नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्नुभएको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नु हुनेछ। ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाश पाउँदै हुनुहुन्छ। उहाँ अवकास हुन लाग्दा सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो ।
वसन्त कुँवर प्रहरी महानिरीक्षकमा बढुवा
काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।
३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनको ब्याचले प्रयास गरेको थियो । सेवा अवधि हटाउनु पर्ने बहस पनि लामै चलेको थियो । तर, सरकारले तत्काललाई अहिलेकै व्यवस्थालाई निरन्तरता दिएर प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । यससँगै अघिल्लो टोली अवकाशमा गएको हो । रिक्त नेतृत्वमा कुँवर आएका हुन् ।
आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ साल चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका हुन् । पहिलो महानिरीक्षक तोरणशमशेर राणा हुन् । तर, प्रहरीले संगठन स्थापनाको ५ वर्षपछि विसं २०१२ मा ऐन आएको दिनलाई प्रहरी स्थापना दिवस मान्दै आएको छ । यद्यपि हालसम्म संगठनमा २९ जनाले नेतृत्व गरिसकेका छन् । कुँवर ३० औं नेतृत्वमा आइपुगेका हुन् । २०२६ चैत १५ मा अर्घाखाँचीको सन्धीखर्कमा बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । अहिलेको ३० वर्षे सेवाअवधि कायम रहे कुँवर २०८१ चैतमा अवकाशमा जाने छन् ।
२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलावा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरिसकेका छन् ।
२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । कुँवर गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । डीआईजीमा बढुवा हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । त्यसअघि उनले प्रहरी प्रवक्ताका रुपमा काम गरेका थिए । डीआईजीमा बढुवापछि भने प्रहरी प्रधान कार्यालय कार्यविभागमा पदस्थापना भएका उनी पछिल्लो पटक मधेस प्रदेश प्रहरी प्रमुख बनेका थिए ।
गत फागुन २६ मा कुँवरसहित पाँचजना डीआईजीबाट एआईजीमा सिफारिस हुँदा पहिलो वरीयतामा परेका थिए । बुधबार एआईजीको दर्ज्यानी लगाएका उनी त्यसको २ दिन पछि शुक्रबार आईजीपीमा बढुवा भएका हुन् । प्रहरी प्रवक्तासमेत रहिसकेका उनी संगठनमा हक्की स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । राजनीतिक रुपमा भने कुँवरको पारिवारिक पृष्ठभूमि कांग्रेससँग निकट छ । उनका दाजु वरिष्ठ अधिवक्ता बाबुराम कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपालको महान्यायाधिवक्ता बनेका थिए । त्यसपछि कुँवर गण्डकी प्रदेश प्रमुख पनि बनेका थिए । तर, आईजीपीमा बढुवा भएका कुँवरलाई भने व्यावसायिक छविका अधिकृतको रुपमा चिनिन्छ ।
माओवादी सशस्त्र द्वन्द्वकालमा भने उनीमाथि मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ । त्यही कारण केही देशले उनलाई मानवअधिकार उल्लंघनकर्ताको सूचीमा समेटेको छ । तर, सरकार र विद्रोही पक्ष दुवै विस्तृत शान्ति प्रक्रियामा आएर मुलुक अर्को चरणमा प्रवेश गरिसकेका कारण सरकारको आदेश पालना गर्ने अधिकारीहरुमाथि बारम्बार प्रश्न उठाइनु गलत भएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतको भनाइ छ ।