आलोचनाको बाबजुद पनि एमाले विवादमा राष्ट्रपतिको सक्रियता

काठमाडौं । कोरोना महामारीसँग नागरिक जुधिरेहका बेला सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा बन्नुपर्ने हो । तर, विडम्बना भन्नुपर्छ, प्रधानमन्त्री केपी ओलीलाई संसदमा विश्वासको मत टेस्ट गर्न मन लागेपछि एकाएक कोरोना नियन्त्रणको विषय विषयान्तर भएको छ । प्रधानमन्त्री ओली मात्र होइन पछिल्लो राजनीतिक गतिविधिमा शीतल निवाससमेत व्यस्त हुन पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री ओलीले सातामा कतिपटक शितल निवास पुगेर भेटघाट गर्नुपर्ने हो ? कुनै नियममा तोकिएको छ कि ? केही दिनदेखि प्रम ओली बिहान, दिउँसो, साँझ, राति चारै प्रहर शितल निवास धाइरहेका छन् ।

कतै उत्तर र दक्षिणका छिमेकीसँग सामरिक विवाद त बढेको होइन ? वरिष्ठ पत्रकार किशोर नेपालले बिहीबार गर्नुभएको ट्वीट हो योे । नेपालले आफ्नो ट्वीटर ह्यान्डलमा यस्तो लेखिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार मात्रै राष्ट्रपति भेट्न शितल निवास दोस्रोपटक पुग्नुभएको थियो ।उसो त, पार्टीभित्र अप्ठ्यारो पर्दा र विपक्षीहरुले घेराबन्दी गर्न थालेपछि प्रधानमन्त्रीको शितल निवास आउजाउ बढ्ने गरेको छ । विश्लेषकहरु नेपालमा राष्ट्रपति संस्था स्थापना भएको दशक वितिसक्दा पनि अझै त्यो संस्थाले कसरी काम गर्ने स्थापीत हुन नसकेको बताउँछन् ।

कुनै पनि पार्टीको आन्तरिक विवादको विषयमा राष्ट्रपति पर्नु नहुने विश्लेषकहरुको मत छ । सामान्यतया सरकार प्रमुख र राष्ट्रप्रमुखबीच भेट हुनु स्वभाविक विषय हो । राष्ट्रिय संकट आउँदा वा ठूलै राजनीतिक परिवर्तनको अवस्थामा उनिहरुबिच पटक पटक भेट हुनसक्छ । हुन त नेपालमा पनि अहिले कोरोना महामारीका कारण देश ठूलै संकटमा छ । तर, विहीबार एकै दिन भएको दुई पटकको भेट कोरोना महामारीका विषयमा भन्दा नेकपा एमालेभित्रको आन्तरिक विवादमा केन्द्रित रहेको बताइन्छ । ओलीलगत्तै नेकपा एमालेभित्रैको असन्तुष्ट समूहका नेता माधव नेपाल शितल निवास पुग्नु र त्यसलगत्तै ओली पनि सोही बैठकमा मिसिनुले एमालेभित्रैको मतभेदको विषयले स्थान पाएको देखिन्छ ।

करिब करिब बोलचान नै बन्दको अवस्थामा रहेका ओली र नेपालले छलफलका लागि राष्ट्रपतिको मध्यस्थता खोजेको हुनसक्ने राजनीतिका जानकारहरु बताउँछन् । यसअघि पनि एमालेभित्रको विवाद मिलाउन राष्ट्रपतिको सक्रियता भएको भन्दै आलोचना नभंको होइन । तर, राष्ट्रपति कार्यालय भने यस्तो आरोप अस्वीकार गर्छ ।

राष्ट्रपति कार्यालय आम नागरिकको आशाको केन्द्र पनि हो । सरकार जनताप्रति जवाफदेही नभए उसलाई जिम्मेवार बनाउने भूमिका राष्ट्रपति कार्यालयसँग अपेक्षित हुन्छ । कोरोना महामारीको विषम अवस्थामा काम नभइरहँदा त्यसबारे राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीसँग चासो राखेको हो भने सो भेट स्वभाविक नै मान्नुपर्ने हुन्छ । तर, जब जब एमालेभित्र विवाद हुन्छ, ओली नेतृत्वको सरकार संकटमा पर्छ त्यतीबेला देखिने सक्रियतालाई भने कतिपयले अस्वभाविक ठान्ने गरेका छन् ।