कलाकारदेखि कमेडियन पनि अगामी चुनावमा उम्मेदवार
कलाकार चुनावी मैदानमा उत्रिनु नौलो नभए पनि पछिल्लो पटक काठमाडौंका मेयरमा जितेका र्यापर बालेन्द्र शाहले अझ बढाए क्रेज
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा राजनीतिकर्मी मात्रै छैनन्, विभिन्न पेसा व्यवसायमा रहेकाहरूको सहभागिता छ । यही मेसोमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूमा साहित्य, संगीत तथा सिने क्षेत्रका कलाकारहरू पनि चुनावी मैदानमा छन् । राजनीतिक वृत्तमा केही समययता सक्रिय भई स्थापित गायिका कोमल वली, अभिनेत्री रेखा थापा, अभिनेता तथा निर्माता सरोज थापा (रोज राणा) मात्र होइन, कला क्षेत्रमा स्थापित भएका केही अनुहारहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा जनप्रतिनिधि बन्ने होडबाजीमा नै देख्न सकिन्छ । जसमा लेखक युग पाठक, फिल्म निर्देशक मनोज पण्डितदेखि टेलिशृंखला ‘सक्किगोनी’ का कलाकार मधुसुदन पाठक (सिते बा), कमेडियन हिमेश पन्तसम्मको लहर देखिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि मोरङ–३ बाट राप्रपाकी उम्मेदवार रेखा थापा चुनावी घरदैलोमा छिन् । आइतबार उनले बेलबारी–११ मा श्रमजीवीहरूसँग भोट मागिन् । केहीबेर ब्याट्री रिक्सा चलाएर हेरिन् । दाङ–३ बाट प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार कोमल वली चुनावी अभियानमा छिन् । कलाकारिताबाट राजनीतितर्फ आकर्षित अभिनेता तथा निर्माता राणा, लेखक पाठक, निर्देशक मनोज पण्डित, कलाकार पाठक, पन्तलगायतका उम्मेदवारहरूलाई अहिले चुनावी सभा तथा कार्यक्रमहरूले भ्याइनभ्याइ छ ।
पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले डोजर चिह्न पाएका छन् । उक्त क्षेत्रमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा र सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका शिव हुमागाईं प्रतिस्पर्धामा छन् । रोज राणा भने प्यूठान–१ (२) मा कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । त्यस्तै कमेडियन पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा धादिङ–१ बाट उठेका छन् । सिते बा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–५ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार छन् । लेखक युग पाठकले झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
कला क्षेत्रमा सिर्जनासँगै राजनीतिबाट पनि जनताका लागि केही गर्छु भनेर लागिसकेपछि जनताका नजिक गएर सुखदुःख बुझ्न जरुरी रहेको वलीको भनाइ छ । जनताको कुरा सुन्न नै कलाकारिताभन्दा राजनीति क्षेत्रमा बढी समय र मिहिनेत खर्च गर्नुपरेको उनले बताइन् । ‘जनताको कुरा सुनेर र उनीहरूको सुखदुःख बुझेर नै ऐन कानुन बनाउन र कार्यान्वयन गर्न सकिन्छ,’ उनले भनिन्, ‘विभिन्न क्षेत्रका आवाज सुन्ने र सबैले सर्वमान्य ठान्ने थलो नै राजनीति हो ।’
कलाकारभन्दा राजनीतिकर्मी भएर बोल्दा आवाज प्रभावकारी रूपमा बुलन्द हुने उनको अनुभवले बताउँछ । त्यसो त वलीलाई कलाकारितासँगै राजनीति पनि फापेकै देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै एमाले प्रवेश गरेकी उनी राष्ट्रिय सभा सदस्यसमेत भइन् । कलाकारका कुरालाई पछाडि राख्ने परिपाटी रहेको अवस्थामा कलासँगै विभिन्न क्षेत्रमा पकड भएका व्यक्तिहरू राजनीतिमा आउनुपर्ने उनको बुझाइ छ । ‘आजको समयमा सबै क्षेत्रबाट जाने, बुझेका मान्छेहरू राजनीतिमा आएर मात्र परिवर्तन सम्भव हुन्छ,’ उनी भन्छिन् ।
