एमालेको तर्फबाट राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता
काठमाडौँ — नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।
शनिबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
राष्ट्रिय सहमति हुने विश्वासका साथ उम्मेदवार बनेको हुँ : सुवास नेम्वाङ
नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् । शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने उनले दाबी गरे । स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भुमिका हुने पनि उनले बताए ।
सबै हिसावले संविधानको परिपालना गर्न लाग्नेछु। आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो’, उनले भने, ‘स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु। अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ ।’ व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने प्रतिवद्धता पनि उनले जनाए । ‘व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ। हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरुको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भुमिका निर्वाह गरेँ,’ नेम्वाङले भने, ‘संविधानको संरक्षक हुने अवसर एको छु ।’
संविधान सभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताए ।उम्मेदवार नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज बिष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहेका भन् भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
त्यस्तै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि जनताको राष्ट्रपति भएको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । संसद् भवनमा पुगेर उम्मेदवारी दर्तापछि उनले भने ‘जतिबेला राष्ट्रपति प्रणाली थिएन। हामीले संविधान बनाएर राष्ट्रपतीय प्रणाली व्यवस्था गरेको छौँ । त्यसभन्दा अगाडि निश्चित कुलको जेठो छोरा राष्ट्राध्यक्ष हुने प्रणाली थियो। तर, हामीले जुनसुकै कुलमा जन्मिएको छोरा या छोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अब जनताको राष्ट्रपति व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ।’
उनले अहिले बनेको आठ दलीय गठबन्धनबारे आफूले कुनै टिप्पणी नगर्ने प्रतिक्रिया दिए ।