के डा. हर्क गुरुङलाई पहिल्यै मृत्युको आभास थियो ?

डा गणेश गुरुङ ।

२२ पौष २०७७ साल ।

२३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको देहान्त भयो। जसमा, नेपाल र अन्तर्राष्ट्रिय जगतमै ख्याती कमाएका दुई संरक्षणविद् पनि थिए।  एक थिए, भूगोल विषयमा विद्यावारिधी गर्ने पहिलो नेपाली हर्क गुरुङ। र, अर्का डा.चन्द्र गुरुङ । 

यो दुर्घटनाको १४ वर्ष पूरा भइसकेको छ। तर, डा. हर्क गुरुङ बारे नेपाली समाज र खासगरी बौद्धिक वर्गमा चर्चा, परिचर्चा भइरहेकै छ। यसो हुनुमा उहाँले छोडेर जानु भएका विचारहरू नै हुन्। जसले अहिले पनि तातो बहसको विषय बन्ने सामथ्र्य राख्छ । चाहे त्यो प्रादेशिक विकास बारे होस् वा पर्यटन वा पिछडिएको वर्ग वा भूगोल । 

विगत १४ वर्षमा डा.गुरुङ बारे विभिन्न पक्ष, दृष्टिकोणबाट थुप्रै लेख, निधनालेख लेखिए । त्यसमध्ये प्रा. पिताम्बर शर्मा र प्रा. डिल्लीराम दाहालद्वारा लेखिएका लेख विशेष उल्लेखनीय छन्। 

२३ सेप्टेम्बरमा गुरुङको निधनको दिन उहाँको स्मृतिमा विभिन्न कार्यक्रमहरू गरिन्छन् । उहाँका योगदानबारे अनेक कोणबाट विवेचना गरिन्छ । तर, यो लेख उहाँका विचार/पुस्तकलेख/अनुसन्धान बारे नभई उहाँको देहान्त हुनुभन्दा केही समय अगाडिदेखिको उहाँको जीवन र देहान्तबीचको सम्बन्धमा आधारित लेख हो । तपाईं यसलाई संयोग पनि मान्न सक्नुहुन्छ, वा पंक्तिकारको निधनपश्चातको घटनाक्रम विश्लेषण ।

यहाँ पाँच प्रसंग प्रस्तुत गरिएको छ, जसका आधारमा आशंका गर्न सकिन्छ, डा. गुरुङलाई आफ्नो सन्निकट मृत्युको आभास पक्कै भएकै हुनुपर्छ । 

पहिलो
डा. गुरुङको जन्म जनवरी ५ १९३५ मा भएको थियो (कतै कतै उहाँको जन्म सन् १९३९ मा भएको पनि उल्लेख छ) ।१९३५ को हिसाबले उहाँ देहान्त हुँदा ७१ वर्ष पुग्नुभएको थियो। उहाँ नियमितजसो टेनिस खेल्नुहुन्थ्यो । स्वास्थ्यको कुनै खाले शिकायत थिएन। 

तर, मृत्युको केही अघि उहाँले आफ्नो गाउँ तराँचे, लमजुङ पुगेर भाईछोराहरूसँगको सल्लाहमा मन परेको ठाउँमा एक टुक्रा जमिन खरीद गर्नुभयो। जमिन खरीदमा उहाँको मनसाय रहेछ– मृत्युपछि आफ्नो शव यही समाधिस्थ गरियोस् । 

जमिन किनेर काठमाडौं फर्किएपछिको उहाँको अनुहार प्रशन्न देखिन्थ्यो । उहाँ आफ्ना साथीभाई र आफन्तलाई आफू मरेपछि ‘त्यही गाड्नु है’ भनिरहनुहुन्थ्यो । मानौं, उहाँ चाँडै मर्दै हुनुहुन्छ वा सिकिस्त बिरामी हुनुहुन्छ । 

