जसपामा विवाद अझ बल्झिदै, बाबुराम पक्षको असन्तुष्टि

अध्यक्ष यादवले टिकट वितरणमा संस्थागत निर्णय नगरेको र सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीभित्र परामर्श नगरेको आरोप

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) मा स्थानीय तहको निर्वाचनलाई लिएर विवाद बल्झिएको छ । पार्टीमा निर्वाचनको समीक्षा गर्नुपर्नेमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक नै नबोलाएको भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले असन्तुष्टि जनाएको छ ।

यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप पनि भट्टराई पक्षले लगाउँदै आएको छ ।

पार्टीभित्र उत्पन्न असन्तुष्टिका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठकको माग गर्दै आए पनि अध्यक्ष यादवले बेवास्ता गरेको केन्द्रीय सदस्य रोशन पोखरेलले बताए । ‘बैठक डाकेको भए छलफल हुन्थ्यो, चालचुल छैन । हामी फेरि तातिनुपरेको छ,’ उनले भने, ‘पार्टीलाई समावेशी समानुपातिक नेतृत्व प्रणालीमा लगेर गतिशील बनाउने योजना पनि हो ।’ जसपाले स्थानीय तहको निर्वाचन समीक्षा जिल्लाबाट संकलन गर्नै असार १५ सम्म म्याद तोकेको छ । केन्द्रीय समिति बैठक कहिले बस्ने टुंगो छैन ।

पार्टीभित्र सामूहिक निर्णय गर्न गत फागुन ३० मा केन्द्रीय समितिले संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राई रहेको ‘मुख्यालय’ गठन गरेको थियो । तर निर्णय अध्यक्ष यादवले एकलौटी रूपमा गर्दै आएको अर्को पक्षको गुनासो छ । स्थानीय तहको चुनावमा टिकट वितरण र गठबन्धन गर्ने विषयमा पार्टीमा औपचारिक छलफल नगरी नेतृत्व मनोमानी रूपमा अघि बढेको एक कार्यकारिणी सदस्यले बताए ।

‘पार्टीमा विधि बसाउन, एकरूपता कायम गर्न मुख्यालय बनाइएको भए पनि अध्यक्षको एकलौटी शैली रोकिएन,’ उनले भने, ‘चुनावका बेला टिकट वितरणमा पनि अन्तिम अवस्थामा अध्यक्ष यादवले मुख्यालय संयोजक राईलाई हस्ताक्षर गर्न लगाउनुभयो । त्यही कारण स्थानीय तहमा हामीले जित्नुपर्ने ठाउँसमेत गुमायौं ।’

भट्टराई पक्षले पार्टीलाई राष्ट्रियस्तरको बनाउन खोजे पनि यादव पक्ष मधेस प्रदेशमै केन्द्रित भइरहनाले सधैं एउटै पार्टीमा रहन सकिँदैन कि भन्ने कोणबाट नेताहरूबीच छलफल सुरु भएको जसपाका अर्का एक नेताले बताए । स्रोतका अनुसार भट्टराई पक्षका नेताहरूले केही दिनअघि निर्वाचन आयोगमा पुगेर पार्टी विभाजन कानुनी प्रक्रिया बुझेका थिए । केन्द्रीय कार्यकारिणी नेता प्रशान्त सिंहले भने निर्वाचनपछि जसपाको आधिकारिक समूह आयोग नपुगेको बताए ।

‘कोही व्यक्तिगत कुरा बुझ्न गएको हुन सक्छ,’ उनले भने । उनले पार्टीमा नेतृत्वबीच मनमुटाव चलिरहेको भने स्विकारे । ‘एकीकरणको उद्देश्य पार्टीलाई बृहत् बनाउने हो,’ सिंहले भने, ‘तर नेतृत्वबीच नै एकमत भएन ।’ पहाडी भेगमा जसपाको प्रभाव कम छ । समावेशी पार्टीको मर्मअनुकूल पहाडमा संगठन विस्तारका लागि जोड दिनुपर्ने आवाज जसपाभित्र उठिरहेको छ । नेता सिंहले पार्टीमा व्यापक छलफल गरेर योजनाबद्ध रूपमा चुनावमा जान नसक्दा अपेक्षित नतिजा आउन नसकेको बताए । ‘आवश्यकताअनुसार जुनसुकै पार्टीसँग तालमेल गर्न दिएको भए अरू धेरै स्थान जित्न सकिन्थ्यो,’ उनले भने ।

गठबन्धन र चुनावको टिकट वितरणका विषयमा जसपाभित्र ठाउँ–ठाउँमा विवाद भइरहेको छ । धनुषामा मंगलबार भएको चुनावी समीक्षामा दुई पक्षबीच कुटपिट नै भएको थियो । जनकपुरको एक होटलमा गरिएको समीक्षात्मक कार्यक्रममा पार्टीका अध्यक्ष यादवसमेत उपस्थित थिए । समीक्षा क्रममा माओवादीलाई मत दिएको आरोपमा दुवै पक्षबीच झडप भएको हो ।

पार्टीका केन्द्रीय सदस्य साधु यादवले माओवादी केन्द्रका लागि मत मागेको आरोप सबैला नगरपालिकाका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले लगाएपछि विवाद सुरु भएको थियो । ‘धेरै ठाउँमा गुनासा छन्,’ कार्यकारिणी सदस्य मनीष सुमनले भने, ‘तर, असभ्य भएर प्रस्तुत हुनु अनुशासनमाथिको प्रश्न हो ।’