पशुपती अर्याघाटमा थपिदैछन शबहरु

प्रतिभा चन्द ।

स्थलगत रिपोर्टिङ, काठमाण्डौ ।

दिउँसोको ३ बज्नै लाग्दा पशुपति क्षेत्रलगायत आसपासमा स–साना पानीका छिटा आकाशबाट झरिरहेका थिए । मौसम हेर्दा लागिरहेको थियो, कसैको दुःखमा सामेल भइरहेको छ। सायद कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकाहरूप्रति । शनिबार कोरोना भाइरस संक्रमणका कारण आफ्ना प्रिय व्यक्ति गुमाएका आफन्तको मनजस्तै अँध्यारिएको थियो मौसम पनि । पशुपतिस्थित विद्युतीय शवदाहअगाडि उभिरहेका एक झुण्ड मानिसहरूजस्तै । शवदाहको प्रांगणमा दुई वटा शववाहन रोकिएका थिए । अनि शव वाहनसँगै सेनाका गाडी पनि । गाडीका छेउमा सेतो पीपीई सेट लगाएका ८ जना उभिरहेका थिए । उभिरहेका उनीहरूलाई पोसाकमा भएका सेनाले केही निर्देशन दिइरहेका थिए । गेट लगाइएको थियो। मृतकका आफन्त गेटबाहिर उभिरहेका थिए। कोहीका हातमा पुष्पगुच्छा थिए। कोहीका हातमा अबिर र माला। कोहीका हातमा धुप त कोहीका हातमा खादा थिए ।

आफन्तलाई अन्तिम पल्ट बिदाइका हात हल्लाउन पशुपति पुगेका धेरैका आँखा रसाइरहेका थिए । सक्ने सम्हालिरहेका थिए । अनि आँट गरेर आफन्तलाई सम्झाइरहेका थिए । विभिन्न अस्पतालमा संक्रमणबाट मृत्यु भएकाहरूको शव सेनाको टोलीले अन्तिम संस्कारका लागि पशुपतिको शवदाह गृहमा पुर्‍याएको थियो । हाकिमले दिएको निर्देशन पालना गर्दै शव निकाल्ने तयारी गरे । आफन्तको अन्तिम संस्कारमा सामेल भएकाहरूसामु एकपछि अर्को गर्दै सेनाले लस्करै चार वटा शव राख्यो। कुन शव कसको भन्ने गेटबाहिर उभिरहेका आफन्तलाई ठम्याउन गाह्रो भइरहेको थियो । कुन शवमाथि आफूले ल्याएका पुष्पगुच्छा अन्तिम पल्ट चढाउने उनीहरू अन्योलमै थिए । उनीहरूको अन्योललाई हटाउँदै सेनाले मृतकको नाम लिँदै आफन्तलाई अगाडि बोलायो। अन्तिम पल्ट चढाउन ल्याइएका सामग्री मागे । र, शवमाथि राखिदिए । यही क्रम ८ पटक चल्यो । पछिल्ला केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै सेनाले एकै पटक चार वटा शव उठाउने गरेको छ । यसभन्दा अगाडि अर्थात् संक्रमणको पहिलो लहरमा एक पटकमा एउटा शव उठाउने गरिएको थियो ।

मृत्यु हुनेको संख्या बढेपछि शव उठाउन धेरै चाप भएपछि एकै पटकमा चार वटा शव उठाउन थालिएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाको तथ्यांकअनुसार शनिबार मात्रै विभिन्न अस्पताल र होमआइसोलेसनमा गरी २३ वटा शव शवदाहमा पुर्‍याइएको थियो । पछिल्लो केही सातायता संक्रमण दर ह्वात्तै बढेको छ। दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरिरहेको छ । संक्रमण दर बढेसँगै मृत्यु हुनेको संख्या दोहोरो नम्बरमा पुगेको छ ।

शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदै गर्दा १९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । तिनै १९ जनामध्ये थिए, भोजपुरका ८६ वर्षका सर्किधन राई, शन्तिनगरकी ७५ वर्षीया चिजमाया कोजु र तनहुँकी ४३ वर्षीया शारदा पौडेल ।

