प्रतिनिधिसभा विघटन बिरुध्दको मुद्दाको सुनुवाइ एक सातालाई स्थगित
काठमाडौं । सबैको चासो रहेको प्रतिनिधि सभा बिघटन बिरुध्दको मुध्दाको सुनुवाई अर्को बुधबारलाई सारीएको छ । यस मुद्दामा चलिरहेको निरन्तर सुनुवाइ एक सातालाई स्थगित भएको हो । मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेको छ । न्यायधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने स्वआदेश दिएपछि सुनुवाई स्थगित भएको हो ।
इजलासको विषयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने बताएका हुन् । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा कार्की महान्यायाधिवक्ता नियुक्त भएकाले उनी इजलासमा बस्न नहुने भनी प्रश्न गरेका थिए ।
बहसको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएका हुन । प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा चिया ब्रेकपछि पहिलो बहस गर्दै थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि प्रश्न उठाएका हुन् ।
बरिष्ठ अधिवक्ता थापाले भने– हरिकृष्णजी विगतमा केपी ओलीको सल्लाहकार हो । तपाईको कमन सेन्सले के भन्छ ? पब्लिकले के भन्लान् ? हामी अदालतको आदेश त मानौंला, यसबारे इजलासले विवेक प्रयोग गरोस् । हरिकृष्ण श्रीमानलाई के लाग्छ ? बस्नुस् वा छाड्नुस् म भन्दिनँ ।
जवाफमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाका क्रममा शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि इजलासबाट तत्कालै राणाले पछाडि नफर्किन आग्रह गरेका हुन् । राणाले त्यसरी पछाडि फर्किने हो भने केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने ? भन्ने प्रश्न पनि कसैले उठाउन सक्ने बताए । राणाले भने– संवैधानिक इजलासमा बस्न किन नमिलने ? भन्नेले त केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने भन्लान् । त्यसरी त कसरी हुन्छ ? हामी पछाडि नफर्कौ ।
कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । थापाले हिजोको भूमिकामाथि प्रश्न उठाउँदै आजका महान्यायाधिवक्ता अग्नि खरेल र न्यायाधीश कार्कीमा के फरक छ भनी प्रश्न उठाएका हुन् ।
अब अर्को पेशी एक सातापछि अर्थात पुस २९ गते तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कार्कीमाथि प्रश्न नउठाउन शम्भु थापालगायतका वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरे पनि आफ्नो भूमिकामाथि प्रश्न उठाइएको भन्दै न्यायाधीश कार्कीले आफू नरहने घोषणा गरेका हुन् ।
अब राणाले संवैधानिक इजलासमा नयाँ न्यायाधीश चयन गर्नुपर्नेछ ।