क्रिसमस डेमा प्रचन्डलाई ओलीको सर्प्राइज गिफ्ट
काठमाडौं: सत्ता समीकरणको खेलमा आफू अनुकल नेताहरूले जुनसुकै निर्णय गर्छन् भन्ने दृष्तान्त आजको नेपाली राजनीतिको समीकरणले देखाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ जनमतपछि सरकार गठन गर्न आजै साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् ।
राष्ट्रपतिले दिएको समयसीमा भित्र सरकार गठन गर्ने भन्ने दलका नेताको भनाइमा एकरुपता भए पनि व्यवहार त्यस्तो थिएन् । वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने समझदारी गरेर सत्ता साझेदार दलको औपचारिक अनौपचारिक वार्ता भइरहेका थिए। यी वार्तामा भएका समझदारीले कता पल्ला भारी भन्ने अन्यौल नै रहन्थ्यो । तर आज दिउँसोदेखि सुरु भएको सत्ता समीकरणको खेलले नयाँ रुप लियो । हुन पनि आज ‘क्रिसमस डे’ राष्ट्रपतिले प्रधानमन्त्री बनाउन दिएको समय घर्किन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्प्राइज ‘क्रिसमस गिफ्ट’का रुपमा प्रधानमन्त्री पद उपहार दिएका छन् ।
बिहानसम्म राजनीति वार्ताको केन्द्र प्रधानमन्त्री निवास बालुवाटर थियो। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने गृहकार्यसहित छलफल चलाइरहेका थिए । उनले सत्ता गठबन्धनका नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग आफैँ तथा आफ्नो मातहतका नेतालाई सन्देश पठाउँदै छलफल गरिरहे ।
निर्वाचन लगत्तै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका दलका नेताबीच सत्ता समीकरण मिलाउने विषयमा समझदारी बन्न सकेन्। प्रचण्डले पहिलो चरणमा आफू प्रधानमन्त्री हुनै पर्ने अडान राखे । यही अडानलाई प्रचण्डले छोडेनन् । बरु गठबन्धनको समीकरण नै परिवर्तन गरिदिए ।
बिहानसम्म प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बनाउने र बाँकी पदमा प्याकेजमा सहमति गर्ने बताउँदै आएका थिए । उनले गठबन्धन छोड्लान भनेर सायद देउवाले सोचेका भए विहानै क्रिसमस गिफ्टका रुपमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री उपहार दिन सक्थे होला । तर नेपाली कांग्रेसका नेताजनकै दवाव झेल्न नसकेका देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउन अट्टी कसिरहे। यही हठले जनमतबाट बनेको ठूलो दल प्रमुख प्रतिपक्षी दलमा बस्नुपर्ने अवस्था आयो ।
बिहान गठबन्धनको बैठक जारी रहँदा र प्रचण्ड गठबन्धन तोड्दै नबाहिरिँदासम्म सत्ता समीकरणको बल नेपाली कांग्रेसमै थियो । तर जब प्रचण्ड बाहिरिए हतास रुपमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भने,’अब हाम्रो हातमा केही रहेन । प्रचण्डले गठबन्धन तोडेर हिँडे ।’ नेपाली कांग्रेसले प्रचण्डको यो आवेगलाई सामान्य नै लिएको थियो। खुमलटार पुगेका प्रचण्डलाई देउवाले फोन गरेर फेरि छलफलका लागि बोलाए। देउवालाई बालुवाटार आउने संकेत गरेका उनी एकाएक बालकोट हानिए ।
बालकोटमा मध्यान्हबाट राम्रै खिचडी बन्यो। बालकोटले नै नयाँ सत्ता समीकरण जुटायो। बिहान राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बालकोट पुगेर ओलीलाई भेटे । लिङदेन बाहिरिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगे । लामिछाने बालकोटमै रहँदा प्रचण्ड आफ्ना केही नेतासहित बालकोट पुगे। केहीबेरमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगे ।
निक्कै बेर छलफलपछि एमाले नेता शंकर पोखरेलले भने, ‘हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छौँ ।’ पोखररेलले नेपाली कांग्रेसले जनमत अनुसारको जिम्मेजारी पूरा गर्न नसक्दा दोस्रो ठूलो दलको हैसियतले एमालेले जिम्मेवारी लिँदै नयाँ समीकरणसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको बताए ।
आजको यो निर्णयलाई एमाले सचिव योगेश भट्टराईले भने पुस ७ गतेको एमाले केन्द्रीय सचिवालयको बैठकको मूल स्पिरिट अनुसारको भएको बताए । उनले अध्यक्ष केपी ओलीले कुशलतापूर्वक नेतृत्व गरेको बताए। उनले भनेका छन्, ‘चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो । संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाविक मान्नु पर्छ।’
संयोग बन्यो आज ‘क्रिसमस डे’को प्रधानमन्त्री बनाउने सहमतिपछि ओलीले प्रचण्डलाई आफ्नो घरको बार्दलीमा लिएर गए र उपस्थित सबैलाई अभिवादन गरे । यहाँ देखियो ओलीले ‘क्रिसमस डे’को उपचार प्रचण्डलाई प्रधानमन्त्री दिए । अनि प्रचण्डले अब कम्युनिष्ट गठबन्धन बनाउने विषयलाई अगाडि बढाए । यो सत्ता गठबन्धन कति टिक्छ? त्यो बहसको पाटो होला तर विगतको सत्ता समीकरणको छलफल र गृहकार्य हेर्दा प्रतिपक्षी दल हुन्छ भन्ने आँकलन गरिएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा पुग्यो अनि सबैभन्दा ठूलो दल बनेको कांग्रेस नै प्रतिपक्षी दलको भूमिकामा देखिने भयो ।
‘राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय समाप्त हुने दिन । सम्पन्न निर्वाचनले नेपाली कांग्रेसलाई पहिलो दलका रुपमा निर्वाचिन गरे पनि उसले दुई कार्यकालका लागि सरकार गठन गर्न प्रक्रिया गर्न नसकेपछि दोस्रो ठूलो दलका हैसियले त्यो जिम्मेवारी एमालेले लिनुपर्ने अवस्था आइलाग्यो,’ उनले भने, ‘हामीले दुई अन्तर्गतको सरकार गठन गर्न छलफल गर्यौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा दुईभन्दा बढी दलको समर्थन रहेको सरकार गठन गर्ने सहमति भएको छ ।’