सैनिकले प्लाज्मा दिएर कोरोना संक्रमित राजेशलाई बचाए

२४ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ अस्पतालबाट फोन आयो– कोभिडका एक बिरामीलाई प्लाज्मा चाहिएको थियो, दिने कोही भएनन् । त्यसैले, तपाईसंग सम्पर्क गरेको… ।’

कोरोना संक्रमिण भएका नेपाली सेनाका जमदार गणेशकुमार खड्का बलम्बुस्थित त्यसै अस्पतालको आइसोलेसनबाट गोरखबहादुर गणको क्वारेन्टिनमा सरेको सातादिन पनि भएको थिएन । प्लाज्माको कुरा सुनेर उनी एकछिन् अक्मकिए ।

फोन गर्नेले आग्रह गरे, ‘धेरैलाई भन्यौं, तर दिन मान्नुभएन । तपाई त सैनिक पनि भएकाले सहयोग गर्नुहुन्छ कि भनेर कुरा गरेको । दिँदा गाह्रो पर्ने कुरा केही छैन पनि ।’
अनि खड्काले भने, ‘ठीकै छ, मेरो कारणले कसैको ज्यान बँच्छ भने दिन्छु । तर, मैले अफिसरहरुसँग अनुमति लिनुपर्ने हुन्छ ।’

त्यसपछि उनले प्लाज्मा थेरापी र प्लाज्मा दिँदाका फाइदा–बेफाइदाबारे इन्टरनेटमा खोजी गरे । ‘प्लाज्मा दिनु भनेको सामान्य रगत दिनुजस्तै रहेछ’, उनी भन्छन्, ‘अनि गुल्मपतिलाई भनेर प्लाज्मा दिन तयार भएँ ।’

त्यतिबेला नेपालमा एक जना मात्र संक्रमितलाई कन्भलेसेन्ट प्लाज्मा थेरापी गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएका प्रसुति तथा स्त्री रोग विशेषज्ञ ज्ञानेन्द्रमान कार्की संक्रमणमुक्त भएका थिए ।

खड्का भन्छन्, ‘प्लाज्मा दिएपछि मैले उहाँलाई चाँडो ठीक होस् भनेर कामना गरिरहेको थिएँ । त्यही बेला आएको त्यो फोन मेरो लागि जीवनकै अविस्मरणीय क्षण भयो ।’

त्यो सफलतासँगै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले उपचारको यो विधि देशभर विस्तार गर्न सरकारी र निजी गरी १२ वटा अस्पताल तोकिसकेको थियो । तर, मानिसहरु प्लाज्मा दिन मान्दैनथे । प्लाज्मा दिएपछि कमजोर भइन्छ भन्ने भ्रमले यसमा काम गरेको थियो ।

कोरोना संक्रमणमुक्त भएको एक व्यक्तिको एन्टिबडी विकसित रगतको प्लाज्माले दुईदेखि चार जनासम्म संक्रमितलाई निको पार्न सकिने कुरा बुझेपछि प्लाज्मा दिन तयार भएका खड्काले यो कुरा आफ्ना गुल्मपतिबाहेक अरुलाई भनेनन् ।

काठमाडौंमै भएपनि आठ महिनादेखि भेट नभएको परिवारका सदस्यलाई समेत उनले आफू कोराना संक्रमित भएको बताएका थिएनन् । ‘हाम्रो व्यारेकमा पहिलो पटक संक्रमण देखिएकाले म आफैं तनावमा थिएँ’, खड्का भन्छन्, ‘परिवारले थाहा पाए झन् आत्तिन्छन् भनेर श्रीमती, छोरा र छोरीलाई भनिनँ ।’

‘प्लाज्मा लिने बिरामीसँग कुरा गर्छु’

विदेशबाट आउने नेपालीलाई काठमाडौं विमानस्थलबाट क्वारेन्टिन पुर्‍याउने नेपाली सेनाको शुरुवाती टिममा खट्दा खड्का संक्रमित भएका थिए । टोली बदली भएर क्वारेन्टिनमा जाने बेलाको पीसीआर टेष्टमा उनीसहित चार सैनिकको रिपोर्ट २१ जेठमा पोजेटिभ आएको थियो ।

‘कहिले परिवार भेट्न पाइएला भनेर पर्खिराखेको थिएँ । रिपोर्ट त आयो, तर पोजेटिभ’, त्यसपछिको अनुभव सुनाउँदै खड्का भन्छन्, ‘एक मिटरको दुरी राख्नुपर्छ भन्नेहरु १० मिटर परै उभिन थाल्नुभयो । कोरोना केही होइन भन्नेहरु त झन् परपरै भाग्न थाल्नुभयो, हैट !’

त्यसखालको व्यवहारले आफूभित्रको डरलाई बढाएको उनको अनुभव छ । तर, टिमका चारैजना साथै हुनु र ब्यारेकबाट साथीहरुको फोन आइरहनुले आत्मबल बलियो पारेको उनी बताउँछन् ।

अनि हरेक विहान पसिना निकाल्ने सैनिक कसरतमा योगाभ्यास पनि थपे । अन्ततः ११ दिनमा नेगेटिभ रिपोर्ट आयो । हतियार थन्क्याएर आइसोलेसनमा पुगेका उनीहरुलाई ठूलै युद्ध जितेजस्तो अनुभूति भयो । तर, तुरुन्त घर वा पल्टन फर्केर खुशी मनाउन मिलेन ।

