नेपालमा पनि पुस्तकहरु अनलाइनबाट किन्न सकिने
नेपालमा पनि अब बिदेशमा जस्तै आफुले पढ्न मन लागेका पुस्तकहरु अनलाइनबाट किन्न (अर्डर गर्न) सकिन्छ र पछील्लो समय लकडाउनको कारण यसरी अनलाइनमा पुस्तक किन्ने पाठकहरुको सन्ख्या उल्लेख्य मात्रमा बढेका छन । अनलाइनमार्फत नेपाली पुस्तकको माग ह्वात्तै बढेको छ ।
आफूलाई नयाँ पुस्तकको गन्धले नै आकर्षित गर्ने विश्लेषक हरि शर्माले बताएका थिए। साहित्यकार शारदा शर्माले पनि करिब दुई वर्षअघि दिएको अन्तर्वार्तामा आफूलाई नयाँ पुस्तकको गन्ध खूब मन पर्ने बताएकी थिइन् । धेरै नेपाली पाठक पसलमै गएर ओल्टाइपल्टाई पुस्तक हेरेर, गन्ध सुँघेर किन्ने बानी परेका छन् । वन्डर बुक्सले दुई वर्षअघि अनलाइनबाट पुस्तक बेच्न शुरु गर्दा यो चुनौती पार लगाउनुपर्ने थियो । किनभने हरि शर्मा र शारदा शर्माले जस्तै गन्धबाटै आकर्षित हुने पाठक नेपालमा धेरै छन् ।
कोरोनाभाइरस महामारीका कारण पाठकले यो बानी परिवर्तन गर्नैपर्ने बाध्यता भयो। बन्दाबन्दीपछि त्यसको असर पाठकमा पर्न शुरु भयो । अनि प्रायः अंग्रेजी पुस्तकको मात्र माग आउने वन्डर बुक्समा नेपाली पुस्तकको पनि माग आउन थाल्यो। वन्डर बुक्सका अध्यक्ष अनुराग नेपाल भन्छन्, “बन्दाबन्दीअघि सामान्य चलिरहेको थियो। बढी जस्तो अंग्रेजी पुस्तकको माग हुन्थ्यो। बन्दाबन्दी र त्यसपछि नेपाली पुस्तकहरुको पनि माग भइरहेको छ ।”
बन्दाबन्दीपछि अनलाइन पुस्तक माग गर्ने ग्राहकको उमेर समूह पनि फराकिलो भएको उनी बताउँछन् । वन्डर बुक्सबाट अंग्रजी पुस्तक माग गर्ने अधिकांश २० देखि ३५ वर्षबीचका थिए। तर, अहिले त्यसभन्दा माथिका उमेर समूहबाट पनि प्रशस्त माग भइरहेको छ । बन्दाबन्दीपछि पनि अनलाइनमाफृत पुस्तक पुस्तक माग गर्नेको संख्या घटेको छैन । ग्राहकले माग गरेको पुस्तक आफूहरुको भण्डारमा नभए बजारबाट लिएरै पनि उपलब्ध गराउने अध्यक्ष्ँ नेपाल बताउँछन् । अनलाइनबाट पुस्तक मगाउँदा समयको बचत हुने र छुट पनि पाउने हुनाले पाठक यता तानिन थालेको उनको भनाइ छ ।
दुई वर्षअघिबाटै शुरु भएको थुप्रैडटकममा पनि यो वर्ष पुस्तकको माग बढेको छ । बन्दाबन्दीअघिको तुलनामा अहिले बिक्री बढेको सह–संस्थापक दिपेश आचार्य बताउँछन् । सामान्यतयाः दशैंपछि पुस्तकको माग कम भएर जान्थ्यो। ‘यो वर्ष पनि केही कम त भयो तर, गत वर्षको तुलनामा बढी नै छ”, आचार्य भन्छन् ।
बन्दाबन्दी अगाडी थुप्रै डट कममा पनि अंग्रेजी पुस्तकको माग बढी थियो । तर, अचेल नेपाली पुस्तकको माग पनि बढेको आचार्य बताउँछन् । पुस्तक मगाउने भने १८ देखि ३० वर्ष उमेर समूहकै छन् । धेरैजसो विदेशमा पढेर आएकाहरुले मगाउने गरेका कारण अंग्रेजी पुस्तक बढी बिक्छ ।
अंग्रजी पुस्तक पढ्न चाहनेले वेबसाइटमार्फत पुस्तक मगाउँछन् । तर, नेपाली पुस्तक पढ्न चाहने पाठक अधिकांशले फोन गरेर अथवा सामाजिक संजालमार्फत माग गर्ने गरेको आचार्यको अनुभव छ । पछिल्लो समयका किशोर किशोरी पाठक भने ईबुकमा रमाउने गरेको आचार्य बताउँछन् । उनी भन्छन् “यो उमेर समुहका पाठकहरु आफ्नो ग्याजेटमा नै समय बिताउन चाहान्छन् । अर्को कुरा पुस्तक सबै ठाउँमा उपलब्ध हुन सक्दैन । ईबुक भए संसारका कुनै पनि स्थानबाट खरिद गरेर पढ्न सकियो ।”
