जबराको दोस्रो दिनको बयान सुरु, आज पनि कतिपयको नाम पोलिने सम्भावना
काठमाडौं : महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिन बयान सुरु भएको छ । जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । समितिले बुधबारबाट जबरासँग बयान लिन सुरु गरेको हो ।
बुधबार संसदीय समितिमा जबराले चारवटा प्रश्नको जवाफ झन्डै चार घन्टा लगाएर दिएका थिए। निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिएका थिए।
समितिले ४३ वटा प्रश्न तयार पारेको छ । न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ । महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ ।
आज पनि कतिपयको नाम पोलिने सम्भावना
महाअभियोग प्रस्तावको सामना गर्न हिजो संसदीय समितिमा उपस्थित हुनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा आज पनि आफ्ना कुरा राख्न ११ बजे जाँदै हुनुहुन्छ । आफूविरुद्धका आरोपको कड्केर जवाफ दिनुभएका राणाले आज फेरि थप राजनीतिक दलका नेता, पूर्वप्रधानन्यायाधीश, न्यायाधीश,नेपाल बारका पूर्वपदाधिकारी र कानुन व्यवसायीको नाम किट्नसक्ने अनुमान लगाइएको छ ।
राणाको मुखबाट आज फेरि केही व्यक्ति डामिने सम्भावना रहेको स्रोतको दाबी छ । हिजो उहाँ आफ्नै तयारीमा जानुभएको उल्लेख गर्दै राणा निकट स्रोतले भन्यो, ‘उहाँले यो विषयमा अरुको कुरा सुन्नुभएको छैन । हिजो सिंहदरबारबाट फर्केपछि थप कन्फिडेन्ट र एक्साइटेड देखिनुभएको छ । त्यसकारण पनि अरु नेताहरु सशंकित भएका छन् ।’
जानाजान हिजोको बैठक लम्बाइएको,दुई घण्टा कुराइए पनि प्रधानन्यायाधीश राणाले राजनीतिक दल र तिनका नेताको ‘स्मेल’ अथवा वासना थाहा पाउनुभएको भनिएको छ । उहाँले महाभियोगका पक्षधरहरुले सहयोग गर्दैनन् भन्ने अनुमान यसअघि नै लगाइसक्नु भएको बताइन्छ । ‘महाभियोगमा एमालेले साथ दिँदैन,त्यसो हुँदा दुई तिहाई पुग्दैन । दुई तिहाई नभएसम्म संसदबाट पास हुँदैन । समितिबाट रिपोर्ट गए पनि संसदमा पास नहुने भएकाले उहाँले कसैलाई बाँकी नराख्नु स्वाभाविक हो,’ राणा निकट स्रोतको दाबी छ ।
समितिले बेलैमा र ठोस निर्णय गर्नेमा निलम्बित प्रधानन्यायाधीश राणा एक रत्ति पनि विश्वस्त देखिनुभएको छैन । आगामी दिनमा पनि यो विषयलाई यत्तिकै लट्काउँछन् भन्ने भएकाले इतिहासमा अभिलेख रहने गरी उहाँले सबैको नाम र क्रियाकलाप छर्लङ्ग पार्नु भएको बताइन्छ ।
‘कसैलाई बाँकी राखेननन्,हामीलाई त उनी गलेर आउँछन् भन्ने लागेको थियो तर नमज्जासँग गर्जे,साथीहरु बरु सोध्दासोध्दै थाकेकोले भोकाएर खानतिर लागे तर चोलेन्द्रले त्यतातिर ध्यान दिएनन्’ केरकारमा सहभागी एक जना माननीयले बताए । संसद सचिवालय स्रोतका अनुसार हिजो राणा बढी चिढिनुमा प्रारम्भमा दुई घण्टा कुराउनुले पनि काम गरेको हो ।
“दिपक जोशीलाई कामु प्रधानन्यायाधीश भएपछि पनि कन्फर्म नबनाई घर पठाइएको थियो । अब हुने कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पनि त्यसरी नै घर पठाएर न्यायाधीश विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीशमा तान्ने योजनामा फुयाँलको सन्दर्भ जोडिएको चर्चा शुरु भएको छ । “
हिजो बिहान संसद सचिवालयबाट समितिमा जवाफ दिन आउने कि नआउने भनेर अन्तिम कन्फर्मेसनका लागि ल्याण्ड लाइन र मोबाइलबाट पटकपटक फोन गरिएको थियो । तर फोन नउठेको सन्दर्भ कोट्याउँदा राणाले ‘नचिनेको नम्बरबाट फोन आएकाले पत्रकारले गरेको होला भनेर उठाइनँ’ भन्ने जवाफ दिनुभयो ।
यता नेपाल बारले राणाविरुद्ध उपलब्ध गराएको ४३ वटा बुँदामा न्यायाधीश हरि फुयाँलको प्रसंग नै नभएको तथ्य बाहिरिएको छ । तर हिजो ३८ नम्बरमा न्यायाधीश फुयाँलको प्रसंग घुसारिएको पाइएपछि श्रीमानहरुले अचम्म मानेका छन् । बारले पठाएको सुझावमा टेक्दै संसद सचिवालयले बनाएको प्रश्नमा उक्त प्रसंग घुसाइएको उच्च स्रोतले बतायो । ‘उक्त कार्य माओवादी र काँग्रेसले गरेका हुन्,’ स्रोतको दाबी छ ।
फुयाँलको सन्दर्भमा यसअघि संवैधानिक सुनुवाई रोक्ने आदेशको प्रसंग जोडिएको छ । न्यायाधीश फुयाँलको उक्त प्रसंग जोड्नुमा धेरैले तत्कालीन कायममुकायम प्रधानन्यायधीश दीपक जोशीको अवस्थासँग पनि तुलना गरेका छन् ।
जोशीलाई कामु प्रधानन्यायाधीश भएपछि पनि कन्फर्म नबनाई घर पठाइएको थियो । अब हुने कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पनि त्यसरी नै घर पठाएर न्यायाधीश विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीशमा तान्ने योजनामा फुयाँलको सन्दर्भ जोडिएको चर्चा शुरु भएको छ ।
विश्वम्भर डोटी (सुदूरपश्चिम)को हुनुहुन्छ । अहिलेका प्रधानमन्त्रीमाथि पाएसम्म सुदूपश्चिमकालाई अवसर दिन आतुर देखिने गरेको आरोप नै छ । तसर्थ हरिकृष्णलाई एमाले निकट भनेर लेप लगाइदिएपछि मैदान खाली हुने योजना बुनिएको अनुमान एमाले वृत्तले गरेको हिजोदेखि पेरिसडाँडामा चर्चा चल्न थालेको छ ।