सर्किधन राई २० दिनअगाडि रूखबाट लडे । टाउकामा चोट लाग्यो । उनलाई भोजपुरबाट उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइयो। उपचार गरियो। उनी निको हुँदै थिए । अस्पतालले उनलाई डिस्चार्ज गरिदियो । घर फर्केको दुई दिनपछि राईलाई ज्वरो आयो । भर्खरै अस्पतालबाट फर्केका राईलाई ज्वरो आएपछि उनका छोरी–ज्वाइँले फेरि नर्भिक नै पुर्‍याए । अस्पतालले पीसीआर परीक्षण गर्‍यो । रिपोर्ट पोजेटिभ आएपछि संक्रमितलाई राख्न बेड खाली नभएको भन्दै रिफर गरिदियो । राईको उपचारका लागि उनको परिवारले उनलाई सिनामंगलस्थित केएमसी (काठमाडौँ मेडिकल कलेज) पुर्‍यायो । सात दिनदेखि उपचाररत राईको शुक्रबार साँझ मृत्यु भयो । राईलाई अस्पताल बसाइकै क्रममा संक्रमण भएको हुनुपर्ने अनुमान उनको परिवारले लगाएको छ । ‘अस्पतालबाट घर फर्किएपछि उहाँलाई ज्वरो आएको थियो। टाउकामा लागेको चोट त उहाँको बिसेक हुँदै थियो’, अन्तिम संस्कारमा पुगेका राईका ज्वाइँले भने ।

यस्तै १७ दिनअगाडि चिजमाया कोजुलाई श्वास फेर्न गाह्रो भयो । उनी पहिल्यैबाट दमको बिरामी थिइन् । जसले गर्दा उनको परिवारले उनलाई केएमसी अस्पताल पुर्‍यायो । केही दिनको अस्पताल बसाइपछि कोजुलाई निको भएजस्तो भयो । उनको परिवारले उनलाई अस्पतालबाट घर लग्यो । घर पुगेको दुई–तीन दिनपछि कोजुलाई फेरि समस्या देखियो । उनको परिवारले फेरि उनलाई केएमसीमै पुर्‍याए । अस्पतालले उनको पीसीआर परीक्षण गर्‍यो। रिपोर्ट नेगेटिभ आयो । अस्पताल भर्ना भएकी उनको उपचार भइरहेको थियो । तर, शनिबार बिहानै उनले देह त्यागिन्। अस्पतालले मृत्युपछि नमुना संकलन गरी परीक्षण गर्‍यो । अन्ततः रिपोर्ट पोजेटिभ आयो । पहिल्यैदेखि दीर्घ रोगी भएका उनी कुन बेला संक्रमित भइन् भन्ने पत्तो नपाएको कोजुका देवरले बताए । उनले भने, ‘भाउजूलाई धेरै अगाडिबाट दम थियो। त्यसैले पनि संक्रमण चाँडो भयो र मृत्यु पनि।’

राई र कोजुजस्तै अन्य बिरामी लिएर सिभिल अस्पताल पुगेकी थिइन्, शारदा पौडेल पनि । केही वर्षअगाडि उनलाई स्तन क्यान्सर भएको थियो । उपचारपछि स्तन क्यान्सर निको भयो । अहिले फेरि उनलाई ब्लड क्यान्सर भयो। त्यसैको उपचारका लागि ७ दिनअगाडि सिभिल अस्पताल पगेकी थिइन्, उनी। उनको उपचार हुँदै थियो । स्वास्थ्यमा अन्य समस्या पनि देखिन थालेपछि पीसीआर परीक्षण गरियो । परीक्षणपछि शारदाको रिपोर्ट पोजेटिभ आएको थियो । तर, उनले शनिबार बिहानै मृत्युलाई रोजिन्। र, सदा–सदाका लागि बिदा भइन् ।

संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो समय अस्पताल भरिएका छन् । बिरामीले बेड पाउन छाडेका छन्। बेडका लागि पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा एकबाट अर्कोमा संक्रमण सर्ने सम्भावना उच्च छ। अस्पतालमै संक्रमणको जोखिम बढेको छ । निको हुन अस्पताल पुग्नेहरू अस्पतालमै संक्रमित भएर ज्यानसमेत गुमाउनुपरेको छ। यो अवस्थामा व्यवस्थापनमा ध्यान दिनुपर्ने सरकारले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै हात उठाइसकेको छ । संक्रमण दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेसँगै सर्वसाधारणलाई आफ्नो सुरक्षा आफैँ गर्न अनुरोधसमेत गरेको छ। संक्रमणबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गर्दै आएको छ ।

स्रोत- देशसन्चार