उठाउन थालियो काठमाडौंको फोहोर, स्थानीयबासीसँग सहमति
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएसँगै काठमाडौंमा एक महिनादेखि थुप्रिएको फोहोर शुक्रबारबाट उठाउन थालिएको हो । महानगर र बञ्चरेडाँडाबासीबीच सहमति भएसँगै काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर लगायत अन्य वडाको पनि फोहोर उठाउन थालिएको छ ।
बञ्चरेडाँडाबासीसँग बिहिबार मध्यरातमा भएको सहमतिअनुसार रातिको समयमा मात्रै फोहोर ढुवानी गर्न शुरु गरिएको छ । यस्तै काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग शहरी विकास मन्त्रालयमा फोहोर फाल्न दिने सहमति भएको थियो ।
यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो । तर उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएको थियो । स्थानीयबासीको अवरोधपछि काठमाडौंबासीले सडकमा फोहोर थुपारेका थिए ।
अब काठमाडौंको फोहोर उठ्छ : मन्त्री झाक्री
काठमाडौं, जेठ २७ गते। सहरी विकासमन्त्री रामकुमारी झाक्रीले अब काठमाडौंको फोहोर उठ्ने बताउनुभएको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा मन्त्रालयमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्नुहुँदै झाक्रीले यस्तो बताउनुभएको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै मन्त्री झाक्रीले भन्नुभयो, ‘‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र प्रभावित क्षेत्रका मान्य सांसद, नगरपालिका र स्थानीय तहका प्रतिनिधिले काठमाडौंको फोहोर व्यवस्थित रुपमा व्यवस्थापन गर्नुपर्ने विषयमा प्रतिवद्धता जनाउनुभएको छ। फोहोर आजदेखि नै गइराखेको छ। अब फोहोर उठ्छ।’’
फोहोर व्यवस्थापनका लागि बाटोको समस्या भएकाले मर्मतका लागि निरन्तर टोली परिचालन गरेकोसमेत उहाँले जानकारी दिनुभएको छ। मन्त्री झाक्रीले भन्नुभयो, ‘‘चुनौती चाहिँ बाटोको हो। त्यसको मर्मतका लागि हामीले टोली खटाएका छौँ।’’
फोहोर व्यवस्थापनका लागि बाटोको विषयमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ। अहिले साढे १२ किलोमिटर बाटो बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाटो निर्माण भए मात्र आधा समस्या समाधान हुने उहाँले प्रष्ट पार्नुभयो।
फोहोर व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको जस्तो अवस्था बनेको मन्त्री झाक्रीले बताउनुभएको छ। आवश्यक भएमा कानुन संशोधन गरेर अगाडि बढ्नेसमेत मन्त्री झाक्रीको भनाइ छ ।