एकपटक पाँच/सात जना आफन्तको एउटा भेला थियो (जहाँ यो पंक्तिकार पनि सामेल थियो) । त्यहाँ पनि उहाँले तराँचेमा आफू गाड्ने जमिन किनेको सन्दर्भ निकाल्नुभयो। उपस्थित एक जनाले ‘मरेपछि मानव शरीर गाड्नु कि जलाउनु वेश ? भनी सोध्नुहुँदा उहाँले अलि भावुक हुँदै ‘मरेपछि यो धर्तिलाई अलिकति भएपनि उर्वर गराउँ कि भन्ने हेतुले’ भन्ने जवाफ दिनुभएको थियो ।  मृत्युपश्चात् गाड्ने ठाउँ बनाएको हुँ भन्नुभयो। 

देशको ५ वर्षे, १० वर्षे योजना बनाउनुहुने डा.गुरुङ आज किन स्वयं आफ्नो मृत्यु योजना बनाइरहनुभएको छ ? मलाई सुन्दै अच्चम्म लाग्यो । 

म सन् १९८८ मा म केही समय अध्ययनका लागि जापान पुगेको थिएँ। त्यहाँ एक जापानी प्राध्यापक थिए उमेरले ८० कटिसकेका । त्यसपछि फेरि म जापान जाँदा ति प्राध्यापकलाई भेटन म उहाँकै घरमा पुगे । त्यसबेला उहाँ एउटा बाकसलाई ठोकठाक गरिरहनुभएको थियो। 

पछि थाहा पाएँ, धेरै पहिले नै उहाँले आफूलाई मनपरेको बाकस (कफिन) किनेर ल्याउनुभएको रहेछ । यतिञ्जेलसम्म निकै पूरानो भइसकेकाले ममर्त पो गर्दै हुनुहुँदो रहेछ। 

अहिले पनि मलाई ति प्राध्यापक, डा. हर्क गुरुङको मृत्यु योजना सम्झँदा अनौठो लाग्छ। सायद हाम्रो नेपाली समाजमा यस्ता विषयमा खुलेर योजना बनाउने प्रचलन नभएर पनि यस्तो लागेको हुनसक्छ। 

दोस्रो 
ताप्लेजुङ जानु अगाडि सेप्टेम्बर १५ मा डा. गुरुङले आफ्नो अफिस टेबल ( न्यू एरा) मा  आफूले जीवनभरी लेखेका पुस्तक/लेखहरूको क्रोनोलोजिकल (समयअनुसार) सूची तयार पारेर सबैले देख्नेगरि ‘पेपरवेट’ले थिचेर छाडिजानुभएको रहेछ ।

मानौं कि, उहाँलाई आफू नफर्कने थाहा थियो। किनभने, उहाँले आफ्नो यस्तो प्रकारको सूची तयार पार्नुभएकै थिएन। र, यसबारे कसैलाई पत्तो पनि दिनुभएको थिएन ।

तेस्रो 
डा. गुरुङले ताप्लेजुङ जाने केही महीना अगाडि नै तयार पार्नु भई प्रेसमा पठाएको ‘नेपाल एट्लस एण्ड स्टाटिस्टिक्स’ (हिमाल बुक्स, २००६) पुस्तकको शुरूमा परिचय लेख्ने क्रममा नेपालको नक्शामा ताप्लेजुङको घुन्सालाई गोलो चिन्ह लगाई रातो धर्सा दिनुभएको छ । 

ताप्लेजुङको घुन्सा नेपालको कुनै ऐतिहासिक, व्यापारिक, प्रशासनिक वा कुनै पनि दृष्टिकोणले विशेष महत्वको गाउँ थिएन । बरु, उहाँहरूको दुर्घटनापछि घुन्सा चर्चित बन्यो ।

त्यसो भए किन उहाँले घुन्सालाई ठूलो महत्व दिएर रातो चिन्ह लगाई गोलोगरी प्रष्ट देखाउनुभयो त ? के डा.गुरुङलाई कतै आफ्नो मृत्यु कहाँ हुँदैछ भन्ने पूर्वानुमान त थिएन ? 

