पोखरामा एमालेलाई विरासत जोगाउन‚ गठबन्धनलाई भत्काउन चुनौती
सत्ता गठबन्धनलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ । एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ ।
मुख्य निर्वाचन कार्यालयले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार, पोखरा महानगरपालिकाको मेयरमा २३ र उपमेयरका आठ जनाको उम्मेदवारी परेको छ । तर‚ मेयरमा नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापा र सत्ता गठबन्धनका धनराज आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । आचार्य नेकपा (एकीकृत समाजवादी) का हुन् ।
एमालेबाट मेयरका उम्मेदवार रहेका थापा २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुन् । उनी २० वर्षपछि सोही पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । थापाले मेयर बन्न गण्डकी प्रदेश सभाको सदस्य पद त्यागेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए। कुँवरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन थियो। त्यति वेला १६ जना मेयरका उम्मेदवार थिए ।
सत्तारूढ गठबन्धनका तर्फबाट उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट र एमालेबाट मञ्जुदेवी गुरुङ उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा एमालेबाट उपमेयरमा निर्वाचित गुरुङले कांग्रेसकी सरस्वती गुरुङभन्दा १२ हजार ११० मत बढी ल्याएकी थिइन्। सरस्वतीले ४४ हजार ३३८ मत प्राप्त गरेकी थिइन् ।
विगतका दुवै निर्वाचनमा जिते हात पारेको एमाले पोखरामा फेरि सत्तामा आउने दाउमा छ। सत्ता गठबन्धन भने एमालेको विरासत भत्काउने ध्याउन्नमा छ । तर‚ सत्ता गठबन्धनबाट मेयर, उपमेयर बाहेक वडाहरूमा तालमेल नमिल्दा आन्तरिक विवाद छ। वडामा कांग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आआफ्ना उम्मेदवार उठाएका छन्। यसले गठबन्धनलाई चुनौती थपिदिएको छ ।
सत्ता गठबन्धनका उम्मेदवार आचार्यलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ। एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ । थापासँग रुष्ट एमाले नेता कार्यकर्ताले पूर्व सहकर्मी आचार्यलाई मत दिने एकीकृत समाजवादीका नेताहरूको दाबी छ ।
मेयरको दौडमा स्वतन्त्र उम्मेदवार गनेस पौडेल पनि छन् । उनले आफूलाई ‘अटेरी’ उम्मेदवारीका रूपमा प्रस्तुत गरेका छन् ।
निर्णायक नयाँ मतदाता
नयाँ नेतृत्व छनोट गर्न निर्णायक मत भने थपिएका नयाँ मतदाताको हुन सक्छ। पोखरा यस पटक ३९ हजार ६४५ मतदाता थपिएका छन् । थपिएका मतदाता निर्णायक हुन सक्ने देखिएको छ । २०७४ सालमा एक लाख ६८ हजार ६७ मतदाता थिए । जसमध्ये एक लाख २५ हजार ९३२ जनाले मतदान गरेका थिए । यस पटक दुई लाख सात हजार ७१२ मतदाता छन् ।