आइसोलेसनबाट निस्केपछि थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम पालना गर्नैपर्‍यो । त्यही बेला प्लाज्माको लागि फोन आएको थियो । प्लाज्मा दिने–लिने निधो भइसकेपछि जमदार खड्काको मनमा अनेक कुरा खेल्न थाले । त्यसक्रममा आफ्नो रगतको प्लाज्मा कसको शरीरमा प्रवेश गर्छ त भन्ने कुराले उनलाई खुब खुल्दुली भयो ।

अनि ‘प्लाज्मा दिनुअघि बिरामीसँग कुरा गर्न चाहन्छु’ भनेर सर्त राखे । अनि हाम्स अस्पतालमा उपचाररत राजेश मानन्धरलाई प्लाज्मा आवश्यक परेको थाहा पाए ।

‘संक्रमित भएर १ भदौमा अस्पताल पुगेका उहाँलाई ३ गतेबाट सास फेर्न गाह्रो भएको रहेछ’, खड्का भन्छन्, ‘रेम्डिसिभिर औषधी चलाउँदा पनि सुधार नभएपछि प्लाज्मा दाताको खोजी सुरु भएको रहेछ ।’

त्यसको लागि जमदार खड्का तयार भएपछि नेपालमा दोस्रो कोरोना संक्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी भयो ।

खुशी पनि कति हो कति !

५ भदौको दिउँसो गोरखबहादुर गणको क्वारेन्टिनमा तयार भएर बसेका जमदार गणेशकुमार खड्कालाई प्राइम बैंकको गाडीले ग्राण्डी अस्पताल पुर्‍यायो र उनको एक पिन्ट रगत निकालियो । उनी भन्छन्, ‘रक्तदान र प्लाज्मा दानमा केही फरक लागेन ।’

प्लाज्मादान गर्दै गणेशबहादुर खड्का ।

७ गते दिउँसो उनको फोन बज्यो । त्यो फोन अरु कसैको नभएर राजेश मानन्धरको थियो । उनले खड्कालाई भने, ‘मलाई सहज हुँदै भएको छ । मेरो जिन्दगी बचाउनुभएकोमा तपाईलाई के भनेर धन्यवाद दिउँ, मैले शब्दहरु पाइरहेको छैन… ।’

खड्का भन्छन्, ‘प्लाज्मा दिएपछि मैले उहाँलाई चाँडो ठीक होस् भनेर कामना गरिरहेको थिएँ । त्यही बेला आएको त्यो फोन मेरो लागि जीवनकै अविश्मरणीय क्षण भयो ।’

प्लाज्मा दान कति गजब भयो भने ११ गते डिस्चार्ज नै भएका मानन्धरले घर फर्किनासाथ खड्कालाई फेरि फोन गरेर आफ्नो पछिल्लो अवस्थाबारे अवगत गराए । ‘जीवनमा अनेक खाले खुशी आइपर्दा रहेछन्’, जमदार खड्का भन्छन्, ‘दिएको त्यही एक पिन्ट रगत हो, त्यतिले नै हामी दुवैलाई कति हो कति खुशी बनायो ।’

बर्दियाका गणेशकुमार खड्काले नेपाली सेनामा प्रवेश गरेको १७ वर्षमा यो साल अनौठो–अनौठो तनाव र खुशीको अनुभव गरे । कोरोनाबाट आफू बचेर, अरुलाई पनि बचाएर नौ महिनापछि परिवार भेटेर उनले तनाव र खुशीको बेलिविस्तार लगाए ।

कम्ब्याट ड्युटीमा फिर्किसकेका जमदार खड्का अहिले कोरोना संक्रमितलाई उत्प्रेरित गर्ने, प्रशिक्षण दिने जस्ता काममा समेत व्यस्त रहेको गोरखबहादुर गणका कर्णेल क्षेत्रमानसिंह थापाले बताए । उनका अनुसार, अहिलेसम्म यो गणका दुई जनाले प्लाज्मा दिएका छन् ।

‘सैनिकको प्लाज्माले कोरोना जित्ने भाग्यमानी हुँ’

राजेश मानन्धर

ह्याम्स अस्पताल भर्ना भएको तीन दिनमै मलाई कोरोनाले बिना अक्सिजन बाँच्न नसक्ने बनायो । चौथो दिनबाट डाक्टरहरुले रेम्डेसिभिर चलाए, तर त्यसले पनि बिसको उन्नाइस बनाएन ।

त्यसपछि डा. अनुप सुवेदीले प्लाज्माथेरापी गर्ने सल्लाह दिनुभयो । तर, प्लाज्मा दिन कसैले मान्नुभएन । छैटौं दिन अस्पताल आफैंले डोनर पाएछ ।

त्यसबेलासम्म मलाई निकै असहज हुन थालिसकेको थियो । धन्न ठीक समयमा नेपाली सेनाका जमदार गणेशकुमार खड्का भेटिनुभएछ, जसले सहजै प्लाज्मा दिएर मलाई बचाउनुभयो । प्लाज्मा थेरापीले शतप्रतिशत ठीक हुन्छ भन्ने त होइन तर, मेरो लागि भने यो रामवाण नै साबित भयो ।

के हो प्लाज्मा थेरापी ?

कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालेर बिरामीको शरीरमा पठाई रोगविरुद्ध लड्न सक्ने बनाउने विधि हो, प्लाज्मा थेरापी ।

यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गरियो । यसबाट उत्साहजनक नतिजा भने आएको छैन ।

पहिलोपटक सन् १८९० मा प्रयोग गरिएको विधिलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोला भाइरस देखिएको बेला २०१४ मा मान्यता दिएको थियो ।