चौंथो 
डा. हर्क गुरुङ स्वभावका हिसाबले कम बोल्ने र इष्टमित्र, नातागोताकहाँ पनि कमै जाने स्वभावको हुनुहुन्थ्यो। परिवारभित्रैका सदस्यहरूकहाँ पनि खासै आवत–जावत थिएन । सात जना छोराहरूमा उहाँ ठूलो कान्छा हुनुहुन्थ्यो। 

दिदीबहिनी सानैमा बितेकाले डा. सावित्री गुरुङलाई दिदी मान्नुहुन्थ्यो, भाइटिका लगाउनुहुन्थ्यो । डा.सावित्रीसहित परिवारका नजिकका आफन्त ललितपुरस्थित जावलाखेलमै बस्ने भएकोले होला, पछिल्लोसमय महाराजगञ्ज घर भएका उहाँको प्रिय स्थान जावलाखेल नै बनेको थियो। 

कुनै कामले बिहानै बागमती पुल काट्नुपर्‍यो भने उहाँ घर फर्कने समय राति मात्र हुन्थ्यो । सारा दिन आफन्त भेटेर, सोधखोज गरेर बिताउनुहुन्थ्यो । आफन्तसँग घुलमिल गर्ने, खोजीखोजी भेटने उहाँको यो व्यवहार पहिलेको स्वभाव विपरित थियो । अरु त अरु परिवारका सदस्य नै छक्क पार्ने खालको थियो । 

पछि थाहा लाग्यो कि उहाँले कसैलाई त पढ्ने पैसाको चाँजोपाँजो पनि मिलाइदिनुभएको रहेछ। जुन कुरामा उहाँको चासो पहिले कहिल्यै देखिदैनथ्यो। 

पाँचौं 
धेरै विदेशी डा.गुरुङको घरमा पाकेको परिकारको प्रशंसा गर्थे । यहाँसम्म कि जापानका पूर्वप्रधानमन्त्री रियोतारो हासिमातोे समेत डा. गुरुङको घरमा पाक्ने मोमोका फ्यान थिए । 

सेप्टेम्बर ३, २००६ अर्थात् दुर्घटनामा परि मृत्यु हुनुभन्दा १५ दिन अघि डा. गुरुङले आफूसँग बाल्यकालमा भारतमा बाल्यकालमा पढेका साथीहरूलाई घरमा खानाको निम्ता दिनुभयो । तर, कारणवश कार्यक्रम नहुने भयो । आमिन्त्रतमध्येका एक डा. तेजबहादुर सिं महतले डा.गुरुङलाई समेतलाई आफ्नै जावलाखेलस्थित घरमा ‘लञ्च’ गराउनुभयो । यो दिवा खानामा बाल्यकालका साथीहरू दिलबहादुर थापा, अवतारसिं  गुरुङ, डीबी राई, मोहन थापालगायत सहभागी थिए । 

साथीहरूका लागि आश्चर्य त के थियो भने, आफ्ना नामी साथी हर्कले यसअघि कहिल्यै एकपटक पनि बालखका साथीहरू भेटने रहर सुनाएको थिएन । जीवनमै पहिलोपटक हर्कसँग यी साथीहरु एकसाथ भेटिरहेका थिए । यतिमात्र होइन, साथीहरूसँगको भेटमा पनि डा. गुरुङले पटकपटक आफ्नो मृत्युको कुरा निकालेको दिलबहादुर थापा बताउँछन्। 

यो लेखको तयारीका क्रममा दिलबहादुर थापा र डा. तेजबहादुरसिं महतसँग पंक्तिकारको कुराकानीमा दुवैले त्यसभेटमा हर्क गुरुङका कुरा आजपर्यन्त रहस्यमय लागिरहेको बताइरहनुभएको थियो । 

नेपालीको औसत आयु हो, ७१ वर्ष । डा.गुरुङ आफ्नो औसत आयुमै विना कुनै रोग अकस्मात दुर्घटनामा बित्नुभयो । के उहाँलाई आफ्नै कुनै इन्द्रियले माथिका पाँच व्यवहार गर्न लगाइरहेको थियो? उहाँमा मृत्युको आभास थियो ? मनोविज्ञान र मृत्युदर्शनका लागि यो अध्ययनको विषय पनि हुनसक्ला । 

समाचार सभार- हिमाल खबर