माधवकुमार नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघिल्लो दिन अर्थात् बैशाख २६ मै माधवकुमार नेपाल समूहले सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेको छ । ‘रातभरि र भोलि बिहान स्थायी समितिले कारणवश तल-माथि निर्णय लिएन भने ९९ प्रतिशत राजीनामा दिने तयारीमा छौं’ एमालेका नेता तथा सांसद विरोध खतिवडाले शनिवार इंगित गरेको छ । ‘रातभरिमा फरक स्थिति बन्ने सम्भावना न्यून भएको हुँदा सम्भवतः भोलि हामी पूर्व सांसद बन्छौं होला ।’
शनिवार ओली इतर समूहका प्रतिनिधि सभा सदस्यहरूको बैठक बसेको थियो । जहाँ माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालसहित प्रतिनिधि सभाका सदस्यहरू सामेल थिए । यसबीचमा तह-तहमा भएका वार्तामा संसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीसँग सहमति बन्न नसकेपछि उनीहरू राजीनामा दिने तयारीमा पुगेका हुन् । तर, खतिवडाले राजीनामा दिने सांसदको संख्या खुलाएनन् ।
केही नेता राजधानीबाहिर र कोही विरामी भएका कारण संख्या यकिन नभएको हो । खतिवडाका अनुसार, आइतबार बिहान स्थायी कमिटिको बैठक बस्ने तय भइसकेको छ । दिउँसो २ बजेपछि व्यक्तिगत रूपमा राजीनामा दिने अनौपचारिक निर्णय भएको छ । राजीनामा व्यक्तिगत भए पनि राजीनामा बुझाउँदा सामूहिक रूपमा जानेछन् ।
कानुनतः राजीनामा चाहिँ व्यक्तिगत रुपमा सभामुखलाई बुझाउनुपर्ने हुन्छ । त्यसपछि दलको नेतालाई सामूहिक रुपमा राजीनामा दिनुको कारण खुलाउँदै पत्र बुझाउने योजना छन् । त्यसमा चाहिँ ओलीबाट यावत् क्रियाकलापको फेहरिस्त उल्लेख हुनेछ ।
संसदमा सँगै बस्न नसक्नुमा प्रधानमन्त्री ओली जिम्मेवार भएको ठहर्याउँदै ओलीलाई नै पत्र बुझाउनेछन् । पहिला दलका नेता र त्यसपछि पार्टी अध्यक्षलाई राजीनामा दिनुको कारण उल्लेख गर्दै पत्र बुझाउने तयारी छ । तर, एमालेमा पार्टी अध्यक्ष र संसदीय दलका नेता ओली एकै व्यक्ति हुन् । व्यक्ति एकै भए पनि पार्टी र दल फरक हुन् । दलका नेता र अध्यक्षलाई सामूहिक पत्र बुझाउने योजना छ ।
खनाल–नेपाल पक्षका सांसद राजीनामाको तयारीमा, केहीको हस्ताक्षर संकलन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिने अघिल्लो दिन एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरुले राजीनामा गर्ने तयारी गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाल पक्ष राजीनामा गरेर संसदबाट बाहिरिने तयारी गरेको हो । खनाल नेपाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा गर्ने तयारी गरेको राजीनामाको तयारीमा रहेका एक प्रत्यक्ष निर्वाचित सांसदले जानकारी दिए । प्रत्यक्ष निर्वाचित २२ सहित नेपाल पक्षमा ३० बढी सांसद रहेको बताइन्छ । प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । ‘संसदमा उपस्थित भएर भोट नहाल्नु भन्दा राजीनामा गर्नु उपयुक्त हुने निष्कर्षमा पुग्यौं, भोलि दिउँसोसम्म राजीनामा गछौं’ नेपाल पक्षीय सांसदले शनिवार लोकान्तरसँग भने ।
संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत पुग्न नदिने र ओलीलाई विस्थापित गर्ने योजना अनुसार खनाल नेपाल पक्ष सामूहिक राजीनामा गर्ने निष्कर्षमा पुगेको हो । नेपाली कांग्रेस र माओवादीसँग नेपाल पक्षले राजीनामा गरेर संसदमा बहुमत पुर्याइदिने बचन दिएको थियो । नेकपा एकता भंग भएपछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने आफूहरुको माग सुन्न पार्टी अध्यक्ष ओली सहमत नभएपछि आफूहरु राजीनामा गर्ने निष्कर्षमा पुगेको ती नेताले बताए । सांसदहरुले आइतवार दिउसो छुट्टा छुट्टै राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । त्यसअघि खनाल नेपाल समूहको बैठक बिहान बस्ने भएको छ । ‘रातभरीमा चमत्कार भएन भने भोलि हामी राजीनामाको अप्रिय स्थितीमा पुग्दैछौँ’ नेपाल पक्षीय सांसदले भने ।
प्रत्यक्ष निर्वाचित सांसदसहित स्पष्टिकरण सोधिएका केही समानुपातिक सांसदहरुले पनि राजीनामाको तयारी गरेको स्रोतले बतायो । नेपाल पक्षका अधिकांश प्रत्यक्ष निर्वाचित सांसदले शनिवार नै राजीनामा पत्र नेता नेपाललाई बुझाएका छन् । नेपाल पक्षका सांसदले राजीनामा गरेपछि जसपाको एउटा पक्षले समर्थन गरेपनि ओलीको पक्षमा संसदमा बहुमत पुग्दैन ।
राजीनामा गर्नुअघि नेपाल पक्षका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए । आफ्नो पक्षका सांसदको राजीनामा बारे नेपालले बिहीवार पनि देउवासँग परामर्श गरेका थिए । खनाल नेपाल पक्षका २० सांसदले राजीनामा गर्दा प्रतिनिधि सभाको समीकरणमा फेरबदल आउने देखिन्छ । २० सांसदको पद खारेज भयो भने संसदमा बहुमत पुर्याउन १२६ सांसद भए पुग्छ । झलनाथ खनाल, माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, पार्वती निरौला खरेल लगायत सांसद प्रत्यक्ष निर्वाचित सांसद हुन् ।