विवादबारे बोलेनन् : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ — संसदीय छानबिन विशेष समितिबाट ‘सुनियोजित’ सफाइ पाएको पर्सिपल्टै जनार्दन शर्मा अर्थ मन्त्रालय फर्किएका छन् । शर्मालाई मन्त्रालय फर्काउने उद्देश्यका लागि संसदीय समितिलाई पंगु बनाइएको थियो, कतिसम्म भने बजेटको अघिल्लो राति अनधिकृत रूपमा मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिसँग समितिले बयानसमेत लिएन ।

सडक र सदनबाट दबाब बढेपछि सभामुख अग्निप्रसाद सापकोटाले असार २२ मा संसदीय छानबिन विशेष समिति बनाएका थिए । समिति गठन भएकै दिन शर्माले पदबाट राजीनामा दिएका थिए । स्रोतका अनुसार त्यतिबेला छानबिन प्रक्रिया पूरा गरेपछि अर्थमन्त्रीकै रूपमा फर्काउने बचन दिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले शर्मालाई राजीनामाका लागि मनाएका थिए । सत्तारूढ कांग्रेसकै संस्थापनइतर समूहका नेता भने शर्माको पुनरागमनको विपक्षमा थिए । शर्माकै दल माओवादीभित्र पनि असन्तुष्टि छ । तर, शर्मालाई पदमा फर्काउने उद्देश्यका लागि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले सार्वजनिक नैतिकतालाई पूर्णतः बेवास्ता गरेका छन् ।

माओवादी नेता कृष्णबहादुर महराले भने आरोप पुष्टि हुन नसकेपछि शर्मालाई नै फेरि अर्थमन्त्री बनाउने निर्णय भएको बताए । ‘छानबिनबाट निर्दोष व्यक्तिलाई पुरानै पदमा फिर्ता गरिनु स्वाभाविक हो,’ उनले भने । देउवानिकट एक नेताले भने राजनीतिक रूपमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले आफ्नो जित देखाउन पनि शर्मालाई अर्थमन्त्री बनाएको बताए ।

कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालको जानकारीमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको थियो । त्यस्तै प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेता आरजु राणाका लागि पनि शर्मा सहज मन्त्री भएकाले उनको पुनरागमन गराइएको मन्त्रिपरिषद्का एक सदस्यले दाबी गरे । ‘जनार्दनले आफूलाई माओवादीको भन्दा पनि देउवाको टिम ठान्छन् । आरजुको चासो रहेका काम गर्न उनी चनाखो हुने गरेका छन्, यो समझदारीले उनी सिंहदरबार फर्कन महत्त्वपूर्ण भूमिका खेल्यो,’ ती नेताको दाबी छ ।

दाहालले शर्मालाई पुनः अर्थमन्त्री बनाएर वाम–लोकतान्त्रिक गठबन्धन बलियो भएको सन्देश दिएको माओवादीका एक नेताले बताए । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत नेताले वाम गठबन्धनको वकालत गरिरहेका बेला शर्माले वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा बोल्दै आएका थिए । आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाउमा रहेका दाहालले शर्मालाई महत्त्व दिँदै आएका छन् । आइतबार पदभार ग्रहणपछि अर्थमन्त्री शर्माले आफूलाई पुनः नियुक्ति दिएकामा प्रधानमन्त्री र गठबन्धनका नेताको नामै लिएर धन्यवाद दिए । ‘मलाई बजेट कार्यान्वयन गर्ने अवसर दिनुभएकामा सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टी अध्यक्ष प्रचण्ड, नेता माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलज्यूलगायतलाई धन्यवाद,’ उनको भनाइ थियो ।

एमालेले भने शर्माको पुनरागमनलाई जनताको अपमान भनेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले जनताको संवेदनशीलतामाथि अपमान गरेको टिप्पणी गरे । ज्ञवालीले संसदीय समितिको छानबिन नै अपूरो रहेको र गम्भीर आरोपमाथि पर्याप्त मात्रामा छानबिन हुन नसकेको बताए । उनी संसदीय छानबिन समितिमा सदस्यसमेत थिए । ‘अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन भन्ने आधार छैन । अरू परिस्थितिजन्य कारणले अनधिकृत व्यक्ति आएको प्रस्टसँग देखिन्छ । त्यसका लागि प्रमाण नै चाहियो र थप अनुसन्धान जरुरी हुन्छ,’ ज्ञवालीले भने, ‘गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि सम्बन्धित पार्टी र प्रधानमन्त्रीले पुनः त्यही ठाउँमा फर्काउनु भनेको नेपाली जनतालाई अपमान गर्नु हो ।’

अर्थमन्त्रीमा पुनर्बहाली भएसँगै जनार्दन शर्माले देशको बिग्रँदो अर्थतन्त्र सुधारमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग शर्माले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमार्फत अर्थतन्त्र सुदृढीकरण र आत्मनिर्भरतालाई मुख्य प्राथमिकता दिएको बताए । अर्थमन्त्री शर्माले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र वैदेशिक मुद्राको सञ्चिति वृद्धि गर्नमा बजेट केन्द्रित रहेको उल्लेख गरे । मन्त्री शर्माले अर्थ मन्त्रालयका कर्मचारीबाट पूर्ण सहयोगको अपेक्षा राखेको बताए ।

राजस्व सचिव कृष्णहरि पुष्करले अर्थमन्त्रीको काममा मन्त्रालयका कर्मचारीको पूर्ण सहयोग रहने बताए । ‘उहाँको नेतृत्वमा हामीले बजेट लेख्यौं, अब कार्यान्वयन पनि उहाँकै नेतृत्वमा गर्न पाउँदा हामी हर्षित र खुसी छौं,’ उनले भने, ‘आशा छ, जुन पावन उद्देश्यले बजेट ल्याएका थियौं, त्यसको सफल कार्यान्वयनका लागि सहयोग रहनेछ । मन्त्रालयका कर्मचारीका तर्फबाट म अर्थमन्त्रीलाई पूर्ण सहयोगको प्रतिबद्धता जनाउँछु ।’

अर्थ सचिव मधुकुमार मरासिनी अर्थमन्त्रीको स्वागतमा देखिएनन् । एसियाली विकास बैंकको कार्यक्रमका लागि पोखरा गएका कारण अर्थमन्त्रीको स्वागत कार्यक्रममा अनुपस्थित रहेको अर्थ सचिव मरासिनीको सचिवालयले जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि स्वागत कार्यक्रममा देखिएनन् ।

पुनर्बहालीपछि अर्थमन्त्री शर्माले कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्नेसम्बन्धी निर्णय गरेका छन् ।