नेपालले ‘स्थायी तटस्थ’ परराष्ट्र नीति अपनाउनु पर्छ : प्राध्यापक सूर्यप्रसाद सुवेदी
काठमाडौँ — प्राध्यापक सूर्यप्रसाद सुवेदीले नेपालले ‘पर्मानेन्ट न्यूट्रालिटी’ (स्थायी तथस्टता) को परराष्ट्र नीति अपनाउनु पर्ने सुझाव दिएका छन् । ‘प्राध्यापक यदुनाथ खनाल प्रवचनको पहिलो शृंखला’ मा ‘नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य’ शीर्षकमा प्रस्तुति दिँदै अन्तर्राष्ट्रिय कानुनका ज्ञाता समेत रहेका प्राध्यापक सुवेदीले मंगलबार नेपालको परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको लागि स्थायी तथस्टताको बाटो लिनु पर्ने बताएका हुन् ।
असंलग्न आन्दोलनका संस्थापक सदस्य मुलुक नेपालले कुनै पनि मुलुकको पक्ष र विपक्षमा नलाग्ने गरी असंलग्न परराष्ट्र नीति अपनाउँदै आइरहेको छ ।
सुरुआतमा नेपालको परराष्ट्र मामिलाको इतिहासिक पाटोलाई व्याख्या गरेका प्राध्यापक सुवेदीले त्यसपछि वर्तमान र भविष्यमा नेपालले लिनु पर्ने सुझावहरु दिएका थिए । परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्राध्यापक सुवेदीले प्रस्तुतिको क्रममा एसियाका दुई ठूला ठूला देशहरू (भारत र चीन) बीचमा अवस्थित देशका रूपमा नेपालले परम्परागत रूपमा आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न र आफ्नो पुरातन सांस्कृतिक सम्पदाको धेरैजसो संरक्षण गर्न रणनीतिक रूपमा समझदार नीति अपनाएको बताए ।
कार्यक्रममा परराष्ट्र मन्त्री नारायण खड्का, पूर्व परराष्ट्र मन्त्रीहरु र कूटनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्ति सहभागी थिए । साथै, नेपाल सरकारका मुख्य–सचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्यालदेखि अन्य मन्त्रालयका सचिवहरुको पनि उपस्थिति थियो । कार्यक्रममा नेपालस्थित विदेशी मुलुकका राजदूतहरू पनि आएका थिए ।
कार्यक्रममा प्राध्यापक सुवेदीले नेपालले आफ्नो विदेश नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेर आफूलाई राम्रो गर्ने बताए । उनले त्यसका लागि आफूले पनि सहयोग गर्न तयार रहेको प्रस्ट पारे । उनले ‘दुई ढुङ्गाबीचको तरुल’ को मानसिकताबाट नेपाल माथि निस्कनु पर्ने बताए । ‘नेपालको परराष्ट्र नीतिको विश्वव्यापी दृष्टिकोण हुनुपर्छ, यसले आफ्ना दुई नजिकका छिमेकीसँगको सम्बन्धको व्यवस्थापनमा आफ्नो पहिल्यैको धारणाभन्दा बाहिर जानुपर्छ,’ उनले भने,‘यो देश हिन्दू–बौद्ध सभ्यताको जन्मस्थल हो र यसले सहस्राब्दीदेखि शान्ति, विश्वव्यापी, बहुसंस्कृति र सहिष्णुताको सन्देश फैलाउँदै भारतीय र चिनियाँ सभ्यताहरूबीच पुलका रूपमा काम गरेको छ ।’
उनले नेपाल सानो देश भनी बुझिए पनि नेपाली जनताको सपना सानो नहुने प्रस्ट पारे । ‘नेपालीको परराष्ट्र नीतिले नेपालीका केही सपना साकार पार्ने चुनौतीमा उभिनेछ भन्ने मलाई विश्वास छ,’ उनको भनाई थियो । नेपालको कूटनीति क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्व प्राध्यापक यदुनाथ खनालको नाममा यो प्रवचन कार्यक्रम भएको र यसले निरन्तरता पाउने परराष्ट्र मन्त्री खड्काले बताए ।