फोहोर बोकेर बन्चरे डाँडा पुगे टिपर तर स्थानीयको पुन: अवरोध

काठमाडौँ — बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति सोमबार सिंहदरबारमा भएको सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेंसी नगरपालिका, ककनी गाउँपालिकाबीच भएको सहमतिलाई अमान्य भएको भन्दै पुनः आन्दोलनमा उत्रिएको छ । सोमबार प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरेपछि उपत्यकाको फोहोर विसर्जन हुने अपेक्षा गरिएपनि स्थानीयवासीले त्यसको विरोध गर्दै मंगलबार बिहानदेखि बन्चरे डाँडामा भेला भएका छन् । फोहोर विसर्जनका लागि गएका टिपरहरुलाई उनीहरुले अवरोध गरेका छन् ।

सरोकार समितिका संयोजक श्रीराम भण्डारीले आफूहरुले बाँच्‍न पाउने अधिकारको सुनिश्चता नभईकन फोहोर विसर्जन गर्न नदिने बताए । उनले भने,’हिजो मन्त्रालयमा भएको सम्झौताले हाम्रो भविष्य समाप्त पार्ने खोजिएको छ । यो निर्णय स्लो पोइजनको रुपमा हामीलाई समाप्त पार्न खोजिएको छ । ‘

सरोकार समितिले आफूहरूको माग सडक नभएर ‘स्वच्छ वातावरणमा बाँच्‍न पाउनुपर्ने’ माग भएको जनाएको छ । फागुन २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने समितिल अडान लिएको छ । समितिले फोहोर र मानिस सँगै बस्न नसक्ने बताए । समितिका उपसंयोजक सन्नोत उप्रेतीले कान्तिपुरसित भने,’यदि फोहोर र मानिससँगै बस्नुपर्छ भने काठमाडौंमा फोहोर राखदिए हुन्छ । यदि होइन भने हामीलाई सुरक्षित स्थानमा लैजाऊ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर ‘

सरोकार समितिले सरोकारवालाले पीडितसँग बसेर कानुनी,वैज्ञानिक, बौद्धिक, स्थानीयवासीलाई मान्य हुने किसिमको नयाँ सहमति हुनुपर्न माग गरेको छ । अहिलेको गरिएको आन्दोलन निर्णायक हुने उनीहरुले बताएका छन् । ‘हामीले आश्वास पाएको र सहमति गरेको धेरै भयो अब निर्णायक रुपमा हुनुपर्‍यो,’ उप्रेतीले भने,’ पीडितलाई मान्य हुने सम्झौता नभएसम्म हाम्रो अवरोध हुन्छ ।

हामीले हाम्रो परिवार र खेतीपाती बचाउनु छ । हाम्रो आधा जीवन यही फोहोरका कारण बितिसक्यो हाम्रो छोराछोरीहरु हामी जसरी पीडित नहोऊन् ।’ अहिले बन्चरे डाँडामा प्रभावित क्षेत्रका सयभन्दा बढी मानिसहरू जम्मा भएका छन् । फोहोर बोकेका टिपर सिसडोलको फोहोरको थुप्रोमाथि बनाइएको सडक हुँदै बन्चरे डाँडा आउने गरेको उनले सुनाए ।

सरोकार समितिले प्रभावित क्षेत्रमा पर्ने गाउँ र जग्गा अधिग्रहण सरकारले गर्नुपर्ने र सुरक्षित स्थानमा आफूहरुलाई सार्नुपर्ने माग गर्दै आएको छ । त्यही मागलाई सम्बोधन गर्न भन्दै फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सरोकार समितिले बन्चरे डाँडा पूर्णरुपमा निर्माण सम्पन्न हुन नपाउँदै फोहोर विसर्जन हुन थालेको भन्दै पनि आपत्ति जनाएको छ ।

सरोकार समितिका स‌ंयोजक ढुंगानाले भने, ‘हामीले सडकको कुरा गरेका छैनौं । फोहोर र मानिस कसरी सँगै हुन सक्छ ? ५ सय मानिसहरुको बस्ती सार्नुपर्ने छ । फाहोर र मानिस सँगै बस्न मिल्छ भने काठमाडौंमै फोहोर राख्नुहोस् । काठमाडौंको मानिसलाई सफा वातावरण चाहिन्छ भने हामी नुवाकोट र धादिङका बासिन्दालाई पनि चाहिन्छ होला नि !’