एमालेका सम्भावित सभामुखको उम्मेदवारहरु : को बन्ला त सभामुख ?

काठमाडौंः सभामुख निर्वाचन आउन अब सात दिन मात्रै बाँकी छ । सत्ता साझेदार दलको सहमतिअनुसार सभामुख एमालेको भागमा परेको छ । सभामुखको निर्वाचन ५ माघमा हुँदैछ। एमालेले सभामुखमा कसलाई उम्मेदवार बनाउँछ भन्ने चासोको विषय बनेको छ। एमालेबाट सभामुखका आकांक्षी धेरै देखिएकाले पार्टीभित्र आन्तरिक लविङ सुरु गरेका छन् । एमालेबाट सुबासचन्द्र नेम्वाङले सभामुखमा चासो देखाएका छैनन् । एमालेभित्र सभामुखमा छविलाल विश्वकर्मा,पृथ्वीसुब्बा गुरुङ,विद्या भट्टराई,रघुजी पन्त, रघुवीर महासेठ मुख्य आकांक्षी हुन् ।

लमजुङबाट निर्वाचित गुरुङले पनि सभामुखमा इच्छा देखाएका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बनिसकेका गुरुङ पनि सभामुखका सम्भावित उम्मेदवार हुन् । एमाले उपमहासचिव समेत रहेका गुरुङ एमाले–माओवादी गठबन्धन बनाउन भूमिका खेलेका नेतामा पर्छन् । विश्वकर्मा रुपन्देही–१ बाट निर्वाचित सांसद् हुन् । उनी पटक-पटक निर्वाचित हुने सांसदमा पर्छन् । विश्वकर्माले यसअघि कृषिमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
यस्तै,कास्की–२ बाट निर्वाचित सांसद् विद्या भट्टराई पनि सम्भावित उम्मेदवार हुन् । यसअघि संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य समेत रहेकी भट्टराई उपसभामुखको प्रतिस्पर्धामा थिइन् । ४ मंसिरमा सम्पन्न निर्वाचनमा भट्टराई कांग्रेसकी पुष्पा भुषालसँग पराजित भएकी थिइन् ।

पन्तले पनि सभामुखका आकांक्षी हुन् । एमालेबाट समानुपातिकमा परेका पन्त यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार बनेका थिए । पन्त श्रममन्त्री समेत भइसकेका छन् । महासेठ धनुषा -२ बाट निर्वाचित सांसद हुन्। यसअघि उपप्रधानमन्त्रीसमेत भइसकेका महासेठले पनि सभामुखमा इच्छा व्यक्त गरेका छन् । प्रतिनिधि सभा नियमावली २०७५ मा सभामुख निर्वाचनसम्बन्धी व्यवस्था छ ।

सुरुमा सभामुखको निर्वाचन कार्यतालिका संसद् सचिवालयले प्रकाशन गर्नेछ । प्रकाशित कार्यक्रममा निर्धारित समय भित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने ढाँचामा प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ । प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।

एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएकोमा दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछ । एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएमा निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन ।

प्रस्तावमाथि सभाको निर्णय दस्तखतसहितको मत विभाजनद्वारा हुने व्यवस्था छ । पहिलो बैठकको अध्यक्षता गर्ने सदस्य सभामुख पदमा प्रस्तावित भएमा सभामुख पदमा प्रस्तावित नभएको त्यसपछिको जेष्ठ सदस्यले सो दिनको बैठकको अध्यक्षता गर्नेछ ।