नेपाली कांग्रेसले दोहोर्‍यायो २८ वर्षअघिको इतिहास, संसद् बन्यो प्रतिपक्षीविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्‍याएको छ । प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएपछि कांग्रेसले २०५१ सालको विगत दोहोर्‍याएको हो । तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले विश्वासको मत दिएर पद जोगाइदिएको थियो । त्यसबेला मनमोहन प्रधानमन्त्री हुँदा दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत दिएका थिए। यस पटक पनि प्रचण्डलाई दुईतिहाइ अर्थात् २७२ मत मिल्ने सम्भावना छ ।

२०५१ मा मनमोहनलाई दुईतिहाइ दिँदा कांग्रे सभापतिमा गिरिजाप्रसाद कोइराला थिए। अहिले प्रचण्डलाई समर्थन गर्दा सभापतिमा शेरबहादुर देउवा छन् । कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने सर्वसम्मत निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए । तर उक्त निर्णयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति जनाएका छन् ।

कांग्रेसले समेत समर्थन गरेपछि अब प्रतिपक्षमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र स्वतन्त्र सांसद योगेन्द्र मण्डल मात्रै बाँकी रहेका छन् । संयोग के छ भने २८ वर्षको अन्तरालमा कांग्रेसले २ पटक विश्वासको मत दिँदा प्रधानमन्त्री पदमा कम्युनिष्टकै नेता नै परे । २०५१ मा अल्पमतको सरकारको नेतृत्व गर्दा अधिकारी तत्कालीन एमालेका अध्यक्ष थिए। अहिले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् ।

२०४८ सालको आम चुनावमा बहुमत ल्याएको कांग्रेसले पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि तीन वर्षमै संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यही भएर एमालेले ८८ सिट जितेर पहिलो दल बन्ने मौका पायो। कांग्रेसले ८३ सिट जितेको थियो।

यसपटक एमालेसहित ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन लिएर १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलबाट विश्वासको मत पाउन सफल भए । ४ मंसिरको चुनावमा कांग्रेसले ८९ सिट जितेको छ। उसको समेत विश्वासको मत पाएपछि प्रचण्ड लोकप्रिय नेता बन्न सफल भएका छन् ।

प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी प्रतिनिधि सभामा २७५ सांसद छन् । यसपटकको चुनावमा १२ राजनीतिक दलबाट २७२ र तीन स्वतन्त्र सांसद निर्वाचित भए । चुनावमा ७ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल हुँदा पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० सांसद जिताउन सफल भएको थियो ।

प्रधानमन्त्री अधिकारीलाई त्यसबेला १९८ जना सांसदले विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए । बैठकमा सरकारलाई मत दिने विषयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन् । तर यादवले सर्वसम्म्त निर्णय भएको दावी गरे ।

‘दुई महामन्त्री तथा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र प्रदीप पौडेलले यो निर्णयमा असहमति जनाउनु भएको छ’, एक नेताले बैठकपछि भने । कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेपछि अब संसदीय दलको बैठक बस्ने भएको छ । उक्त निर्णयलाई अब संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । कांग्रेसको यो बैठकपछि अब केही बेरमा संसद बस्ने तयारी भएको छ ।

जहाँ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछ । अब प्रचण्डको पक्षमा दुईतिहाइ बहुमत हुने देखिएको छ ।