मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने

काठमाडाैँ । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ । २०५१ मा मध्यावधि चुनावताका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ भन्दै वाचा गरेका थिए । वि.सं. २०५८/५९ देखि आयोजना निर्माण थालिएपनि निरन्तर ढिलाई र भ्रष्टाचार गर्दै काठमाडौं उपत्यकाका नागरिकलाई आशाको अंकुशमा उनिरहेको राज्यसंयन्त्रले बल्लतल्ल, झण्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो ।

परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खत्रीले बताउनुभयो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ । पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।

सुरुङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌ । ​सिन्धुपाल्चोकबाट सुरुङमार्फत पठाइएको पानी झार्न तयार पारिएको स्थान सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको छ ।

सुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाडिएको छ । गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच तथा मर्मत गरी अहिले पानी पठाइएको हो ।