डेर लायनले शनिवार जोनसनसँगको कुराकानी “रचनात्मक र उपयोगी” भएको बताएकी छन् ।
स्रोत- बि.बि.सी नेपाली