रवि लामिछानेको उम्मेदवारी कायमै, राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण माग
चितवन क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवार कायम भएको छ । उनीविरुद्ध दर्ता भएका तीनवटा उजुरीमा दाबी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो । सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार रविविरुद्ध दुईजना स्वतन्त्रसहित तीनजना उम्मेदवारले उजुरी गरेका थिए । आचार्यले तीनैजनाको उजुरीमा दाबी नपुगेपछि रविको उम्मेदवारी कायमै राख्ने निर्णय भएको छ ।
उता काठमाडौंबाट युवराज पौडेल ‘सफल’ले ईमेलबाट दिएको उजुरीको निर्णय निर्वाचन आयोगले गर्ने भएको छ। यसबारे आयोगले रविसँग ७ दिनभित्रमा जवाफ मागेको छ । उता तीनवटा उजुरीबारेमा रविले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उपस्थित भएर ६ पृष्ठ लामो जवाफ पेश गरेका थिए ।
यसअघि लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो । तिनै उजुरीका आधारमा लामिछानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसोसम्म स्पष्टीकरण मागेको थियो । चितवन २ मा लामिछानेसहित अब २४ जनाको उम्मेदवारी कायम भएको छ ।
गत मंसिर ४ गतेको निर्वाचनमा विजयी लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएको थियो । सर्वोच्चको फैसलापछि उनले माघ १३ गते सबै पद गुमाएका थिए ।
लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण माग
काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको कार्यालयलाई दोहोरो राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको हो ।
अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । अन्तिम निर्णय चैत ६ मा महान्यायाधिवक्ता पोखरेलले गरेका थिए ।
महान्यायाधिवक्ता पोखरेलको उक्त निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
लामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी लिई अमेरिका गएका थिए । अमेरिकाको स्थायी बसोबास अनुमति पाएका उनले अमेरिकी कानुनबमोजिम शपथ लिई २०७० फागुन ९ मा अमेरिकी नागरिकता पाएका थिए ।
अमेरिकी नागरिकका हैसियतमा नेपाल आएको बखत लामिछानेले पुरानै नागरिकता प्रयोग गरी २०७२ जेठ १३ (सन् २०१५ मे २७)मा नेपालको पासपोर्ट लिएका थिए । उनले २०७५ सालमा अमेरिकाको नागिरकता र राहदानी परित्याग गरेका थिए ।