पाटन बुक स्टोरकी अन्जली मर्हजन महामारीका कारण पुस्तक पसलहरु बन्द हुँदा पाठक अनलाइनतर्फ मोडिएको बताउँछिन्। प्रविधि सहजताको कारण पाठकहरु पुस्तकबाटै बन्चित हुन भने नपरेको उनको भनाइ छ। यद्यपि अवस्था सामान्य हुँदै जाँदा पसलमा आएर पुस्तक किन्ने पाठकको संख्या पनि बढ्दै गएको उनको अनुभव छ । “पसलप्रतिको विश्वसनीयताले पनि पाठकहरु पुस्तक किन्न भौतिकरुपमै उपस्थित हुने गरेका छन्”, उनी भन्छिन् ।
लेखक तथा प्रकाशक अर्चना थापा पनि महामारीको बेला सुरक्षाका कारण अनलाइनमार्फत पुस्तक किन्ने पाठक बढेको बताउँछिन् । उनी आफैले पनि बन्दाबन्दीमा अनलाइनमार्फत पुस्तक मगाएर पढिन् ।
उनको प्रकाशन गृह अक्षर क्रियशनले माहामारीमा पनि पुस्तक छाप्यो। ती पुस्तक ई–बुक र स्टोरमा पठाए पनि अनलाइनबाट बढी बिक्यो । उनी भन्छिन् “अनलाइनबाट पुस्तक खरिद गरेर पढ्ने पाठकको संख्या बढेको अनुभव गरें । तर, ई–बुक पढ्ने चाँहि खासै बढेन जस्तो लाग्यो।” अनलाइनमार्फत उपत्यकाबाहिरका पाठकले पनि पुस्तक मगाएको उनी बताउँछिन् । फिनिक्स बुक्सले पनि महामारीमा अनलाइनमार्फत पुस्तक पाठकसम्म पु¥यायो। फिनिक्स बुक्सका गणेश सुवेदी नेपाली पाठक ई–बुकमा अभ्यस्त नभएको बताउँछन्। तर, अनलाइनमार्फत भौतिकरुपमै पुस्तक किन्ने भने बढेको उनी बताउँछन् । व्यवसायीहरुका अनुसार विदेशी प्रकाशनका पुस्तकमा भन्सार शुल्क छुट भएपछि पाठकहरु थप उत्साहित भएका छन् । त्यस्ता प्रकाशनका पुस्तकको प्रि–अर्डर तथा ई–बुक माग गर्नेहरुको संख्या बढेको छ ।
बन्दाबन्दीमा खाद्यन्नको लागि खुलेको इन्फी डट स्टोरले पढ्न चाहनेका लागि पुस्तकसमेत उपलब्ध गराउन थालेको छ । स्टोरले १६ देखि २९ मंसीरसम्म ‘इन्फी पुस्तक कार्निभल’ नै गरेको थियो। कार्निभलमा करिब तीन हजार पुस्तक बिकेको स्टोरकी शिखा राणा बताउँछिन् । उनी भन्छिन्, “हामीले पढ्न चाहनुहुने हाम्रा गाहकलाई प्रोत्साहन र सुलभताका लागि विशेष छुटसमेत राखेका थियौं । त्यसले पनि धेरै पुस्तकहरुको माग भयो।” राणाका अनुसार अहिले पनि अनलाइनबाट दैनिक दुई दर्जनसम्म पुस्तकको माग हुने गरेको छ ।
अनलाइनमार्फत पुस्तक माग गर्दा फोन पे, ई–सेवा, खल्ती, क्रेडिट कार्ड प्रयोग गरेर अथवा ‘क्यास अन डेलिभरी’ पैसा तिर्न सकिन्छ। तर, अधिकांशले ‘क्यास अन डेलिभरी’ तिर्ने गरेको व्यवसायी बताउँछन्। उनीहरुका अनुसार अनलाइनमार्फत पुस्तक माग गर्नेमध्ये सीमित पाठकले मात्रै अनलाइन सुविधा उपयोग गर्दै पैसा तिर्छन्।
नेपालमा पनि पुस्तक प्रि–अर्डर
अन्य व्यवसायमा जस्तै पुस्तकको पनि प्रि–अर्डर शुरु भएको छ। बुक–हिल प्रकाशनले आफ्नो नयाँ प्रकाशनको लागि अनलाइनमार्फत प्रि–अर्डर लिइरहेको छ ।
लेखक कुमार नगरकोटीको ‘कल्पग्रन्थ’ पढ्न चाहने पाठकले १ फागुनभित्र रु.२०२१ अग्रिम भुक्तानी गर्नुपर्नेछ । पुस्तक खरिद गर्न पाठकले प्रकाशन संस्थाको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । नेपाली पुस्तक बजारमा गरिएको यो प्रयोग पाठकहरुले मन पराइरहेको बुक–हिलका भुपेन्द्र खड्काले बताए। उनले भने, “यो हामीले प्रिमियम संस्करण प्रकाशन गर्न लागेका हौं । पाठकबाट राम्रो प्रतिकृया आइरहेको छ । प्रि–अर्डर आउने क्रम जारी छ।” पुस्तक आगामी १४ चैतमा सार्वजनिक हुने बुक–हिलले जनाएको छ ।
स्रोत- हिमालखबर