हुन त कलाकारिता तथा अन्य क्षेत्रमा स्थापित भएकाहरू राजनीतिमा प्रवेश गर्ने परिपाटी नेपालमा मात्र होइन । विश्व राजनीतिलाई नियाल्ने हो भने हलिउडदेखि बलिउड र विभिन्न क्षेत्रका हस्तीहरू पनि कलाकारितासँगै राजनीतिमा होमिएका छन् । छिमेकी भारतमा कलाकारिताबाट राजनीतिमा जानेहरूको सूची लामो छ । पछिल्लो पटक तेलुगु फिल्म अभिनेता जुनियर एनटीआरलाई तेलंगानाको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको चर्चा सामाजिक सञ्जालमा छ ।
यद्यपि उनले राजनीतिमा जाने/नजाने प्रस्ट पारिसकेका छैनन् । भारतका राज्य र केन्द्रस्तरको राजनीतिमा कवि, लेखकका तुलनामा सिने कलाकार नै धेरै पुगेका छन् । जया बच्चन, हेमा मालिनी, शत्रुघन सिन्हा, राज बब्बर, जया प्रदा, सनी देवललगायतका भारतीय कलाकारहरू राजनीतिमा छन् । उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री मालिनीले सन् २०१९ मा भारतको लोकसभा चुनावमा जित हासिल गरेकी थिइन् । त्यस्तै युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की कलाकार हुन् भने अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगन कलाकारिता क्षेत्रबाट नै राजनीतिमा आएका थिए । डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति हुनुअघि व्यवसायी र टेलिभिजन रियालिटी शोका प्रस्तोताका रूपमा थिए ।
राजनीतिमा यथास्थितिलाई बदल्ने हो भने कलाकारिता मात्र होइन, सबै तह तप्काबाट युवा पुस्ताहरू आउनुपर्ने विश्लेषक लोकराज बरालको ठम्याइ छ । उनका अनुसार राजनीतिमा आउने युवामा परिवर्तनको चाहना र चेतना हुनुपर्छ । तर उनी राजनीतिक पार्टीहरूप्रति उत्साहित हुने अवस्था नभएको देख्छन् । ‘पार्टीहरूको सिद्धान्त, संगठन, अनुशासन नै हराएर गयो । जसलाई मन लाग्यो, जो जता लाग्यो, नियुक्ति हुन्छ, व्यवस्थापन न्यायिक नै देखिएन,’ उनले भने ।
नेपाली राजनीतिमा कलाकारहरू जति आए, तिनीहरूको उपस्थिति कुनै दर र पार्टीमा स्थायित्व देखिएको छैन । राजनीतिक वृत्तमा कलाकार प्रवेश हुनु र पार्टी परिवर्तन हुनु सामान्य जस्तै बनेको छ । यो लहरमा नीर शाहदेखि भुवन केसी, करिश्मा मानन्धरसम्म पर्छन् । कलाकार नीर शाह तत्कालीन एकीकृत माओवादीमा हुँदै कांग्रेसमा प्रवेश गरेका थिए । अभिनेता तथा हाल चलचित्र विकास बोर्डका अध्यक्ष केसी एमालेमा आबद्ध भए पनि स्थानीय निर्वाचनका बेला कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै कलाकारहरू श्वेता खड्का र रवीन्द्र खड्काले समेत पार्टी प्रवेश गरेका थिए ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै जनालाई पार्टी प्रवेश गराएका थिए । निर्वाचनकै छेकोमा अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी थिइन् । चुनाव प्रचारमा सक्रियता देखाएकी उनले एक कार्यक्रममा आफ्नो न्वारानको नाम ‘सूर्यकुमारी’ भएको बताएपछि सामाजिक सञ्जालमा निकै ट्रोल बनेकी थिइन् । त्यसयता उनले फेसबुकमा आफ्नो नामको पछाडि ‘सूर्यकुमारी’ नाम थपिन् ।
कलाकारहरू राजनीतिमा प्रवेश हुनु निकै सकारात्मक रूपमा लिन्छन्, राजनीतिज्ञ, कलाकार तथा संस्कृतिकर्मी गोपाल ठाकुर । खुसीराम पाख्रिन, जेबी टुहरे जस्ता स्रष्टाहरूले राजनीतिकै लागि गरेको योगदानको स्मरण गर्दै उनले पद र प्रतिष्ठाका लागि मात्र हो भने कलाकारहरू यस क्षेत्रमा लाग्न नहुने विचार राखे । उनी भन्छन्, ‘कलाकारहरूलाई राजनीति गर्नु हुन्न भनेर सिकाइएको छ, यो गलत हो । सक्रिय राजनीति र परिवर्तनका लागि कलाकारहरू पनि आउनुपर्छ । खालि पद, शक्ति र सत्ता मात्र भनेर पार्टी परिवर्तन गर्नेहरूसँग भने मेरो विमति छ ।’
पछिल्लो समयमा स्वतन्त्रतर्फबाट काठमाडौं महानगर प्रमुख विजयी र्यापर बालेन्द्र शाहको क्रेजले कलाकार मात्र नभई विभिन्न क्षेत्रबाट युवा पुस्ताहरूले राजनीतिक प्रतिष्ठाको आकांक्षा राखेको उनको भनाइ छ ।